समयमै प्रिमियम नतिर्ने बीमितको संख्यामा सुधार, रकम भने बढ्यो

काठमाडौं । जीवन बीमा क्षेत्रमा व्यतित (ल्याप्स) बीमालेखको संख्यामा सुधार देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्ममा व्यतित बीमालेखको संख्या १० लाख २५ हजार ५४८ रहेको छ । 

अघिल्लो आवको यही अवधिमा व्यतित बीमालेखको संख्या १२ लाख २९ हजार ४४६ रहेको थियो । अघिल्लो आवको तुलनामा व्यतित बीमालेखको संख्या१६.५८ प्रतिशतले घटेको छ ।

व्यतित बीमालेखअन्तर्गतको रकम भने बढेको छ । २०८२ को श्रावण मसान्तसम्म व्यतित बीमालेखको रकम ३ खर्ब ७३ अर्ब ९८ करोड २८ लाख ६ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा बढेर ३ खर्ब ९१ अर्ब ४६ करोड ४४ लाख ७० हजार रुपैयाँ पुगेको छ । 

यसअनुसार एक वर्षमा व्यतित बीमालेखको रकम १७ अर्ब ४८ करोड १६ लाख ४ हजार रुपैयाँले बढेको छ । एक वर्षको अवधिमा व्यतित बीमालेख रकम ४.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

पोलिसी सरेण्डर गर्ने बीमितको संख्यामा पनि सुधार 

चालु आवको साउनमा बीमा लेख समर्पण अर्थात पोलिसी सरेण्डरको संख्यामा पनि सुधार आएको छ । 

प्राधिकरणको तथ्यांकअनुसार चालु आवको साउनमा अवधि पूरा नहुँदै पोलिसी त्याग्नेको बीमितको संख्या ७ हजार ४११ रहेको छ । जुन गत आवको यही अवधिको तुलनामा ३.३३ प्रतिशतले कमी देखिएको छ । 

गत आवको यही अवधिमा पोलिसी समर्पण गर्नेको संख्या ७ हजार ६६६ थियो । 

संख्यामा कमी आए पनि समर्पण रकम भने ५.०७ प्रतिशतले बढेको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म ७ हजार ४११ वटा बीमालेख समर्पणबापत बीमा कम्पनीहरूले १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा ७ हजार ६६६ वटा बीमालेख समर्पणबापत १ अर्ब २४ करोड ५१ लाख रुपैयाँ बाहिरिएको थियो ।

तथ्यांकअनुसार समर्पणबापत भुक्तानी भएको रकम ६ करोड ३२ लाख रुपैयाँले बढेको छ ।

Share News