सूर्यज्योति लाइफको नाफा ३८ करोड नाघ्यो, जीवन बीमा कोष साढे ५१ अर्ब
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ८.५५ प्रतिशत बढेर ३८ करोड २ लाख १९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३५ करोड २ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी १५.७३ प्रतिशत बढेर १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ४.०८ प्रतिशत बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ र कुल खर्च १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १५ अर्ब १३ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरेर १४ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ६० करोड ९२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष बढेर ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ नाघेको छ । समीक्षा अवधिमा कम्पनीको लगानी ४१ अर्ब ६६ करोड २४ लाख रुपैयाँबाट बढेर ५२ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.९९ रुपैयाँबाट वृद्धि भई ७.५९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ ।
रिलायबल नेपाल लाइफले उत्कृष्ट अभिकर्तालाई गर्यो सम्मान
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीले व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । बुढानीलकण्ठस्थित होटल शीतल हाइटमा शुक्रबारदेखि आइतबारसम्म आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा एमडीआरटी (मिलियन डलर राउण्ड टेबल) हासिल गर्न सफल अभिकर्ता, मेगा स्टार उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो । उत्कृष्ट कार्यसम्पादन, समर्पण तथा कम्पनीको व्यावसायिक वृद्धिमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित अभिकर्तालाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रा.डा. भगवान कोइराला तथा डा. विष्णु प्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकासमा टेवा पुग्ने उत्प्रेरणामूलक प्रस्तुति दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीको सफलताको प्रमुख आधार अभिकर्ता नै भएको बताए । उनले अभिकर्ताको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता तथा ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गरे । आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । कार्यक्रममा व्यवसाय विस्तारका सम्भावना, आगामी व्यावसायिक रणनीति तथा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा छलफल गरिएको थियो । सहभागी अभिकर्ताबीच अनुभव आदान–प्रदान तथा सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्रसमेत सञ्चालन गरिएको थियो । रिलायबल नेपाल लाइफले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा तथा व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै आएको जनाएको छ । कम्पनीले यसबाट बीमा क्षेत्रको समग्र विकासमा योगदान पुग्ने विश्वास लिएको छ ।
नेशनल लाइफको ब्रान्च मेनेजर्स कन्फरेन्स सम्पन्न, एआई र डिजिटल मार्केटिङमा जोड
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको बताइन् । प्रतिस्पर्धामा अब्बल बन्न कर्मचारीले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने उनको भनाइ थियो । उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले आवश्यक तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको बताइन् । पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जीवन बीमा क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने भन्दै उनले एआईसम्बन्धी ज्ञानलाई डिजिटल मार्केटिङमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । कम्पनीले कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको उनले बताइन् । आगामी दिनमा पनि कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास उनले व्यक्त गरिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए । उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्याउने अवसर भएको बताए । सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए । जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उनले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीलाई यस विषयमा चनाखो र जिम्मेवार भएर काम गर्न आग्रह गरे । त्यस्तै, एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विभिन्न एआई टुल्सबारे जानकारी दिँदै यसको प्रयोगबाट बीमा व्यवसायको डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन सकिने उपायबारे प्रशिक्षण दिए । श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती र व्यावसायिक सफलता हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए । उनले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो । त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष सिंहले उत्कृष्ट शाखा कार्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् । सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि आयोजना गरिएको थियो । पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए । चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।