काठमाडौं । नेपाली कांग्रेसले पार्टीको चुनाव चिह्न र सिफारिसमा निर्वाचित जनप्रतिनिधिहरू अन्य दलको महाधिवेशनलगायतका कार्यक्रममा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि अर्को दलको महाधिवेशन प्रतिनिधि बन्ने विषय स्वीकार्य नहुने कांग्रेसले जनाएको छ ।
शेरबहादुर देउवा समूहले पार्टीका जनप्रतिनिधिहरूलाई आगामी महाधिवेशनमा स्वतः प्रतिनिधि बनाउने घोषणा गरेपछि कांग्रेसले यस्तो धारणा सार्वजनिक गरेको हो । नवनिर्वाचित सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीको चुनाव चिह्न र सिफारिसमा निर्वाचित भएर अर्को दलका गतिविधिमा संलग्न हुने जनप्रतिनिधिमाथि कारबाही हुने बताएका छन् ।
रसाइलीका अनुसार पार्टीविरोधी गतिविधिमा संलग्न जनप्रतिनिधिमाथि अहिले पनि कारबाही भइरहेको छ । आगामी दिनमा पनि पार्टीको नीति र हितविपरीत गतिविधि गर्ने जोकोही जनप्रतिनिधि कारबाहीको दायरामा आउने उनले स्पष्ट पारे । उनले भने त्यस्ता जनप्रतिनिधिको पद पनि जान्छ ।