पुनर्बीमा निर्देशिका समयमै पुनरावलोकन गर्न अध्यक्ष वैदवारको आग्रह
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले पुनर्बीमा निर्देशिकालाई समयमै पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार (आज) एक कार्यक्रममा बीमाको जोखिम केन्द्रिकृत हुँदा त्यसको असर त्यसको असर अहिले दाबी भुक्तानीमा देखिएको भन्दै अध्यक्ष क्षेत्रीले पुनर्बीमा निर्देशिका समयमै पुनरावलोकण गर्नुपर्ने बताएका हुन् । अध्यक्ष क्षेत्रीले नियामकीय व्यवस्थाअनुसार नेपालमा स्थापित दुई पुनर्बीमा कम्पनीमा निश्चित जोखिम अनिवार्य रूपमा ‘रि–सेयरिङ’ गर्नुपर्ने प्रावधानले जोखिम केन्द्रीकरण बढाएको बताए । उनका अनुसार नियामकीय व्यवस्थाकै कारण पछिल्लो जेनजीको भुक्तानी पूर्ण रुपमा स्वदेशी पुनर्बीमा कम्पनीसँग निर्भर हुनुपरेको छ । यसअघि बीमा कम्पनीहरूले अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग प्रत्यक्ष रूपमा काम गर्दै जोखिम विविधिकरण गर्ने अभ्यास थियो र जसको कारण दाबी भुक्तानी पनि छिटो हुने गरेको उनले बताए । ‘भूकम्पमा करिब १७–१८ अर्ब र गत साल प्राकृतिक प्रकोपका कारण करिब १३ अर्ब जति भुक्तानी दिन हामी सफल भएका थियौं । यी सबै कुरा हाम्रो पुनर्बीमा ब्याकअप असाध्यै राम्रो भएको र जोखिम विविधीकरण गरेकाले सम्भव भएको हो, तर नियमककको पछिल्लो निर्देशनले भुक्तानीमा समस्या आएको छ ।’ अध्यक्ष वैदवारले भविष्यमा सम्भावित जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन पुनर्बीमा निर्देशिकालाई समयमै पुनरावलोकन गर्न आवश्यक रहेको औंल्याएका छन्। उनले बीमा क्षेत्रले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै प्रिमियममार्फत संकलित पुँजीलाई पूर्वाधारलगायत विभिन्न क्षेत्रमा लगानी गर्न सकिने बताए । साथै अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाहका लागि डिजिटाइजेसन र दक्ष मानव संसाधन विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको वैदवारको भनाइ छ ।
सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफको ब्रान्च अपरेशन्स मिट सम्पन्न भएको छ । कार्यक्रममा देशभरिका २०० जना ब्रान्च अपरेशन्स कर्मचारी, विभागीय प्रमुख, कार्यकारी उप प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्यसहित प्रशिक्षकहरू मनोजकुमार भट्टराई (बैंकिङ तथा बीमा विशेषज्ञ) र पदमप्रसाद सोडारी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक उपस्थित थिए । कार्यक्रममा एएमएलरसीएफटीसम्बन्धी विस्तृत तालिम उपनिर्देशक पदमप्रसाद सोडारीले दिएका थिए भने सर्भिस एक्सिलेन्सी सम्बन्धी तालिम बैंकिङ तथा बीमा विशेषज्ञ मनोज कुमार भट्टराईले दिएका थिए । साथै विभागीय प्रमुखहरूसँगको प्यानल अन्तरक्रियामा ब्रान्च अपरेशन्ससँग सम्बन्धित विभिन्न विषयमा सत्रहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले आफ्नो दैनिक कार्यमा भोगेका चुनौती र उठेका प्रश्नहरू प्यानल मार्फत सम्बोधन गराएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रकाश विक्रम खत्रीले सूर्यज्योति लाइफको शाखा कार्यालयमा काम गर्ने ब्रान्च अपरेशन्स कर्मचारीहरू नै कम्पनीका वास्तविक सर्भिस एम्बास्डर भएको बताए । सूर्यज्योति लाइफ, नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित जीवन बीमा कम्पनी हो । हाल चुक्ता पूँजी ५०१ करोड, जीवन बीमाकोष ४ हजार ६१७ करोड, लगानी ५ हजार १२० करोड र नेटवर्थ ६१८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले १ लाख ७ हजार अभिकर्ता, ३६ लाख ३० हजार बीमालेख, र देशभरिका १७६ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीले नेपालमै सर्वाधिक ३५ घातक रोगविरुद्ध रु। ५० लाखसम्मको आर्थिक सुरक्षा पनि प्रदान गर्दै आएको छ ।
७ महिनामा जीवन बीमा कम्पनीहरूको व्यापार १ खर्ब ११ अर्बमाथि, कसको व्यापार कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको व्यवसाय आर्जन गर्न सफल भएका छन् । मंगलबार (आज) नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ महिनामा १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख १३ हजार बीमालेख जारी गरेर १ खर्ब ११ अर्ब ५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापार भित्र्याएका थिए । अघिल्लो आवको तुलनामा चालु आवको सात महिनामा बीमा कम्पनीहरूको व्यापार १६.४३ प्रतिशतले वृद्धि भएको छ । माघसम्ममा सर्वाधिक व्यापार भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले सो अवधिमा २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.८१ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा नेपाल लाइफले २६ अर्ब ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले गत आवको माघसम्ममा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १८.४६ प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.७७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ७ महिनामा ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । माघसम्ममा हिमालयन लाइफले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ ,सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ७१ करोड ९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन लाइफको ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९३.८९ प्रतिशत, सूर्यज्योति लाइफले ११.९२ प्रतिशत, एसियन लाइफको ९.५३ प्रतिशत, सिटिजन लाइफको १८.९५ प्रतिशत, सानिमा रिलायन्सको १२.२९ प्रशित, आईएमई लाइफको ३३ प्रतिशत, मेट लाइफको. ९.९५, रिलायबल नेपालको २४.९३ प्रतिशत, प्रभु महालक्ष्मीकोे १३.८६ प्रतिशत र सन नेपाल लाइफको ४.६२ प्रतिशतले व्यापार वृद्धि भएको छ ।