मोरङ–१ मा अनुभव, प्रशासन र परिवर्तनको त्रिकोणात्मक भीडन्त

काठमाडौं । एकातिर संसदमा किसानका मुद्दा बुलन्द पार्दै आएका अनुभवी नेता, अर्कोतिर स्थानीय सरकार हाँकेको प्रशासनिक अनुभव बोकेका उम्मेदवार र ‘अब पुराना होइन, नयाँ अनुहार चाहिन्छ’ भन्ने नारा बोकेर मैदानमा उत्रिएका चुनौतीकर्ता । मोरङ–१ मा यसपटकको निर्वाचन यिनै तीन धारमा केन्द्रित हुने देखिएको छ । मतदाताले अनुभवलाई रोज्ने कि परिवर्तनको जोखिम उठाउने भन्ने प्रश्नले मोरङ–१ को चुनावी माहोल थप रोचक बनाएको छ । ‘जीटुजी गरेर होस् कि जसरी भए पनि मल ल्याऔं । मल कहिलेबाट किसानले पाउँछन् ? किसानको अवस्था त खस्किँदो अवस्थामा गयो । किसानले रत्नपार्कमा आएर हलो बोकेर आन्दोलन गर्ने दिन नआओस् । म किसानको आवाज बोलिरहेको छु,’ संसदमा किसानको पक्षमा आवाज उठाउँदै पूर्वसांसद घनश्याम खतिवडाले भनेका थिए । उनै किसानको आवाज उठाउने सांसद खतिवडा मोरङ– १ मा उम्मेदवार बनेका छन् । व्यक्तिगत रूपमा उनी सामाजिक र राजनीतिक चेतनाको संवाहक मानिन्छन् । पूर्वशिक्षकसमेत रहेका उनीसँग विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव छ । संसदमा हुँदा उनले किसान र तल्लो तहका मानिस तथा आमनागरिकको समस्या उठान गर्थे । तिनै खतिवडा कोशी प्रदेश एमालेका अध्यक्षसमेत हुन् । ओली निकट खतिवडा हाल मोरङ १ को चुनावी मैदानमा छन् ।  २०७० को प्रतिनिधिसभा निर्वाचनमा खतिवडा ३७ हजार ५२४ मत प्राप्त गरी विजयी भएका थिए । मोरङको उत्तरी भेगमा पर्ने मोरङ– १ लाई एमालेको बलियो आधार भएको क्षेत्र मानिने गरिन्छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने खतिवडा नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुसँग पराजित भए ।  फागुन २१ गते हुने निर्वाचनमा भने उनी गत निर्वाचनमा बेहोर्नु परेको हारलाई विजयमा बदल्ने दाउमा छन् । उनी लेटाङ नगरपालिका निवासी हुन् । शिक्षक, भूमिगत राजनीतिक कार्यकर्ता, तत्कालीन स्थानीय निकायको प्रतिनिधि हुँदै सामुदायिक वन र सहकारी अभियानमा समेत खतिवडाले काम गरेका छन् । जनमुखी काम गरेर अगाडि बढ्ने एजेण्डा बोकेको खतिवडा बताउँछन् । ‘स्थानीय विकास गर्नका लागि मजबुत नीति बनाउन पहल गर्नेछु,’ खतिवडाले भने, ‘जनतामुखी काम गर्नुपर्ने छ । सुशासनको पक्षमा वकालत गर्नु नै मेरो मुख्य एजेण्डा हो ।’ स्थानीय मतदाताको जीवनलाई सहज बनाउन आफूले काम गर्ने खतिवडाको भनाइ छ । मोरङ १ मा परिवर्तनको ठूलो हावा नचलेको दाबी उनको छ । ‘विगतको चुनावमा भन्दा यसपटक थोरै चुनौती ठानेको छु,’ उनले भने, ‘प्रतिस्पर्र्धी उम्मेदवारलाई मैले कमजोर ठानेको छैन ।’ कुनै पनि उम्मेदवार वा दललाई गाली नगरी मतदाताको घरमा पुगिरहेको उनको भनाइ छ । गाली र घृणा गरेर मलाई मत बटुल्ने चाहना नभएको उल्लेख गर्दै उनले राजनीतिलाई पेशा नभई सेवा बनाएकाले मतदाताको मत प्राप्त गर्ने बताए । अगिल्लो निर्वाचनमा २७ हजार २९७ मत प्राप्त गरी विजयी भएका नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले भने यसपटक टिकट पाएनन् । विशेष महाधिवेशनको पक्षमा नखुल्दा उनले टिकट नपाएका हुन् । उनी युवा तथा खेलकुदमन्त्रीसमेत भएका थिए । कांग्रेसबाट मोरङ– १ मा टिकट खड्ग फागोले पाएका छन् । उनी उर्लाबारी नगरपालिकाको पूर्वमेयरसमेत हुन् । २०७९ को स्थानीय निर्वाचनमा उनी ११ हजार ६३२ मत प्राप्त गरी उर्लाबारी नगरको मेयरमा निर्वाचित भएका थिए।  उनी नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्रीसमेत हुन् । फागो मोरङ तथा कोशी प्रदेशमा हक्की र निडर स्वभावका राजनीतिज्ञको रूपमा परिचित छन् । स्थानीय सरकार सञ्चालनको प्रत्यक्ष अनुभव, संकट व्यवस्थापनको व्यवहारिक अभ्यास र कानुनी प्रशासनिक प्रक्रियासँगको निकट संलग्नताले आफूलाई प्रतिनिधिसभाका लागि उपयुक्त बनाएको फागो बताउँछन् । उनी सडक, कृषि, सिँचाइ र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको एजेण्डा बोकेर मतदाताको घर आँगनमा पुगिरहेका छन् । ‘स्थलगत रूपमा देखिएका समस्याहरूलाई टिपोग गरेर मतदातासँग छलफल गर्छु,’ फागोले भने, ‘निर्वाचित भएको खण्डमा बजेट भाषणअघि मतदातासँग छलफल गरेर समस्याको समाधान गर्न अगाडि बढ्नेछु ।’ आफ्नो निर्वाचन क्षेत्र तराईदेखि पहाडसम्म पर्ने भएकाले पहाडमा उत्पादन भएका वस्तुहरू बजारीकरण गर्नलाई पहल गर्ने उनी बताउँछन् । मतदाताले कांग्रेसको उम्मेदवारलाई मत दिएर परिवर्तन गर्न खोजेको उनले बताए ।  ‘अन्य दलका मतदाताले मलाई दिन्छन् भने त्यो मत परिवर्तनको संकेत हो ।  प्रतिस्पर्धीको रूपमा मैले कुनै पनि उम्मेदवारलाई ठानेको छैन,’ फागोले भने ।  त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट यज्ञमणि न्यौपाने मैदानमा छन् । उनी सभापति रवि लामिछानेको विशेष अधिवक्ता पनि हुन् । पार्टीभित्र लामिछाने निकट भएकाले उनले मोरङ १ मा टिकट प्राप्त गरेका हुन् । उनी यस अगाडि  १ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले पाउँदै आएको मत आफूले पाउने बताउँछन् । पुराना दलबाट निराश र आजित भएका मतदाताहरूले न्यौपानेलाई भोट हाल्न सक्ने स्थानीय बताउँछन् । न्यौपाने वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घटाउन स्वदेशमै नयाँ–नयाँ कार्यक्रमहरू ल्याउने एजेन्डासहित घरदैलोमा व्यस्त छन् । त्यस्तैगरी, खोला किनारामा अव्यवस्थित बसोबास गरिरहेकालाई उचित व्यवस्थापन गरी लालपुर्जा दिने कानुन बनाउने वाचा पनि उनले गरेका छन् । त्यसैगरी, उनले खानेपानी र सडकका मुद्दालाई पनि आफ्नो एजेन्डा बनाएका छन् । त्यस्तै, चिस्यान केन्द्रको विकास गर्ने पनि एजेन्डा बनाएका छन् । अन्य उम्मेदवारहरू  खतिवडा, फागो र न्यौपानेबाहेक नेपाली कम्युनिस्ट पार्टीका कुलप्रसाद साम्बा, राप्रपाबाट पूर्णबहादुर वाइबा तामाङ, मंगल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बु, जनमुक्ति पार्टीबाट फिवराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गा कुमारी तामाङ,  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामा, मितेरी पार्टी नेपालबाट डिल्लीराम लिम्बु, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) बाट डिल्ली राम नेपाली उम्मेदवार रहेका छन् । त्यस्तै ईश्वर वाग्ले, पशुपति घिमिरे, प्रेम बर्देवा, मिलन भण्डारी र याम प्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार मोरङ १ मा १ लाख २८ हजार ५४५ मतदाता रहेका छन् । महिला ६५ हजार ५३ र पुरुष ६३ हजार ४९२ मतदाता छन् । मतदान स्थल ६० र मतदान केन्द्र १५१ वटा छन् । १ नम्बर क्षेत्रमा ४ वटा स्थानीय तह छन् । उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, केरा गाउँपालिका र मिक्लाजुङ गाउँपालिका रहेका छन् ।

नेकपाले नयाँ दललाई दियो ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’ को संज्ञा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ ।  पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’ सँग सम्बन्धित रहेको गम्भीर आरोप लगाएको छ ।  घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार भागमा वर्गीकरण गरिएको छ । नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा प्रस्तुत गर्दै समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा भएको दाबी गरेको छ ।  अर्कोतर्फ नेकपा एमाले र नेपाली कांग्रेसलाई ‘यथास्थितिवादी’ को संज्ञा दिँदै उनीहरूसँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको टिप्पणी गरिएको छ ।  पार्टीले विशेष गरी नयाँ उदाउँदा शक्तिहरू (पपुलिष्ट) माथि प्रहार गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘आफूलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन छ । यो भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको शक्ति हो।’ यस्ता शक्तिहरूले मुलुकका समस्या समाधान गर्न नसक्ने र उनीहरू देश र जनताको हितमा नरहेको दाबी नेकपाको छ । त्यसैगरी, राप्रपालाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा चित्रित गरिएको छ।  जनक्रान्तिद्वारा उखेलेर फ्याँकिएको सामन्ती राजतन्त्र फर्काउन खोज्ने यी शक्तिहरूले देशलाई पछाडि धकेल्ने चालबाजी गरिरहेको आरोप लगाइएको छ ।  विगतका जनसङ्घर्ष र राजनीतिक परिवर्तनको नेतृत्व आफूले गरेको दाबी गर्दै नेकपाले लोकतन्त्र, संघीयता र समावेशी प्रतिनिधित्व जस्ता अधिकारहरू आफ्नै कारण प्राप्त भएको उल्लेख गरेको छ ।  ‘हामीले व्यवस्था बदल्यौं, अब अवस्था पनि हामीले नै बदल्नेछौं,’ भन्दै नेकपाले अरू दलले गफ मात्र गर्ने तर आफूले काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेको छ । 

दैलेख–२ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ ४० वर्षे इतिहास

काठमाडौं । दैलेखको पश्चिम क्षेत्र दैलेख–२ को विगत चार दशकको राजनीतिक इतिहास हेर्दा यो क्षेत्र सधैं बहुदलीय प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको देखिन्छ । २०४८ देखि २०७९ सम्म सम्पन्न सातवटा प्रतिनिधि सभा निर्वाचनमध्ये तीनपटक नेपाली कांग्रेस, तीनपटक नेकपा एमाले र एकपटक नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यस क्षेत्रमा विजय हासिल गरेका छन् । यसले दैलेख–२ लाई कर्णालीकै राजनीतिक रूपमा संवेदनशील र प्रतिस्पर्धी निर्वाचन क्षेत्रका रूपमा चिनाएको छ । २०४८ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका रङ्गबहादुर शाहीले १६ हजार १८२ मतसहित जित निकाल्दा नेमकिपाका उम्मेदवार विनोदकुमार शाहले ११ हजार ८४८ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा एमालेका प्रेमबहादुर भण्डारीले ७७९ मत मात्रै पाएका थिए । २०५१ मा भने नेमकिपाका उनै विनोदकुमार शाह १३ हजार ६४० मतसहित निर्वाचित भए । त्यस चुनावमा कांग्रेस र राप्रपा क्रमशः दोस्रो र तेस्रो भए । पछि शाह एमाले प्रवेश गरेसँगै दैलेखमा नेमकिपाको प्रभाव क्रमशः कमजोर बन्दै गयो भने एमालेले प्रभाव बढाउँदै लग्यो । त्यसपछि कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा स्थापित हुन पुग्यो । २०५६ को निर्वाचनमा एमाले विभाजनको राम्रो प्रभाव दैलेखमा देखियो । कांग्रेसका शिवराज जोशी १८ हजार ८८२ मतसहित विजयी हुँदा एमालेबाट उम्मेदवार बनेका विनोदकुमार शाह १४ हजार ४४८ मत प्राप्त गरी पराजित भए । सो निर्वाचनमा अहिलेका एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल मालेबाट चुनाव लड्दै चौथो स्थान प्राप्त गर्न सफल भए ।  २०६० को दशकपछि कर्णालीका अन्य जिल्लामा माओवादीको उदय भए पनि दैलेख–२ मा भने एमाले प्रमुख शक्तिका रूपमा उभिन सफल भयो । दुल्लु विद्रोहको प्रभावका कारण माओवादी यहाँ निर्णायक बन्न नसकेको स्थानीयहरू बताउँछन् । कर्णालीमा माओवादी लहर आउँदा यस क्षेत्रमा २०६४ मा एमालेका राजबहादुर बुढा १६ हजार २९२ मतसहित निर्वाचित भए । २०७० मा एमालेकै लक्ष्मीप्रसाद पोखरेलले चुनाव जिते भने २०७४ मा वाम गठबन्धनका तर्फबाट बुढाले दोस्रोपटक २३ हजारभन्दा बढी मतसहित जित हात पारे ।  २०७९ मा भने वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दीक्पालकुमार शाही १६७ को झिनो मतान्तरले विजयी भएका थिए । शाहीका निकटतम प्रतिस्पर्धी एमालेका पोखरेलले २० हजार १६ ल्याएका थिए । २०७९ को समानुपातिक मत परिणाम हेर्दा यस क्षेत्रमा एमाले सबैभन्दा अगाडि देखिएको छ । एमालेले १७ हजार ३१६ मत ल्याएको थियो । कांग्रेसले १५ हजार ५०४ मत पाउँदा तत्कालीन नेकपा माओवादी केन्द्रले ६ हजार ३५४ मत ल्याएको थियो ।  ८१ हजार ९९ मतदाता रहेको यस क्षेत्रमा आगामी चुनावमा मत प्रतिशत घट्ने आँकलन गरिएको छ । यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ११ जना उम्मेदवार मैदानमा रहेका छन् ।  एमालेका लक्ष्मी प्रसाद पोखरेल अघिल्लो पराजयको बदला लिने दाउमा रहँदा कांग्रेसका दिक्पाल कुमार शाही जित दोहोर्याउने दाउमा छन् । नेकपाका योगेन्द्रबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बखतबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ववितकुमार शाही र नेमकिपाका बखतबहादुर थापा मैदानमा रहेका छन्। स्थानीयका अनुसार सबै दल एक्लाएक्लै मैदानमा उत्रिएका कारण १५ हजारभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुने सम्भावना रहेको छ । यद्यपि अन्तिम प्रतिस्पर्धा भने फेरि पनि एमाले र कांग्रेसबीच हुने देखिएको एक स्थानीय दावी गर्छन् । मत रुझानको आधारमा एमाले करिब ४५ सयदेखि ५ हजार मतले अगाडि देखिएको एमाले नेताहरूको बुझाइ रहेको छ । एमालेले आफ्नो आधार मत सुरक्षित गर्न सके परिणाम आफ्नो पक्षमा पार्न सक्ने एमाले नेता विष्णु रिजालको मत रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार शाही पनि आफूलाई जितको नजिक ठान्छन् । उनी भन्छन्, ‘बदलिएको कांग्रेसले देश बदल्न सक्छ । त्यसका लागि दैलेखमा कांग्रेसले जित्नुपर्छ ।’ यस अघिको जितले नै आफ्नो जित सुनिश्चित गरेको शाहीको दावी छ ।