गुल्मी कांग्रेसको जिल्ला अधिवेशन कात्तिक २० गते, क्षेत्रीय अधिवेशन १४ र १५ मा

काठमाडौं । नेपाली कांग्रेस गुल्मीको १५औँ नियमित महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन कात्तिक २० गते हुने भएको छ।

नियमित केन्द्रीय महाधिवेशन तयारी समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । समितिका संयोजक वेदबहादुर थापामगरले पार्टीको सङ्गठन सुदृढीकरण र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि अधिवेशन गर्न लागिएको बताए ।

तयारी समितिले नियमित महाधिवेशनलाई पार्टीको स्वाभाविक र आधिकारिक प्रक्रिया भएको दाबी गरेको छ । जिल्ला सचिव रविन्द्र घिमिरेका अनुसार पार्टीको ऐतिहासिक विरासत, मूल जिम्मेवारी र स्वाभाविक विधि तथा प्रक्रियाका हिसाबले नियमित महाधिवेशन नै पार्टीको आधिकारिक मूल प्रवाह हो ।

घिमिरेका अनुसार बीपी कोइरालाले अघि सारेको राष्ट्रियता र प्रजातन्त्रबीचको सहकार्यलाई आत्मसात् गर्दै पार्टी १५औँ महाधिवेशनको तयारीमा लागेको हो । लोकतन्त्रको संस्थागत विकास, विधिको शासन, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षमा उभिन पनि नियमित १५औँ महाधिवेशनका पक्षमा दृढ रहन घिमिरेले आग्रह गरे ।

गुल्मी कांग्रेसले अधिवेशन सफल बनाउन पार्टीका सदस्य, शुभेच्छुक र समर्थकसहित अन्य राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकाय, पत्रकार तथा सङ्घसंस्थालाई सहयोग र सहभागिताका लागि अपिल गरेको छ ।

अधिवेशनको कार्यतालिकाअनुसार कात्तिक १४ गते क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन हुने सचिव घिमिरेले जानकारी दिए । उनका अनुसार कात्तिक १५ गते क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन हुनेछ भने कात्तिक २० गते जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

कांग्रेस गुल्मीले यसअघि नै वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिएको छ । 

Share News