हेलिकप्टरबाट यात्रा, ड्रोनबाट सर्भे

आफ्नै खर्चमा सर्भेका लागि हेलिकप्टरमा रसुवा जाँदै सर्भेयर

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण ठूलो धनजनमा क्षति पुगेका छ । बाढीबाट प्रभावित क्षेत्रमा अहिले खोजी, उद्धार तथा पुनःस्थापनाको काम जारी छ ।

बाढीका कारण मानवीय क्षतिसँगै जलविद्युत आयोजना, घर, व्यवसाय, उद्योग, सवारीसाधन तथा विभिन्न भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । ठूलो धनजनमा क्षति पुगेसँगै बीमा कम्पनीहरूमा ठूलो रकम बराबरको बीमा दाबी पर्न थालेको छ ।

बीमा दाबीको मूल्यांकनका लागि बीमा कम्पनीहरूले प्रभावित क्षेत्रमा सर्भेयर खटाउन सुरु गरेका छन् । सर्भेयरहरूले क्षतिग्रस्त सम्पत्तिको स्थलगत निरीक्षण गरी क्षतिको प्रकृति, परिमाण र बीमाले समेट्ने जोखिमका आधारमा प्रारम्भिक विवरण संकलन गर्न सुरु गरेका छन् । 

कम्पनीले सर्भेयर खटाउन सुरु गरिसकेपनि सबै ठाउँमा सर्भेयरहरू पुग्न सकेका छैनन् । हालको अवस्थामा सडकमार्गबाट प्रभावित क्षेत्रमा पुग्न सम्भव नहुँदा क्षति मूल्यांकनमा समस्या भइरहेको सर्भेयर ललित केसीले बताए । 

उनका अनुसार त्रिशूली र बेत्रावती क्षेत्रमा सर्भेयरको टोली पुगिसकेको भए पनि टिम्बुरे र मैलुङलगायतका क्षेत्रमा पुग्न अझै कठिनाइ छ ।

null

सर्भेयर ललित केसी । 

बाढी प्रभावित क्षेत्रमा क्षति मूल्यांकन गर्न ढिलाइ भइरहेका बेला केही सर्भेयरहरू सामाजिक दायित्व महसुस गर्दै आफ्नै खर्चमा हेलिकप्टरमार्फत कार्यक्षेत्र खटिने भएका छन् । 

सर्भेयर केसीले आफूसहितको टोलीले आफ्नै खर्चमा हेलिकप्टरमार्फत कार्यक्षेत्र जाने तयारी भएको बताए । टिमुरे, मैलुङलजस्ता क्षेत्र दुर्गम पनि भएकाले सडक मार्ग राम्रो हुन अझै ३–४ महिना लाग्ने देखिएको उनको भनाइ छ ।  त्यसअवधिसम्म कुर्दा प्राराम्भिक मूल्यांकन ढिला हुने उनले सुनाए ।

केसीका अनुसार प्रभावित क्षेत्रमा हवाई मार्गबाट सर्भेयर खटाउने बीमा कम्पनीको प्रावधान छैन । 

जानुपर्ने अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमतिसमेत लिनु पर्ने हुन्छ । बीमा कम्पनीले पनि मुख्य केसबाहेकमा हेलिकप्टर प्रयोग गरी सर्भेयर खटाउँदैन । 

‘हवाई मार्गबाट जान कम्पनीबाट हामीलाई अनुमति छैन, कम्पनीले पनि मेजर केसमा जानैपर्ने अवस्था भए मात्रै पठाउने हो,’ उनले भने । 

तर, केसीले कम्पनीसँग भाडा दाबी नगर्ने गरी प्रभावित क्षेत्र पुग्न लागेको जानकारी दिए ।  ‘हामीले अहिलेको अवस्थामा सामाजिक हिसाबले पनि जानुपर्छ भन्ने महसुस गरेका छौं,’ उनले भने । 

केसीका अनुसार प्रभावित क्षेत्रमा पुगेर गरिएको प्रारम्भिक मूल्यांकनमा विशेषगरी सवारीसाधनतर्फ क्षतिको अवस्था गम्भीर देखिएको छ । बाढीले अधिकांश सवारीसाधन बगाएकाले केही पनि बाँकी नरहेको अवस्थामा पूर्ण क्षति अर्थात् ‘टोटल लस’ मा जाने अवस्था रहेको उनले बताए ।

केही भेटिएका सवारीसाधनमा पनि नो क्लेम गर्नुपर्ने अवस्था देखिएको उनले सुनाए । ‘केही पनि बाँकी नभएको अवस्थामा टोटल लसमा जानेछ र त्यसमा स्याभेज भ्यालु पनि आउँदैन,’ केसीले भने ।

बीमा सर्भेयर संघ नेपाल (निसा) का अध्यक्ष ऋषि कोइरालाका अनुसार प्रभावित क्षेत्रमा सर्भेयरको संख्या बढाउने तयारी भइरहेको छ । साथै क्षतिको प्रकृति र प्रभावित क्षेत्रअनुसार टोली बनाएर स्थलगत मूल्यांकन गरिने उनले बताए ।

null

ऋषि कोइराला ।

बाढी प्रभावित क्षेत्रमा सर्भेयर खटाउन चुनौती देखिएपनि सर्भेयरहरू खटिसकेको उनको भनाइ छ । उनले कतिपय प्रभावित क्षेत्रमा पुगेर प्रारम्भिक सर्भे गर्नसमेत कठिनाइ भएकाले ड्रोनको प्रयोग भइरहेको जानकारी दिए । 

‘हामीले सर्भेयरहरू खटाइसकेका छौं, तर त्यहाँ पुग्नकै लागि मुख्य समस्या छ, ’ उनले भने ।

अहिले ट्र्र्याक रुटहरू खोल्ने काम भइरहेको र केही समयभित्रै अहिल सहज हुने अध्यक्ष कोइरालाले बताए । उनका अनुसार अहिले प्रभावित क्षेत्रमा देखिएको अर्को चुनौती बीमितहरू पनि मानसिक रूपमा क्षति मूल्यांकनको लागि तयार नहुनु हो । 

‘अहिले पनि खोजी तथा उद्धार कार्य जारी रहेकाले तत्कालै विस्तृत सर्भे गर्न सकिने अवस्था छैन,’ कोइरालाले भने ।

प्रभावित क्षेत्रमा सर्भेयर खटाउन समस्या देखिएपनि सम्भव भएसम्म विभिन्न माध्यमबाट सर्भेयरलाई प्रभावित क्षेत्रमा पठाइरहेको कम्पनीहरूको भनाइ छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दाबी विभाग शाखा प्रमुख सुवोध कर्मचार्यले कम्पनीले प्रभावित क्षेत्रमा क्षतिको मूल्यांकनका लागि सर्भेयर खटाइसकेको जानकारी दिए ।

उनका अनुसार केही क्षेत्रमा सर्भेयर पुगिसकेका छन् भने कतिपय प्रभावित क्षेत्रमा अझै पुग्न बाँकी छ ।

तर, सर्भेयर घटनास्थलमा पुगे पनि तत्कालै क्षतिको यथार्थ मूल्यांकन गर्न सक्ने अवस्था नरहेको कर्मचार्यको भनाइ छ । बाढीका कारण कतिपय क्षेत्र अझै डुबानमा रहेकाले पानी नसुक्दासम्म क्षतिको विस्तृत मूल्यांकन गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए ।

‘सर्भेयरहरू घटनास्थलमा पुगेपनि क्षतिको मूल्यांकन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बाढीका कारण क्षेत्र पूरै डुबानमा रहेकाले पानी नसुकेसम्म क्षतिको वास्तविक अवस्था पहिचान गर्न चुनौती छ ।’

प्रभावित क्षेत्रमा बीमितबाट समेत सर्भेयरलाई आवश्यक समन्वय र प्रतिक्रिया पाउन कठिन भइरहेको कर्मचार्यले बताए ।

‘अहिलेको परिस्थिति नै त्यस्तै भएकाले होला, क्लाइन्टहरूबाट पनि सर्भेयरलाई अपेक्षित रेस्पोन्स भइरहेको छैन,’ उनले भने ।

उनका अनुसार हाल सम्पत्तितर्फको क्षति मूल्यांकन भइरहेको भए पनि सवारीसाधनतर्फको क्षति मूल्यांकनमा थप कठिनाइ देखिएको छ ।

नेशनल इन्स्योरेन्सका दाबी विभाग शाखाका प्रमुख मञ्जुश्री शर्माले कम्पनीले सर्भेयर खटाइसकेको बताइन् । कम्पनीमा सवारीसाधनको सबैभन्दा ठूलो दाबी परेको बताउँदै उनले त्यसको मूल्यांकनमा लागि सर्भेयर खटिसकेको जानकारी दिइन् ।

प्रभावित क्षेत्रमा पुग्न बाटोको समस्या भएपनि सम्भव भएसम्म गाडीबाटै र कोही हवाई मार्ग हुँदै पनि सर्भेयर खटिएको शर्माले बताइन् । 

यसपटक बाढीले एकैपटक ठूलो क्षेत्रफलमा क्षति पुर्याएको छ । कतिपय बीमितको सम्पत्ति पूर्ण रूपमा क्षतिग्रस्त छन्, कति सम्पति बगाएको अवस्थामा रहेकाले सर्भेयरका लागि वास्तविक क्षतिको पहिचान र प्रमाणीकरण चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ । 

त्यसैगरी, बाढी आउनुअघिको सम्पत्तिको अवस्था, क्षतिको वास्तविक कारण तथा बीमा पोलिसीले समेटेको जोखिमसँग क्षतिको सम्बन्ध स्थापित गर्नुपर्ने भएकाले मूल्यांकन प्रक्रिया थप संवेदनशील हुने सर्भेयरहरू बताउँछन् । 

सर्भेयरहरूले प्रारम्भिक क्षतिको विवरण संकलन गरेपछि बीमितको दाबी, स्थलगत निरीक्षण, उपलब्ध प्रमाण तथा सम्बन्धित बीमा पोलिसीका आधारमा अन्तिम मूल्यांकन प्रतिवेदन तयार गर्छन् । सोही प्रतिवेदनका आधारमा बीमा कम्पनीहरूले दाबी भुक्तानीसम्बन्धी प्रक्रिया अघि बढाउनेछन् ।

Share News