सिद्धार्थ प्रिमियरमा १ अर्ब बढीको बीमा दाबी

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षतिपूर्तिबापत सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ । कम्पनीका अनुसार बुधबार दिउँसो १२ बजेसम्म १६० भन्दा बढी बीमालेखबाट उक्त रकम बराबरको दाबी परेको हो ।

कम्पनीका दाबी विभाग प्रमुख सुवोध कर्मचार्यले हालसम्म १६० भन्दा बढी बीमालेखबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको दाबी परेको बताए । 

उनका अनुसार कम्पनीमा सबैभन्दा धेरै मोटर बीमा र सम्पत्ति बीमाअन्तर्गतका दाबी परेका छन् । क्षतिको विवरण संकलन तथा दाबी दर्ता गर्ने क्रम अझै जारी रहेकाले दाबी रकम थप बढ्न सक्ने उनले बताए ।

‘दाबी आउने क्रम अझै जारी छ । यो क्रम केही समय रहने देखिन्छ,’ कर्मचार्यले भने ।

कम्पनीले प्राप्त दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाइसकेको जनाएको छ । सर्भेयरमार्फत क्षतिको स्थलगत मूल्यांकन तथा विवरण संकलनको काम अघि बढाइएको कर्मचार्यले बताए ।

क्षति मूल्यांकनपछि मात्रै दाबीको वास्तविक रकम यकिन हुने कम्पनीको भनाइ छ ।

Share News