कांग्रेस खस–आर्य सहमहामन्त्रीमा मनोजमणिको अग्रता कायमै

मनोजमणि आचार्य । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खस–आर्यतर्फको सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायमै राखेका छन् । 

जारी मतगणनामा आचार्यले प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीसँगको मतान्तर बढाउँदै अग्रता कायम राखेका हुन् ।

केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरणअनुसार १ हजार ७०७ मत गणना हुँदा आचार्यले ६२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी केसीले ५४५ मत पाएका छन् । यी दुई उम्मेदवारबीच ७८ मतको अन्तर छ ।

यसैगरी, सहमहामन्त्री पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले ११४ मत पाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विभिन्न पद र समावेशी समूहअन्तर्गतको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार बुधबार थप छ क्लस्टरको मतगणना भइरहेको छ भने केही समूहको गणना अघिल्लो दिनदेखि नै जारी छ ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा खस–आर्यतर्फको सहमहामन्त्री पदमा आचार्य र केसीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। यद्यपि, अन्तिम परिणामका लागि बाँकी मतगणना सम्पन्न हुनुपर्नेछ ।

Share News