काठमाडौं । भारतले नेपाल र भारतबीचको द्विपक्षीय तथा सीमासम्बन्धी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा प्रवक्ता रणधीर जैशवालले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्ति र त्यसपछि विकसित घटनाक्रमतर्फ लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले सम्बन्धित सबै पक्षले भारत र नेपालबीचको द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका हुँदैन भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने बताए ।
‘सम्बन्धित सबै पक्षले स्पष्ट रूपमा बुझ्नुपर्छ कि भारत र नेपालबीचको द्विपक्षीय विषयमा कुनै तेस्रो पक्षको भूमिका हुँदैन । सीमा सम्बन्धी सबै पक्षहरू समाधान गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौं,’ उनले भने ।
प्रवक्ता जैशवालले नेपाल र भारतबीचको करिब ९८ प्रतिशत सीमांकनको काम सम्पन्न भइसकेको जानकारी दिँदै केही खण्डहरू मात्र समाधान हुन बाँकी रहेको जानकारी दिए ।
उनका अनुसार मुख्यगरी गण्डक नदीको बहावको दिशा परिवर्तन भएका कारण सीमाका केही भागमा यस्तो प्राविधिक अवस्था उत्पन्न भएको हो ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारत–नेपाल सीमासम्बन्धी गरेको टिप्पणी र सो विषयमा नेपालको परराष्ट्र मन्त्रालयले पछि जारी गरेको स्पष्टीकरण वक्तव्यलाई आफूहरूले नजिकबाट हेरेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
यता नेपालमा भने प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको तथ्यगत आधार र प्रमाण सार्वजनिक गर्न माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्रीको भनाइ राष्ट्रिय महत्त्वको विषयसँग सम्बन्धित भएकाले त्यसबारे संसद्मा स्पष्ट जानकारी र प्रमाण प्रस्तुत गरिनुपर्ने विपक्षी दलहरूको अडान छ । उनीहरूले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे सरकारको आधिकारिक र औपचारिक धारणा के हो भनी स्पष्ट जवाफसमेत माग गरेका छन् ।