दर्ता नभएका औषधिबारे भ्रामक प्रचार नगर्न आयुर्वेद चिकित्सा परिषद्को आग्रह

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगको उपचारका नाममा गरिने भ्रामक विज्ञापन र प्रचार–प्रसार रोक्न आग्रह गरेको छ ।

परिषद्ले सोमबार सूचना जारी गर्दै दर्ता नभएका औषधिहरू बिक्री वितरण गर्ने, ठूला अक्षरमा विभिन्न रोगजस्तै क्यान्सर, पाइल्सलगायतका नाम उल्लेख गरी जनतालाई भ्रमित बनाउने तथा विभिन्न जटिल रोगको नाम लिएर चाँडै निको हुन्छ निको नभए पैसा फिर्ता हुन्छ जस्ता दाबी गर्ने विज्ञापन तथा प्रचार नगर्न आग्रह गरेको हो ।

परिषद्का अनुसार यस्ता गतिविधि प्रचलित कानूनविपरीत भएकाले त्यस्ता कार्य गर्ने वा गराउने व्यक्तिले यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्नेछ । परिषद्ले आफ्नो सूचनामा कानूनविपरीत अवाञ्छनीय कार्य तथा गतिविधि गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

परिषद्ले औषधिको प्रचार–प्रसार तथा बिक्री वितरण गर्दा प्रचलित कानुन र नियमनको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

Share News