साउनमा पौने ७ अर्ब दाबी भुक्तानी, करिब ५२ अर्ब तिर्न बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा बीमा कम्पनीहरूले पौने ७ अर्ब रुपैयाँ बढी दाबी भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा  ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।

प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले मात्रै साउन महिनामा २८ हजार १२१ वटा दाबीबापत ५ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । 

जुन गत आवको सोही अवधिको तुलनामा दाबी संख्या ०.२२ प्रतिशत र दाबी रकम ७.३६ प्रतिशते बढेको हो । 

साउनमा निर्जीवन बीमकहरूले १० हजार ९६९ वटा दाबीबापत्  १ अर्ब ३१ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् यो भुक्तानी गत आवको यही अवधिको तुलनामा भुक्तानी रकम घटेको छ । 

गत आवको यही अवधिमा कम्पनीले १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा भुक्तानी रकम भने २०.६६ प्रतिशतले घटेको छ ।

५१ अर्ब भुक्तानी बाँकी

बीमा कम्पनीहरूको दाबीबापत ठूलो रकम भुक्तानी गर्न बाँकी देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरूले ५१ अर्ब ९३ करोड ४४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

जीवन बीमा कम्पनीहरूले मात्रै १ लाख २५ हजार ६३० वटा दाबीको १० अर्ब १४ करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

जुन गत आवको यही अवधिको तुलनामा संख्या र रकम क्रमशः ११८.१० प्रतिशत र १२०.५६ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्ष साउनसम्म जीवन बीमकहरूले ५७ हजार ६०३ वटा दाबीको ४ अर्ब ६० करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।

चालु आवको साउनसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १० हजार ६५० वटा दाबीको ४१ अर्ब ७८ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

अघिल्लो आवको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम क्रमशः ९.६५ प्रतिशत र ६० प्रतिशतले बढी हो । 

अघिल्लो आवको यही अवधिमा निर्जीवन बीमकहरूले १ लाख ९०८ वटा दाबीको २६ अर्ब ११ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

Share News