काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ३५ वर्षमुनिको क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टको उमेर ३६ वर्ष पुगेको पाइएको छ ।
नागरिकताअनुसार भट्टको जन्म २०४८ साल असोज १३ गते भएको हो । यस हिसाबले उनी २०८३ असोज १३ मा ३५ वर्ष पूरा भई ३६ वर्षमा प्रवेश गर्छन् ।
तर, उनले केन्द्रीय सदस्यमा असोज २० गते उम्मेदवारी दर्ता गराएका थिए । अर्थात् उम्मेदवारी दर्ता गराउँदा उनी ३५ वर्ष कटेर ७ दिनले ३६ वर्ष पुगिसकेका थिए ।
कांग्रेसको १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा असोज १६ देखि सुरु भएको थियो । असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिका लागि मतदान भएको थियो ।
विधानको व्यवस्था के छ ?
नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन) को परिच्छेद ७, धारा २१ को उपधारा १० मा ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि मात्र उम्मेदवार हुन पाउने व्यवस्था छ । सोही अनुसार प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना गरी कुल २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ ।
भट्ट क्षेत्रीय प्रतिनिधिमा समेत ३५ वर्षमुनिबाट नभई खुल्लाबाट निर्वाचित भएको पाइएको छ, जबकि महाधिवेशन प्रतिनिधि बन्न नै उनी ३५ वर्षमुनिको कोटाबाट आउनुपर्ने थियो ।
निर्वाचन समितिमै उजुरी
यस विषयमा १५औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिमै उजुरी परेको छ । प्रेमबहादुर खड्का संयोजक, राजु कटुवाल सदस्य सचिव र सुजन लोप्चन सदस्य रहेको समितिमा परेको उजुरीमा ३५ वर्षमुनि क्लस्टरबाट उम्मेदवारी दिएका सबैको उमेर नागरिकता लगायत प्रामाणिक कागजातका आधारमा छानबिन गर्न माग गरिएको छ ।
उजुरीमा भनिएको छ, ‘प्रत्येक उम्मेदवारको उमेर मनोनयन दर्ताको मितिलाई आधार मानेर विधानले तोकेको योग्यता पुगे–नपुगेको यकिन गर्नुपर्छ । सुशील भट्टको हकमा मनोनयनकै दिन ३५ वर्ष कटिसकेको पुष्टि हुन्छ ।’
उमेर सीमा पूरा नगरेको प्रमाणित भएमा निर्वाचन परिणाम बदर गरी विधान र निर्वाचन नियमावली अनुसार कारबाही गर्नुपर्ने माग उजुरीमा छ ।
यस्ताे छ निर्वाचन समिति र भट्टको तर्क
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले असोज ३ गतेसम्म भट्ट ३५ वर्ष नै रहेको दाबी गरे ।
‘हामीले कांग्रेसको अधिवेशन प्रक्रिया सुरु भएको समयलाई आधार मान्यौं,’ कटुवालले भने, ‘दर्ताको समयको उमेरलाई ख्याल गरिएन ।’
भट्टले भने क्षेत्रीय अधिवेशन हुँदा आफू ३५ वर्ष नै रहेको जिकिर गरे । ‘लोकसेवा आयोगको परीक्षा दिँदा एउटा उमेर हुन्छ, रिजल्ट आउँदा अर्को हुन्छ । अधिवेशनको सुरुवाती दिनमा मेरो एउटा उमेर थियो, उम्मेदवारी दर्ता गर्दासम्म अर्को भयो । मैले शीर्ष नेतालाई सल्लाह गरेरै उम्मेदवारी दिएको हुँ ।’
भट्ट महामन्त्री प्रदीप पौडेल निकट मानिन्छन् । तर, एक केन्द्रीय सदस्य भने निर्वाचन समितिको तर्क गलत नजिर बन्ने बताउँछन् ।
‘उम्मेदवारी मनोनयन दर्ता गराउँदा विधान अनुसार काम गर्नुपर्छ । अधिवेशनको सुरुवाती समयको उमेर हेरेर निर्णय लिएको भन्ने तर्क गर्न मिल्दैन । प्रामाणिक कागजात हेरेर निर्णय लिनुपर्छ,’ उनले भने ।