व्यावसायिक दायरा बढाउन मीनबहादुरका ३ कम्पनी, साढे १० अर्ब ऋण

काठमाडौं । मीनबहादुर गुरुङको नाम आउनेबित्तिकै धेरैको दिमागमा भाटभटेनी सुपरमार्केटको तस्बिर आउँछ । तर, गुरुङको व्यावसायिक साम्राज्य अब सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा मात्र सीमित छैन । पछिल्ला केही वर्षमा उनले लगानीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै नयाँ कम्पनीमार्फत आफ्नो व्यावसायिक दायरा फराकिलो बनाएका छन् ।

गुरुङको लगानी तथा प्रवर्द्धनमा पछिल्लो तीन वर्षमा तीन वटा लगानी कम्पनी स्थापना भएका छन् । भाटभटेनी इन्भेस्टमेन्ट कम्पनी प्रालि, श्रीवृद्धि होल्डिङ कम्पनी प्रालि र श्रीनिवास होल्डिङ कम्पनी प्रालिमार्फत उनको लगानी जलविद्युत्, सौर्य ऊर्जा, कृषि, अस्पताल, होटल तथा आतिथ्य, घरजग्गा र सेयर बजारसम्म पुगेको छ ।

भाटभटेनी इन्भेस्टमेन्टः

सन् २०२४ जनवरीमा स्थापना भएको भाटभटेनी इन्भेस्टमेन्ट कम्पनी प्रालि मीनबहादुर गुरुङ, उनका परिवारका सदस्य तथा भाटभटेनी समूहसँग सम्बन्धित संस्थाहरूको प्रवर्द्धनमा स्थापना भएको लगानी कम्पनी हो । कम्पनीमा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर प्रालिको सबैभन्दा ठूलो २० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मीनबहादुर गुरुङ हुन् ।

भाटभटेनी इन्भेस्टमेन्टको लगानी जलविद्युत्, सौर्य ऊर्जा, कृषि, अस्पताल, होटल तथा आतिथ्य, घरजग्गा र सूचीकृत सेयरलगायत क्षेत्रमा रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको कुल लगानीमध्ये करिब ५९ प्रतिशत हिस्सा सूचीकृत नभएका कम्पनीको सेयरमा रहेको थियो । कम्पनीले लगानी गरेका अधिकांश परियोजना अझै निर्माणाधीन अवस्थामा छन् ।

निर्माणाधीन परियोजनामा ठूलो लगानी रहेकाले तत्काल प्रतिफल प्राप्त हुने अवस्था कमजोर छ । परियोजना निर्माणमा ढिलाइ भए लगानीबाट आम्दानी सुरु हुने समय पनि पछाडि धकेलिन सक्छ । साथै, यस्ता लगानीलाई तत्काल नगदमा परिणत गर्न कठिन हुने भएकाले कम्पनीको तरलतामाथि समेत दबाब पर्न सक्छ ।

कम्पनीको करिब ३९ प्रतिशत लगानी सूचीकृत कम्पनीको सेयरमा रहेको छ । यस्तो लगानी आवश्यकता पर्दा बिक्री गरेर नगदमा परिणत गर्न तुलनात्मक रूपमा सहज भए पनि सेयर बजारको उतारचढावका कारण लगानीको मूल्य र आम्दानीमा अस्थिरता आउन सक्छ । कम्पनीले सूचीकृत सेयरतर्फको लगानी हाल नाममात्रको घाटामा रहेको जनाएको छ ।

बाँकी लगानी घरजग्गामा रहेको छ, जसबाट भाडामार्फत आम्दानी गर्ने उद्देश्य राखिएको छ । भाटभटेनी सुपरमार्केटका शाखाले प्रयोग गर्ने गरी भाडामा दिइएको जग्गाबाट कम्पनीले भाडा आम्दानी गर्दै आएको छ । यस्तो आम्दानी तुलनात्मक रूपमा स्थिर भए पनि कम्पनीको कुल आम्दानीमा यसको हिस्सा न्यून रहेको छ ।

स्थापना भएको आर्थिक वर्ष २०८०/८१ मा ३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । तर, आम्दानीसँगै ऋणको आकार पनि ठूलो छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४ करोड रुपैयाँ ऋण लिएको छ । यसमध्ये ३ अर्ब ४४ करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ६० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । 

श्रीवृद्धि होल्डिङः

सन् २०२५ मार्चमा स्थापना भएको श्रीवृद्धि होल्डिङ कम्पनी प्रालि लगानी होल्डिङ कम्पनीका रूपमा सञ्चालनमा रहेको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौं महानगरपालिका-५ मा रहेको छ । कम्पनीले घरजग्गा विकाससँगै अन्य अल्पकालीन लगानीका गतिविधि गर्ने उद्देश्य राखेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मीनबहादुर गुरुङको ६० प्रतिशत स्वामित्व रहेको छ भने उनकी श्रीमती सावित्री घलेको ४० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको सम्पूर्ण स्वामित्व गुरुङ परिवारमा रहेको छ ।

श्रीवृद्धिको संगठनात्मक तथा सञ्चालन प्रणाली अझै विकासकै क्रममा रहेको छ । कम्पनीमा लगानीसम्बन्धी छुट्टै जनशक्ति पनि सीमित रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कुल लगानीको करिब ७७ प्रतिशत बैंकिङ क्षेत्रमा केन्द्रित थियो । त्यसमध्ये करिब ४६ प्रतिशत लगानी एउटै कम्पनीको सेयरमा रहेको जनाएको छ । यसले कम्पनीलाई बैंकिङ क्षेत्रसँग सम्बन्धित जोखिमसँगै एउटै कम्पनीमा लगानी केन्द्रित हुँदाको जोखिममा समेत राखेको छ । लगानी गरिएको प्रमुख कम्पनीको वित्तीय प्रदर्शन कमजोर भएमा त्यसको प्रत्यक्ष असर श्रीवृद्धिको लगानी तथा आम्दानीमा पर्न सक्छ ।

श्रीवृद्धिको पुँजी संरचना पनि ऋणमा आधारित छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । कम्पनीले दोस्रो बजारमा सेयर खरिद गर्न बैंक कर्जाको प्रयोग गर्दै आएको छ । संस्थागत लगानीकर्ताका लागि मार्जिन प्रकृतिको कर्जामा लगाइएको सीमा खुकुलो हुनु तथा ब्याजदर तुलनात्मक रूपमा कम रहनुले सेयर बजारमा लगानी विस्तारका लागि अनुकूल वातावरण बनेको छ । तर, थप लगानी पनि ऋणबाटै गरिएको अवस्थामा निकट तथा मध्यम अवधिमा कम्पनीको ऋण-पुँजी अनुपात उच्च रहन सक्ने जोखिम रहेको जनाएको छ । 

श्रीवृद्धिको आम्दानी मुख्यतः लगानीबाट हुने प्रतिफलमा निर्भर छ । यसमा सेयर बिक्रीबाट हुने पुँजीगत लाभ तथा लाभांश आम्दानी प्रमुख छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २६ करोड रुपैयाँ आम्दानी गरेको छ ।

श्रीनिवास होल्डिङः

सन् २०२५ मार्चमा स्थापना भएको श्रीनिवास होल्डिङ कम्पनी प्रालि पनि लगानी कम्पनीका रूपमा सञ्चालनमा आएको हो । कम्पनीले घरजग्गा विकाससँगै अन्य अल्पकालीन लगानीका गतिविधि गर्ने उद्देश्य राखेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मीनबहादुर गुरुङको ६० प्रतिशत स्वामित्व रहेको छ भने उनकी श्रीमती सावित्री घलेको ४० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीको सम्पूर्ण स्वामित्व गुरुङ परिवारमा रहेको छ ।

श्रीनिवासको सञ्चालन अनुभव सीमित छ र कम्पनीको संगठनात्मक तथा सञ्चालन संरचना अझै विकासकै क्रममा रहेको छ । हाल कम्पनीको सम्पूर्ण लगानी सूचीकृत सेयरमा रहेको छ । त्यसैले कम्पनीको आम्दानी, नाफा तथा समग्र वित्तीय अवस्थामाथि दोस्रो बजारको उतारचढावको प्रत्यक्ष प्रभाव पर्न सक्छ ।

कम्पनीको लगानी जलविद्युत् क्षेत्रमा अत्यधिक केन्द्रित रहेको छ । सन् २०२६ जुलाई मध्यसम्म कुल लगानीको करिब ७२ प्रतिशत जलविद्युत् क्षेत्रमा रहेको थियो । त्यसमध्ये करिब ६९ प्रतिशत लगानी एउटै कम्पनीको सेयरमा रहेको छ । यसले कम्पनीलाई जलविद्युत् क्षेत्रको जोखिमसँगै एउटै कम्पनीमा लगानी केन्द्रित हुँदाको उच्च जोखिममा राखेको जनाएको छ । एउटै कम्पनीको सेयर मूल्य वा वित्तीय प्रदर्शनमा ठूलो परिवर्तन आएमा त्यसको असर कम्पनीको समग्र लगानीमा प्रत्यक्ष पर्न सक्छ ।

यस्तो जोखिमको असर लगानीमा देखिनसमेत थालेको छ । कम्पनीको कुल लगानीमा करिब १२ प्रतिशत घाटा रहेको थियो । यस्तो घाटाको मुख्य कारण सबैभन्दा ठूलो लगानी रहेको कम्पनीको सेयरमा भएको करिब २२ प्रतिशत नोक्सानी रहेको जनाएको छ । 

प्रवर्तकसँगको सम्बन्धका कारण श्रीनिवास होल्डिङले सूचीकृत सेयरमा लगानी गर्न उल्लेख्य ऋण जुटाउन सकेको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको कुल वित्तीय स्रोतमा बैंक कर्जाको हिस्सा करिब ५२ प्रतिशत रहेको थियो । कम्पनीले विभिन्न बैंकबाट २ अर्ब १० करोड रुपैयाँ ऋण लिएको छ । त्यस्तै, कुल वित्तीय स्रोतको करिब ३७ प्रतिशत हिस्सा ब्याज नलाग्ने प्रवर्द्धक ऋणबाट समर्थित थियो । 

तीन कम्पनीका एउटै चुनौती

भाटभटेनी इन्भेस्टमेन्ट, श्रीवृद्धि र श्रीनिवासको लगानी क्षेत्र फरक भए पनि तीनै कम्पनीमा केही समान जोखिम देखिन्छन् । तीनै कम्पनीको सञ्चालन इतिहास छोटो छ, लगानीबाट हुने आम्दानीमा निर्भरता उच्च छ र लगानी विस्तारमा बैंक तथा प्रवर्द्धक ऋणको प्रयोग भएको छ ।

भाटभटेनी इन्भेस्टमेन्टमा निर्माणाधीन परियोजनामा ठूलो लगानी, सूचीकृत नभएका कम्पनीको सेयरमा उच्च हिस्सा र उच्च ऋण मुख्य जोखिम हुन् । श्रीवृद्धिमा बैंकिङ क्षेत्रमा ७७ प्रतिशत लगानी र एउटै कम्पनीमा ४६ प्रतिशत लगानी केन्द्रित हुनु प्रमुख जोखिम हो । श्रीनिवासमा भने जलविद्युत् क्षेत्रमा ७२ प्रतिशत र एउटै कम्पनीमा ६९ प्रतिशत लगानी केन्द्रित हुनुका साथै लगानीमा देखिएको घाटाले जोखिम थप बढाएको छ ।

भाटभटेनी समूहसँगको सम्बन्ध भने यी कम्पनीका लागि सकारात्मक पक्ष हो । नेपालभर फैलिएको भाटभटेनी सुपरमार्केटको सञ्जाल, विभिन्न क्षेत्रमा रहेको व्यावसायिक उपस्थिति तथा मीनबहादुर गुरुङको व्यावसायिक अनुभवले यी कम्पनीलाई लगानीका अवसर र ऋणमा पहुँच विस्तार गर्न सहयोग गरेको देखिन्छ ।

तर, प्रवर्द्धक समूहको बलियो पृष्ठभूमि मात्रले लगानी कम्पनीको दीर्घकालीन वित्तीय सफलता सुनिश्चित गर्दैन । अन्ततः ऋणको साँवा-ब्याज तिर्न पर्याप्त नगद प्रवाह, लगानीमा जोखिमअनुसारको उचित प्रतिफल र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक हुन्छ ।

Share News