विपन्न नागरिकको उपचारबापत बीमा बोर्डद्वारा १९ करोड ६८ लाख भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिकको उपचारबापत देशभरका विभिन्न स्वास्थ्य संस्थालाई १९ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ ।

बोर्डले २०८३ साउन महिनामा विपन्न नागरिकलाई उपलब्ध गराइएको औषधि तथा उपचार सेवाको शोधभर्नाबापत १९ करोड ६८ लाख ५७ हजार ५ सय रुपैयाँ ३० पैसा भुक्तानी गरेको हो ।

बोर्डका उपसचिव  पुष्पप्रसाद गुरागाईंका अनुसार विभिन्न स्वास्थ्य संस्थाले उपचार सेवाबापत पेश गरेका कागजात रुजु तथा परीक्षण गरी स्वीकृत रकम बैंक खातामा पठाइएको हो ।

बोर्डले डायलाइसिस, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी र क्यान्सरलगायत कडा रोगको उपचारबापत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई शोधभर्ना रकम उपलब्ध गराएको जनाएको छ ।  बोर्डको निर्णयअनुसार २०८३ भदौ १ गते भुक्तानी गर्ने निर्णय भएको थियो भने भदौ ५ गते सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा रकम पठाइएको हो ।

भुक्तानी पाउने स्वास्थ्य संस्थामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पाटन अस्पताललगायत देशभरका सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्था रहेका छन् ।

बोर्डले स्वीकृत रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा विद्युतीय कोष स्थानान्तरण ९ईएफटी० मार्फत सोझै जम्मा गरेको जनाएको छ ।

Share News