काठमाडौं । नेपाली कांग्रेसमा यतिबेला दुईथरी चटारो छ । सानेपामा १५औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व सपथको तयारीमा छ भने चुनदेवीमा देउवा समूह आफ्नै १५औं महाधिवेशनको तल्लो तहको अधिवेशनमा व्यस्त छ ।
गत पुस मसान्तमा विशेष महाधिवेशनबाट बनेको संस्थापनले १५औं महाधिवेशन सम्पन्न गर्दै गगनकुमार थापालाई सभापतिमा निर्वाचित गरिसकेको छ । उक्त पक्षले कात्तिक १८ गते निर्वाचित सदस्यहरूको सपथ ग्रहणको मिति तोकेको छ ।
अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भने आफ्नै कार्यतालिकामा १५औं महाधिवेशनको अधिवेशन गरिरहेको छ । सो समूहले १५ असोजबाट वडा अधिवेशन सुरु गरी १५ कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने लक्ष्य राखेको थियो ।
तर, लक्ष्यअनुसार प्रगति भएको छैन । चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार हालसम्म एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ९ जिल्लामा मात्र जिल्ला नेतृत्व चयन भएको छ । देशभर एक निर्वाचन क्षेत्र भएका ३५ जिल्ला छन् ।
‘अधिवेशन भइरहेको छ । पहिलो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका नौ जिल्लामा नेतृत्व चयन भएको छ । अन्य जिल्लामा पनि साथीहरू लागिराख्नु भएको छ,’ सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले बताए ।
सुदूरपश्चिम र कर्णालीमा प्रगति
तथ्यांक अनुसार देउवा समूहले सुदूरपश्चिमका दुई जिल्लामा अधिवेशन सकाएको छ । डोटीमा दिपायल सिलगढीका मेयर बाजीसिंह खड्का (विजय) र बैतडीमा सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर विष्ट सभापति बनेका छन् । सुदूरपश्चिममा एक निर्वाचन क्षेत्र भएका ६ जिल्ला– दार्चुला, बैतडी, बाजुरा, बझाङ, डडेल्धुरा र डोटी छन् ।
यस्तै, कर्णालीका ६ जिल्लामा अधिवेशन सकिएको छ । डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलकबहादुर मल्ल, कालिकोटमा नगेन्द्र विष्ट र रुकुम पश्चिममा नन्दबहादुर विष्ट सभापतिमा निर्वाचित भएका छन् ।
कालिकोटमा निर्वाचित विष्ट नरहरिनाथ गाउँपालिका अध्यक्ष हुन् । कर्णालीका १० जिल्लामध्ये ८ जिल्लामा एकमात्र निर्वाचन क्षेत्र छ । दैलेखको अधिवेशन कात्तिक १२ गते हुँदैछ ।
यसैगरी कोशी प्रदेशको संखुवासभामा रामकुमार जिमी सभापतिमा निर्वाचित भएका छन् ।
बाढी-पहिरोले कार्यतालिका प्रभावित
देउवा समूहले गत भदौ १७ र १८ गते बसेको बैठकबाट मंसिर २१ देखि २३ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, तल्लो तहको अधिवेशन समयमा नसकिँदा महाधिवेशन लम्बिने देखिएको छ ।
‘निर्णय गरेपछि बाढी–पहिरो आयो, त्यसले डिस्टर्ब भयो । तल्लो तहको अधिवेशनका लागि केही समय थप गर्नुपर्ने देखिएको छ,’ १४औं महाधिवेशनका केन्द्रीय सदस्य समेत रहेका देउवा पक्षीय नेता गुरु बरालले बताए ।
कति सकियो, कति बाँकी ?
चुनदेवी कार्यालयको तथ्यांक अनुसार देशभरका ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार १ सय ७ वडामा अधिवेशन सम्पन्न भएको छ । ६३६ वडा बाँकी छन् ।
यस्तै, ७ सय ५३ पालिकामध्ये ४ सय ८० पालिकामा अधिवेशन सकिएको छ भने २७३ पालिकामा अझै हुन सकेको छैन । कोशीका ८९, मधेशका ५४, बागमतीका ७०, गण्डकीका ५०, लुम्बिनीका ८६, कर्णालीका ५५ र सुदूरपश्चिमका ७६ पालिकामा अधिवेशन भएको हो ।
यसैगरी १७० प्रदेशसभा निर्वाचन क्षेत्र र ८५ प्रतिनिधिसभा क्षेत्रमा पनि अधिवेशन सम्पन्न भएको कार्यालयले जनाएको छ ।