काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वतन्त्रता र स्वाधीनता खण्डित हुँदै गएको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् ।
उनले राज्यले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको दाबी गर्दै देशलाई थप संकटमा जानबाट रोक्न आन्दोलन अपरिहार्य भएको बताएका हुन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारमाथि राज्य आतङ्क सिर्जना गरेको, गुण्डाराजलाई प्रश्रय दिएको र फासीवादतर्फ अघि बढेको आरोप लगाए ।
‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ। देश कम्तीमा स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने ।
उनले नागरिकले खुलेर बोल्न नसक्ने अवस्था सिर्जना गरिएको दाबी गर्दै देशको वर्तमान अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको विकल्प नरहेको बताए ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्यसहित अघि बढिरहेको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने जिम्मेवारीसमेत पार्टीको काँधमा आएको बताए ।
उनका अनुसार पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अघि बढ्न सके मात्रै कार्यकर्तामा उत्साह भर्न र जनतामा एमालेप्रतिको आकर्षण पुनः बढाउन सकिन्छ । यही आधारमा पार्टीले देशप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
गत वर्ष फागुन २१ मा भएको निर्वाचनलाई ओलीले सामान्य निर्वाचन नभई ‘प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला’को संज्ञा दिए ।
एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेको दाबी गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।
तीन केन्द्रीय सदस्यले लिए शपथ
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यमा मनोनीत इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
पार्टी महासचिव शंकर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरू सहभागी थिए ।