एमालेको राष्ट्रिय भेलामा ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । आगामी मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामार्फत नेकपा एमालेले पार्टीभित्र एकताको सन्देश प्रवाह गर्दै संगठनलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने तयारी गरेको छ । 

भेलामा देशभरबाट ३ हजार १६४ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

भेलाको तयारीका लागि मंगलबार (आज) केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो । 

बैठकमा पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु भेलाको मुख्य उद्देश्य रहने बताए ।

बैठकमा उपस्थित एक नेताका अनुसार बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गरेका थिए । 

उक्त बैठकले गरेको निर्णयको मर्मअनुसार पार्टी पङ्क्तिलाई उत्साहित बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न राष्ट्रिय भेला सफल हुने उनको विश्वास थियो ।

एमालेले २०८२ सालको निर्वाचन परिणामलाई क्षणिक र अस्थायी धक्काका रूपमा लिएको उल्लेख गर्दै पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले आफ्नो प्रभाव र सामर्थ्य व्यवहारबाटै प्रमाणित गर्नुपर्नेमा जोड दिए ।

पार्टीलाई आगामी राजनीतिक चुनौती सामना गर्न तयार पार्नुपर्ने उल्लेख गर्दै उनले आन्दोलन र निर्वाचन दुवैका लागि तयारी अवस्थामा रहन नेता–कार्यकर्तालाई आग्रह गरेका थिए ।

सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ, पौडेलले बैठकलाई सम्वोधन गर्दै भनेका थिए ।

बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे । 

भेलाको सन्देश पार्टी पङ्क्तिमा मात्रै सीमित नराखी जनस्तरसम्म पुर्याउन व्यापक प्रचारप्रसारमा जुट्नुपर्ने उनको भनाइ थियो ।

बैठकको अध्यक्षता गरेका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराएका थिए ।

ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् । 

त्यस्तै, जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ । यसमा ७७ भुगोल जिल्ला कमिटी, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लाका प्रतिनिधि समेटिने ढकालले जानकारी दिए ।

एमालेले राष्ट्रिय भेलामा स्थानीय तहको संगठनात्मक प्रतिनिधित्वलाई पनि प्राथमिकता दिएको छ । पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुने ढकालले बैठकमा जानकारी गराएका थिए ।

त्यसैगरी, संघीय संसद् तथा राष्ट्रियसभाबाट ३५ जना, प्रदेशसभा सदस्यबाट १५५ जना, स्थानीय तहका मेयर तथा गाउँपालिका अध्यक्षबाट १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्षबाट ३४२ जना सहभागी हुनेछन् । 

जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।

सचिव ढकालका अनुसार कुल ३ हजार १६४ जनाको सहभागिता रहने भेलालाई एमालेले संगठनात्मक एकता सुदृढ गर्ने, नेता–कार्यकर्तालाई सक्रिय बनाउने र आगामी निर्वाचन  लक्षित बनाउने तयारी गरेको छ ।

Share News