रसुवा बाढीको २५ दिनपछि आमाछोरीको मिलन
काठमाडौं । भदौ १० गते चीनतर्फबाट अचानक आएको बाढीले रसुवाको नौबिसेमा बस्ने जानुका आचार्यको परिवारलाई क्षणभरमै अस्तव्यस्त बनायो । बाढीको सूचना पाएलगत्तै श्रीमान्, छोरा र उनी ज्यान जोगाउन भागे । तर, विद्यालय पठाइसकेकी १४ वर्षीया छोरी कहाँ छिन् भन्ने उनीहरूलाई केही थाहा थिएन । त्यो दिन उनीहरूले सम्पत्ति जोगाउने प्रयास गरेनन्, ज्यान जोगाउन मात्रै दौडिए । सम्पत्ति सबै बाढीले बगायो, तर परिवारका सदस्य भने बाँचे । अझ ठूलो राहत त त्यतिबेला मिल्यो, जब विद्यालय गएकी छोरी पनि बाढीबाट उम्किएर नुवाकोट पुगेको खबर आयो । उत्तरगया गाउँपालिका-५, नौबिसेकी ३७ वर्षीया जानुका आचार्य भदौ १० गते बिहान उठेर सधैँझैँ घरायसी काममा व्यस्त थिइन् । उनका दुई छोरी, एक छोरा र श्रीमानसहित पाँच जनाको परिवार नौबिसेमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको थियो । जेठी छोरी भने कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनका लागि यसै वर्षदेखि काठमाडौंमा बस्दै आएकी थिइन् । बिहान उनले कक्षा ८ मा अध्ययनरत कान्छी छोरीलाई खाना खुवाएर विद्यालय पठाइन् । त्यसको केहीबेरमै चीनतर्फबाट ठूलो बाढी आएको खबर गाउँमा फैलियो । बाढीको सूचना पाएपछि आचार्य श्रीमान् र छोरासहित ज्यान जोगाउन माथिल्लो भेगतर्फ दौडिइन् । शरीरमा भएको एकसरो लुगाबाहेक केही लैजान सकिनन् । ‘त्यो दिन सम्पत्तिको आस मारेर भागेकै कारण हामी तीन जनाको ज्यान जोगियो,’ उत्तरगया गाउँपालिका–५ मा रहेको सामुदायिक भान्छा घरमा आश्रय लिइरहेकी आचार्यले विकासन्युजसँग भनिन् । जानुका आचार्य । तर, आफूहरू भागेपछि विद्यालय पठाएकी छोरीको अवस्था के भयो भन्ने उनलाई थाहा थिएन । बाढीले छोरीलाई पनि बगायो कि भन्ने चिन्ताले उनलाई सताइरहेको थियो । ‘हामीले त ज्यान जोगायौं । स्कुल पठाएकी छोरीलाई बाढीले लग्यो भन्ने खुब पिर लाग्यो,’ उनले भनिन् । तर, भाग्यले उनको परिवारलाई अर्को ठूलो पीडाबाट जोगायो । बाढी आएको खबर सुनेपछि १४ वर्षीया छोरी पनि ज्यान जोगाउन विद्यालयबाट भागेकी रहिछन् । उनी भाग्दै नुवाकोट पुगेकी थिइन् । त्यहाँ रहेका मामाघरका आफन्तले उनको उद्धार गरेका थिए । ‘छोरीले पनि धन्न बुद्धि पु¥याएर भागिछे । हामी सबै परिवारको ज्यान त जोगियो, सम्पत्ति भने केही बाँकी रहेन,’ आचार्यले भनिन्, ‘छोरी ज्यान जोगाउन भाग्दा नुवाकोट पुगेकी रहिछ । नुवाकोटमा मेरो माइतीले उनको उद्धार गर्नुभयो ।’ तर, आमाछोरीको भेट भने तत्काल हुन सकेन । बाढीले सडक र पुल बगाएपछि दुई जिल्लाबीचको आवागमन टुटेको थियो । करिब २५ दिनपछि फलाखु खोलामा अस्थायी फड्के बनेपछि मात्रै आचार्यले आफ्नी छोरीलाई भेट्न पाइन् । २५ दिनपछि आमाछोरीको भेट हुँदा आचार्यले खुसी साट्दै भनिन्, ‘फड्के बनेपछि बल्ल छोरीलाई भेट्न पाएँ ।’ अहिले आचार्यको परिवार उत्तरगया गाउँपालिका-५ मा रहेको होल्डिङ सेन्टरमा जसोतसो गुजारा गरिरहेको छ । बाढीले घर, व्यवसाय र सम्पत्तिसहित जीवनको आधार नै खोसेपछि उनले सरकारसँग तत्काल पुनर्वासको व्यवस्था गरिदिन माग गरेकी छन् । ‘अहिले त जसोतसो गुजारा चलाइरहेका छौं । सरकारले जतिसक्दो छिटो पुनर्वासको व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भनिन् । बाढीले पुल बगायो, फड्केले जोड्यो दुई जिल्ला भदौ १० गते अकस्मात आएको भोटेकोशी बाढीले रसुवा र नुवाकोट जोड्ने सडक, पुल तथा आसपासका बस्तीमा ठूलो क्षति पु¥यायो । बाढीले झोलुङ्गे तथा पक्की पुलहरू बगाएपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कसमेत टुट्यो । बेत्रावती, त्रिशूली बजार, टिमुरेलगायतका पुराना बजार तथा बस्तीसमेत बाढीबाट प्रभावित बने । सडक तथा पुलको सम्पर्क टुटेपछि रसुवा र नुवाकोटका नागरिकको आवागमन, दैनिक जीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको थियो । दुई जिल्लाबीचको सम्पर्क पुनःस्थापित गर्न सरकारले बेलिब्रिज, तुईन तथा तत्काल निर्माण गर्न सकिने अन्य अस्थायी संरचना निर्माणको काम अघि बढाएको छ । यसै क्रममा रसुवा र नुवाकोटको संगमस्थल उत्तरगया गाउँपालिका-५, बेत्रावतीस्थित फलाखु खोलामा रहेका दुई पक्की पुल भोटेकोशी बाढीले बगाएपछि पूर्ण रूपमा रोकिएको आवागमन अहिले काठ र बाँसबाट बनाइएको अस्थायी फड्केबाट सञ्चालन हुन थालेको छ । फड्के बनेपछि रसुवा र नुवाकोटका स्थानीय पैदलमार्फत वारपार गर्न थालेका छन् । यसले बाढीका कारण छुट्टिएका परिवारलाई भेटघाट गर्न तथा अत्यावश्यक कामका लागि आवतजावत गर्न सहज भएको स्थानीय बताउँछन् । ‘हामी स्थानीय, पालिकाका जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर फड्के बनायौं । यसले कमसेकम माइती–मावली यता–उता छुटेकालाई वारपार गर्न सजिलो भएको छ,’ स्थानीय दिल्लिनाथ खतिवडाले बताए । उनका अनुसार बाढीको सूचना पाएपछि ज्यान जोगाउन नुवाकोट र रसुवातर्फ पुगेका कतिपय जिल्लावासी सडक तथा पुल सम्पर्क विच्छेद भएपछि उतै अड्किएका थिए । फड्के बनेपछि उनीहरू आफ्नो जिल्ला फर्किएर परिवारसँग भेट्न पाएका छन् । ‘बाढीले यहाँको पुल बगाएपछि तीन सातासम्म खोला वारपार गर्न सक्ने स्थिति थिएन । अस्ति यहीँमाथि बनाएको फड्के त्यही दिन राति आएको बाढीले बगायो । फेरि यहाँ बनायौँ,’ खतिवडाले भने । उनका अनुसार फलाखु खोला तरेपछि करिब दुई–ढाई घण्टाको पैदल यात्रामा पृथ्वीराजमार्ग पुग्न सकिन्छ । त्यसैले यो अस्थायी फड्के रसुवावासीका लागि राजधानी काठमाडौंलगायत अन्य स्थानतर्फ जान महत्वपूर्ण बनेको छ । ‘वारिपारि आउजाउ गर्ने केही नभएको बेला यसले साह्रै सजिलो बनाएको छ,’ उनले भने । तर, अस्थायी फड्के आफैंमा जोखिममुक्त भने छैन । बाँस र काठ जोडेर बनाइएको साँघुरो संरचनामा एकैपटक धेरै मानिस वारपार गर्दा जोखिम बढ्ने भएकाले स्थानीयले सावधानी अपनाउन आग्रह गरिरहेका छन् । कुराकानीकै क्रममा एकैपटक पाँच–सात जना फड्के तर्न थालेपछि खतिवडाले उनीहरूलाई रोकेर एक–एक जना मात्रै वारपार गर्न सुझाए । एक साताभित्र बेलिब्रिज जोडिने अपेक्षा अस्थायी फड्केले तत्कालका लागि पैदल आवागमन सहज बनाए पनि दीर्घकालीन रूपमा भने पक्की संरचना आवश्यक छ । उत्तरगया गाउँपालिकाकी उपप्रमुख चमेली गुरुङका अनुसार फलाखु खोलामा बेलिब्रिज जडानको काम अघि बढिरहेको छ । ‘खोलाको दुवैतर्फ पहिलेको एक पुलको बेस भेटिएको छ । त्यसैबाट बेलिब्रिज हाल्ने हो । सामान सबै आर्मी क्याम्पमा आइसकेको छ । अब हप्तादिनमा बेलिब्रिज जोडिन्छ होला,’ उनले भनिन् । बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवा र नुवाकोटबीचको सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ । त्यसले बाढीपछि टुटेको आवागमनसँगै दैनिक जीवन, व्यापार, उपचार, शिक्षा र अत्यावश्यक सेवाका लागि हुने यात्रालाई समेत सहज बनाउनेछ । चमेली गुरुङ । तर, जानुका आचार्यजस्ता बाढीपीडितका लागि पुल र सडक जोडिनु मात्रै पर्याप्त छैन । बाढीले घर र व्यवसायसँगै जीविकोपार्जनको आधार नै बगाएपछि उनीहरू अहिले पुनःस्थापना र पुनर्वासको प्रतीक्षामा छन् । आमाछोरी २५ दिनपछि भेटिए पनि उनीहरूको परिवारले गुमाएको जीवन फेरि उभ्याउन अझै लामो बाटो तय गर्नुपर्नेछ । तस्बिर ः नरेश बाेहरा ।
सिलिन्डर भरी, बजार खाली
काठमाडौं । गत असारको ३१ गतेदेखि नेपाल आयल निगमले १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डरको पुनः वितरण सुरु गर्यो । तर, वितरणको १५ दिन नबित्दै गत बिहीबारदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरमा ग्यासको हाहाकार मच्चिएको छ । यही समस्याको मारमा परेका छन् कीर्तिपुरमा डेरा गरी बस्दै आएका दैलेखका गौरव सिजापति । सिजापति स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् । फुर्सदको समयमा उनी कन्टेन्ट क्रियट गर्दै आफ्नो गुजार चलाउँदै आएका छन् । तर, शनिबारदेखि उनले प्रयोग गर्दै आएको एलपी ग्यास सकियो । तीन दिनदेखि ग्यास नपाएपछि यतिबेला उनलाई पेट भर्नकै लागि साथीको घर तथा डेरा चहार्नु परेको छ । ‘कीर्तिपुरको डेरामा हामी दुईजना साथी बस्छौं । हामी विद्यार्थी घरबाट अड्कलेर पठाएको पैसाले चल्नुपर्छ । हामीसँग २/३ वटा सिलिण्डर हुँदैन,’ उनी थप्छन्, ‘तीन दिनदेखि ग्यास सकिँदा खानाका लागि भौँतारिनु परेको छ । साथै यसले हाम्रो काममा पनि बाधा उत्पन्न गरेको छ ।’ नागरिकका समस्या जुन सरकार आएपनि नफेरिनु दुःखद रहेको उनको अनुभव छ । ‘कीर्तिपुरका धेरै पसलमा ग्यास छ तर नाम लेखाएकोलाई मात्र दिने भन्नुभयो । गुनासो गर्न पनि खोजे कसलाई गर्ने, के भन्ने दोधारमा छौं,’ उनले भने । कीर्तिपुरबाटै टेकु साल्ट ट्रेडिङको प्राङ्गणमा भेटिएका अर्का उपभोक्ता विकास बुडा भन्छन्, ‘सामाजिक सञ्जालमा ग्यास अभावको समाचार नआउँदासम्म छ भन्ने पसलेले भोलिपल्टै जाँदा छैन भन्छन्, यो कालोबजारी नभएर के हो ? रातारात ग्यास कसरी सकिन्छ ?’ काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिने सर्वसाधारणको लाइन सरकारले कालोबजारी नियन्त्रण गर्न नसक्दा नागरिकले सास्ती पाएको उनको गुनासो छ । ग्यास अभाव झेलिरहेका नागरिक सडकमा नआउँदै समाधानमा लाग्न उनले सरकारको ध्यानाकर्षणसमेत गराए । काठमाडौंको डल्लुमा बस्दै आएकी निरमाया तामाङ ३ घण्टादेखि लाइनमा छिन् । दुई सन्तान र परिवारका लागि खाना तयार गर्नुपर्ने जिम्मेवारीमा रहेकी तामाङलाई भरेबाटै कसरी खाना पकाउने भन्ने चिन्ताले पिरोलेको छ । ‘मेरो एभरेष्ट ग्यास हो, त्यसको कोटा दिनको २४० वटा मात्रै हो भन्छन् । ८० वटा बाँडिसक्नुभएछ । अब १६० वटा मात्रै बाँकी छ रे, मेरो १६५ नम्बर परेको छ,’ लामो सास तान्दै उनले भनिन्, ‘म पछाडि अझै ३५/४० जना हुनुहुन्छ त्यही पनि केही व्यवस्था हुन्छ र खाना पकाएर घरपरिवार र बालबच्चाको पेट भराउन सकिन्छ कि भनेर बसेकी छु ।’ सधैं ग्यास लैजाने पसलमा पनि हप्ता दिनदेखि नाम टिपाएर पालो राख्दा समेत ग्यास नपाएको उनले सुनाइन् । ७० वर्षीय वृद्ध उमेरका नरेशमान भण्डारी पनि सोही लाइनमा उभिएका थिए । ८ घण्टादेखि लाइन बसेपछि बल्ल ग्यास पाउनेमा उनले आफ्नो थकान बिर्सिएको भन्दै खुसी साटे । ‘कता–कता लुकाउने हो कि के हो निगमले ग्यास पुग्ने भन्दा पनि हामी बुढो मान्छेलाई यस्तो सास्ती छ । धन्न पाउने भएँ,’ उनले भने । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा समेत सांसदहरूले एलपी ग्यासको अभाव र मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराए । ‘भारतमा एलपी ग्यासको मूल्य पटक–पटक घटेपनि नेपालमा नेपाल आयल निगमले घाटाको कारण देखाउँदै मूल्य घटाएको छैन । ग्यास अभावका कारण स्थानीय नागरिक र होटल व्यवसायी समस्यामा परेका छन्,’ प्रभावित क्षेत्रमा तत्काल सहज आपूर्तिको व्यवस्था गर्न बैठकमा बोल्दै सरकारसँग नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले माग गरे । सांसद विष्णुकुमारी सापकोटाले सरकारको ध्यानाकर्षण गराउँदै भनिन्, ‘ग्यासको मूल्य यथावत भनिएता पनि नागरिकले सहज रूपमा पाएका छैनन् । सरकारले नागरिकका अत्यावश्यक दैनिकीप्रति चासो देखाएको पाइँदैन, सरकार गम्भीर छैन । चाडबाडको मुखमा विकल्प खोजेर भए पनि नागरिकको नैसर्गिक अधिकारप्रति सरकारको गम्भीर ध्यान केन्द्रित होस् ।’ सांसद श्रीकृष्णप्रसाद अधिकारी लगायत सांसदहरूले बढ्दो महँगी नियन्त्रण, एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार असफल भएको दाबी गरे । अमेरिका, इजरायल–इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थापछि निगमले २९ फागुन २०८२ देखि आधा सिलिण्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको ४ महिनापछि आपूर्तिमा कुनै समस्या नआउने भन्दै ३१ असार २०८३ देखि निगमले साविककै १४.२ केजी ग्यास दिने निर्णय गरेको थियो । तर निगमले उक्त निर्णय गरेको १५ दिनपनि नबित्दै बजारमा उपभोक्ता ग्यासका लागि भौतारिनुपरेको छ । बजारमा देखिएको ग्यास आपूर्तिको उक्त समस्याबारे विकासन्यूजले प्रश्न गर्दा नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले कोटाअनुरूप बजारमा ग्यास आपूर्ति भइरहेको बताए। ‘विगतको वर्षको माघ-फाल्गुनमा पनि ग्यास अभावको कुरा आए । त्यहीबेला मध्यपूर्वको युद्ध सुरु गर्यो, त्यसपछि उपभोक्ताले प्यानिक बाइङ्ग गरेर समाचार आएको थियो । अहिले पनि अवस्था त्यही हो तर अभाव छैन,’ उनले दाबीका साथ भने । सो समय सरदरभन्दा ५ प्रतिशत बढी ५१ प्रतिशत ग्यास बजारमा पठाउँदा पनि उपभोक्ताको गुनासो उस्तै रहेको उनले स्मरण गर्दै सुनाए । त्यसपछि गत वर्षको फागुन २९ गते आधा सिलिण्डर ७.१ किलोमा जाने निर्णय गरिएको उनको भनाइ छ । गत चैतमा भने ३६ मेट्रिक टनले बजार माग पुरा गरेको निगमको रेकर्ड छ । प्रवक्ता ठाकुरका अनुसार विगत २ वर्षको तथ्यांङ्क हेर्दा नेपाली बजारमा मासिक ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास मासिक खपत हो । उक्त मागअनुसार निगमले यतिबेला पनि बजारमा ग्यास आपूर्ति गर्दै आएको उनको भनाइ छ । ‘असार ३१ गते निगमले निर्णय गरेपछि ४५ देखि ४६ हजार मेट्रिक टन ग्याँस अहिले पनि बजारमा पठाएका छौं । यो त बजारमा रहेका खाली सिलिण्डर एकैपटक फुलफिल गर्दाको परिणाम हो,’ उनले भने । डिलरले कालोबजारी गर्दै ग्यास लुकाउँदा समस्या भएको गुनासोबारे बुझ्दा प्रवक्ता ठाकुरले निगमले छानबिनको तयारी गरिरहेको जानकारी दिए । यस्तै, प्रवक्ता ठाकुरले ग्यासको अभाव नहुने हुँदा अत्यावश्यक बाहेकको हकमा भर्न हतार नगर्न उपभोक्तालाई सुझावसमेत दिए ।