काठमाडौं । नेपाल बीमा सर्भेयर संघबाट निलम्बित भएपछि कोइरालाले आफूलाई संघको विधानविपरीत निलम्बन गरिएकोले त्यसको कुनै अर्थ नरहने बताएका छन् ।
उनका अनुसार बीमक संघलगायत केही व्यक्तिको मिलेमतोमा आफूलाई निलम्बन गरिएको हो ।
‘विधानअनुसार त्यसरी निलम्बन गर्न पाइँदैन, बीमक संघलगायत दुई–चार जनाको मिलेमतोमा यस्तो भएको हो,’ उनले भने ।
बजारमा आफूविरुद्ध हल्ला फैलाउने काम भइरहेको बताउँदै कोइरालाले संघको हकहितका लागि आवाज उठाउँदा उल्टै निलम्बनमा परेको बताए ।
उनका अनुसार संघभित्र दुई-चार जनाबाहेक अधिकांश सदस्य आफूले उठाएका विषयमा सकारात्मक छन् ।
‘मेरो धारणा सबै सर्भेयरलाई काम दिनुपर्छ र विदेशी सर्भेयरलाई ८० प्रतिशतसम्म लगानी गर्न दिनुहुँदैन भन्ने हो, यही विषयमा कसैलाई चित्त बुझेन,’ उनले भने ।
संघले विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी र सभापति पदबाट समेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएकाे छ । संघका अनुसार संघका सदस्य, सर्भेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै कोइरालाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हाे ।
संघले उठेका विषयहरू प्रारम्भिक रूपमा हेर्दा संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएकाले निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाएको छ ।
संघमा उठेका विषयमा निष्पक्ष छानबिनका लागि सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समितिसमेत गठन गरिएको छ ।
समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गर्ने, सफाइको पूर्ण अवसर दिने तथा आवश्यक प्रमाण संकलन गरी एक महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएको छ ।
प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले विधानबमोजिम अन्तिम निर्णय गरिनेछ । आरोप पुष्टि नभएको ठहर भएमा निलम्बन स्वतः फुकुवा हुने व्यवस्था छ ।