रसुवा बाढीको २५ दिनपछि आमाछोरीको मिलन

काठमाडौं । भदौ १० गते चीनतर्फबाट अचानक आएको बाढीले रसुवाको नौबिसेमा बस्ने जानुका आचार्यको परिवारलाई क्षणभरमै अस्तव्यस्त बनायो । बाढीको सूचना पाएलगत्तै श्रीमान्, छोरा र उनी ज्यान जोगाउन भागे । तर, विद्यालय पठाइसकेकी १४ वर्षीया छोरी कहाँ छिन् भन्ने उनीहरूलाई केही थाहा थिएन । 

त्यो दिन उनीहरूले सम्पत्ति जोगाउने प्रयास गरेनन्, ज्यान जोगाउन मात्रै दौडिए । सम्पत्ति सबै बाढीले बगायो, तर परिवारका सदस्य भने बाँचे । अझ ठूलो राहत त त्यतिबेला मिल्यो, जब विद्यालय गएकी छोरी पनि बाढीबाट उम्किएर नुवाकोट पुगेको खबर आयो । 

उत्तरगया गाउँपालिका-५, नौबिसेकी ३७ वर्षीया जानुका आचार्य भदौ १० गते बिहान उठेर सधैँझैँ घरायसी काममा व्यस्त थिइन् । उनका दुई छोरी, एक छोरा र श्रीमानसहित पाँच जनाको परिवार नौबिसेमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको थियो । जेठी छोरी भने कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनका लागि यसै वर्षदेखि काठमाडौंमा बस्दै आएकी थिइन् ।

बिहान उनले कक्षा ८ मा अध्ययनरत कान्छी छोरीलाई खाना खुवाएर विद्यालय पठाइन् । त्यसको केहीबेरमै चीनतर्फबाट ठूलो बाढी आएको खबर गाउँमा फैलियो । 

बाढीको सूचना पाएपछि आचार्य श्रीमान् र छोरासहित ज्यान जोगाउन माथिल्लो भेगतर्फ दौडिइन् । शरीरमा भएको एकसरो लुगाबाहेक केही लैजान सकिनन् । 

‘त्यो दिन सम्पत्तिको आस मारेर भागेकै कारण हामी तीन जनाको ज्यान जोगियो,’ उत्तरगया गाउँपालिका–५ मा रहेको सामुदायिक भान्छा घरमा आश्रय लिइरहेकी आचार्यले विकासन्युजसँग भनिन् । 

nullजानुका आचार्य । 

तर, आफूहरू भागेपछि विद्यालय पठाएकी छोरीको अवस्था के भयो भन्ने उनलाई थाहा थिएन । बाढीले छोरीलाई पनि बगायो कि भन्ने चिन्ताले उनलाई सताइरहेको थियो । 

‘हामीले त ज्यान जोगायौं । स्कुल पठाएकी छोरीलाई बाढीले लग्यो भन्ने खुब पिर लाग्यो,’ उनले भनिन् । 

तर, भाग्यले उनको परिवारलाई अर्को ठूलो पीडाबाट जोगायो । बाढी आएको खबर सुनेपछि १४ वर्षीया छोरी पनि ज्यान जोगाउन विद्यालयबाट भागेकी रहिछन् । उनी भाग्दै नुवाकोट पुगेकी थिइन् । त्यहाँ रहेका मामाघरका आफन्तले उनको उद्धार गरेका थिए ।

‘छोरीले पनि धन्न बुद्धि पु¥याएर भागिछे । हामी सबै परिवारको ज्यान त जोगियो, सम्पत्ति भने केही बाँकी रहेन,’ आचार्यले भनिन्, ‘छोरी ज्यान जोगाउन भाग्दा नुवाकोट पुगेकी रहिछ । नुवाकोटमा मेरो माइतीले उनको उद्धार गर्नुभयो ।’

तर, आमाछोरीको भेट भने तत्काल हुन सकेन । बाढीले सडक र पुल बगाएपछि दुई जिल्लाबीचको आवागमन टुटेको थियो । करिब २५ दिनपछि फलाखु खोलामा अस्थायी फड्के बनेपछि मात्रै आचार्यले आफ्नी छोरीलाई भेट्न पाइन् । 

२५ दिनपछि आमाछोरीको भेट हुँदा आचार्यले खुसी साट्दै भनिन्, ‘फड्के बनेपछि बल्ल छोरीलाई भेट्न पाएँ ।’

अहिले आचार्यको परिवार उत्तरगया गाउँपालिका-५ मा रहेको होल्डिङ सेन्टरमा जसोतसो गुजारा गरिरहेको छ । बाढीले घर, व्यवसाय र सम्पत्तिसहित जीवनको आधार नै खोसेपछि उनले सरकारसँग तत्काल पुनर्वासको व्यवस्था गरिदिन माग गरेकी छन् । 

‘अहिले त जसोतसो गुजारा चलाइरहेका छौं । सरकारले जतिसक्दो छिटो पुनर्वासको व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भनिन् । 

null

बाढीले पुल बगायो, फड्केले जोड्यो दुई जिल्ला

भदौ १० गते अकस्मात आएको भोटेकोशी बाढीले रसुवा र नुवाकोट जोड्ने सडक, पुल तथा आसपासका बस्तीमा ठूलो क्षति पु¥यायो । बाढीले झोलुङ्गे तथा पक्की पुलहरू बगाएपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कसमेत टुट्यो । 

बेत्रावती, त्रिशूली बजार, टिमुरेलगायतका पुराना बजार तथा बस्तीसमेत बाढीबाट प्रभावित बने । सडक तथा पुलको सम्पर्क टुटेपछि रसुवा र नुवाकोटका नागरिकको आवागमन, दैनिक जीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको थियो । 

दुई जिल्लाबीचको सम्पर्क पुनःस्थापित गर्न सरकारले बेलिब्रिज, तुईन तथा तत्काल निर्माण गर्न सकिने अन्य अस्थायी संरचना निर्माणको काम अघि बढाएको छ ।

यसै क्रममा रसुवा र नुवाकोटको संगमस्थल उत्तरगया गाउँपालिका-५, बेत्रावतीस्थित फलाखु खोलामा रहेका दुई पक्की पुल भोटेकोशी बाढीले बगाएपछि पूर्ण रूपमा रोकिएको आवागमन अहिले काठ र बाँसबाट बनाइएको अस्थायी फड्केबाट सञ्चालन हुन थालेको छ ।

null

फड्के बनेपछि रसुवा र नुवाकोटका स्थानीय पैदलमार्फत वारपार गर्न थालेका छन् । यसले बाढीका कारण छुट्टिएका परिवारलाई भेटघाट गर्न तथा अत्यावश्यक कामका लागि आवतजावत गर्न सहज भएको स्थानीय बताउँछन् । 

‘हामी स्थानीय, पालिकाका जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर फड्के बनायौं । यसले कमसेकम माइती–मावली यता–उता छुटेकालाई वारपार गर्न सजिलो भएको छ,’ स्थानीय दिल्लिनाथ खतिवडाले बताए ।

उनका अनुसार बाढीको सूचना पाएपछि ज्यान जोगाउन नुवाकोट र रसुवातर्फ पुगेका कतिपय जिल्लावासी सडक तथा पुल सम्पर्क विच्छेद भएपछि उतै अड्किएका थिए । फड्के बनेपछि उनीहरू आफ्नो जिल्ला फर्किएर परिवारसँग भेट्न पाएका छन् । 

‘बाढीले यहाँको पुल बगाएपछि तीन सातासम्म खोला वारपार गर्न सक्ने स्थिति थिएन । अस्ति यहीँमाथि बनाएको फड्के त्यही दिन राति आएको बाढीले बगायो । फेरि यहाँ बनायौँ,’ खतिवडाले भने । 

null

उनका अनुसार फलाखु खोला तरेपछि करिब दुई–ढाई घण्टाको पैदल यात्रामा पृथ्वीराजमार्ग पुग्न सकिन्छ । त्यसैले यो अस्थायी फड्के रसुवावासीका लागि राजधानी काठमाडौंलगायत अन्य स्थानतर्फ जान महत्वपूर्ण बनेको छ ।

‘वारिपारि आउजाउ गर्ने केही नभएको बेला यसले साह्रै सजिलो बनाएको छ,’ उनले भने ।

तर, अस्थायी फड्के आफैंमा जोखिममुक्त भने छैन । बाँस र काठ जोडेर बनाइएको साँघुरो संरचनामा एकैपटक धेरै मानिस वारपार गर्दा जोखिम बढ्ने भएकाले स्थानीयले सावधानी अपनाउन आग्रह गरिरहेका छन् । 

कुराकानीकै क्रममा एकैपटक पाँच–सात जना फड्के तर्न थालेपछि खतिवडाले उनीहरूलाई रोकेर एक–एक जना मात्रै वारपार गर्न सुझाए ।

null

एक साताभित्र बेलिब्रिज जोडिने अपेक्षा

अस्थायी फड्केले तत्कालका लागि पैदल आवागमन सहज बनाए पनि दीर्घकालीन रूपमा भने पक्की संरचना आवश्यक छ । उत्तरगया गाउँपालिकाकी उपप्रमुख चमेली गुरुङका अनुसार फलाखु खोलामा बेलिब्रिज जडानको काम अघि बढिरहेको छ ।

‘खोलाको दुवैतर्फ पहिलेको एक पुलको बेस भेटिएको छ । त्यसैबाट बेलिब्रिज हाल्ने हो । सामान सबै आर्मी क्याम्पमा आइसकेको छ । अब हप्तादिनमा बेलिब्रिज जोडिन्छ होला,’ उनले भनिन् । 

बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवा र नुवाकोटबीचको सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ । त्यसले बाढीपछि टुटेको आवागमनसँगै दैनिक जीवन, व्यापार, उपचार, शिक्षा र अत्यावश्यक सेवाका लागि हुने यात्रालाई समेत सहज बनाउनेछ ।

nullचमेली गुरुङ । 

तर, जानुका आचार्यजस्ता बाढीपीडितका लागि पुल र सडक जोडिनु मात्रै पर्याप्त छैन । बाढीले घर र व्यवसायसँगै जीविकोपार्जनको आधार नै बगाएपछि उनीहरू अहिले पुनःस्थापना र पुनर्वासको प्रतीक्षामा छन् । आमाछोरी २५ दिनपछि भेटिए पनि उनीहरूको परिवारले गुमाएको जीवन फेरि उभ्याउन अझै लामो बाटो तय गर्नुपर्नेछ । तस्बिर ः नरेश बाेहरा । 

Share News