भेटायो र हिमालयन एभरेस्टबीच सहकार्य, सेवा प्रदायकका लागि दुर्घटना बीमा सुरु
काठमाडौं । होम–आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितलाई प्राथमिकता दिँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ । यस साझेदारीमार्फत भेटायोले एपमार्फत सेवा प्रदान गर्ने सबै पेशेवरका लागि दुर्घटना बीमा सुविधा सुरु गरेको छ । कम्पनीका अनुसार यो पहलले ग्राहकलाई सेवाका लागि जाने प्रत्येक प्रदायकलाई अतिरिक्त सुरक्षा प्रदान गर्नुका साथै भेटायोको कार्यबलप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ । भेटायोका सह–संस्थापक रोचन मान महर्जनले भने, 'हामीले सेवा विस्तारका यात्रामा हाम्रो आधारस्तम्भका रूपमा सेवा प्रदायकलाई राखेका छौँ । दुर्घटना बीमा उपलब्ध गराएर उनीहरू सुरक्षित महसुस गरून् र आफ्नो पेशागत यात्रामा अझ उत्साहित रहून् भन्ने हाम्रो चाहना हो ।' यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्रै बढाउने छैन, सेवा क्षेत्रमै नयाँ मापदण्ड पनि स्थापित गर्ने भेटायोको अपेक्षा छ । जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ। भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै दुवै संस्थाको उद्देश्य नेपालमा जिम्मेवार, विश्वासिलो र प्रयोगकर्ता–केन्द्रित सेवा वातावरण निर्माण गर्नु रहेको जनाएको छ। भेटायो एपमार्फत हाल ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घर सरसफाइ लगायतका सेवा विश्वसनीय, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्छन् ।
आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई कान्ति आरोग्य अस्पतालमा छुट
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स र कान्ति आरोग्य अस्पताल, नेपालगञ्जबीच सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई कान्ति आरोग्य अस्पतालमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको कम्पनीले जनाएको छ । अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्याब टेस्ट तथा एक्सरेमा ३० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, अपरेसन, भिडियो एक्सरे र औषधिमा १० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् । कान्ति आरोग्य अस्पताल विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने नेपालगञ्ज क्षेत्रको अस्पताल हो । बिरामी–केन्द्रित सेवालाई मुख्य प्राथमिकतामा राखेर अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ । नेपालगञ्जको मुटुमा अवस्थित यस अस्पतालमा अत्याधुनिक सुविधा र स्पेशलिस्ट चिकित्सकहरूको टोलीमार्फत उच्चस्तरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
शिखर इन्स्योरेन्सलाई ‘मेरिट प्रमाणपत्र’, सम्मान प्राप्त गर्ने नेपालको पहिलो बीमा कम्पनी
काठमाडौं । शिखर इन्स्योरेन्सले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (एसएएफए) ले प्रदान गर्ने मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा शिखरले यो प्रमाणपत्र पाएको हो । यो सँगै यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बीमा कम्पनी बन्न सफल भएको छ । यो उपलब्धि शिखर इन्स्योरेन्सका लागि मात्र होइन, सम्पूर्ण नेपाली बिमा उद्योगका लागि पनि कोशेढुंगा भएको कम्पनीले जनाएको छ । एसएएफएद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जवाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ । यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन र वित्तीय अनुशासन प्रतिको निरन्तर प्रतिबद्धतालाई थप पुष्टि गर्ने कम्पनीले जनाएको छ ।