उपसभामुख : श्रम संस्कृति पार्टीलाई कांग्रेस–एमालेले साथ दिने, रास्वपा राप्रपातर्फ ढल्किने
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख निर्वाचनलाई लिएर प्रमुख दलहरूबीच रोचक राजनीतिक समीकरण देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । श्रम संस्कृति पार्टीले रुबी कुमारी ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरेको सांसद ध्रुव राईले जानकारी दिए । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने आफ्नै उम्मेदवार मैदानमा उतार्ने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार समानुपातिकतर्फबाट निर्वाचित सांसद सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाउने योजना पार्टीले बनाएको छ । हाल प्रतिनिधिसभाको सभामुख रास्वपाका नेता भएकाले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने हुन्छ । यही व्यवस्था अनुरूप दलहरूले आफ्नो रणनीति तय गरिरहेको कांग्रेस सांसद प्रकाशसिंह कार्कीले जानकारी दिए ।
ओलीको आरोप– ‘पूर्वाग्रहपूर्ण मुद्दा, प्रमाण नपुग्दा रिहा’
काठमाडौँ । केपी शर्मा ओली ले सरकारमाथि गम्भीर आरोप लगाउँदै आफूलाई पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन् । उनले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा हुनुपरेको बताए । रिहाइपछि सार्वजनिक धारणा राख्दै ओलीले आफ्नो पक्षमा आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। उनले परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति पनि सम्मान प्रकट गरेका छन् । प्रहरी नियन्त्रणका क्रममा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै उनले प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरे। ओलीले आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्नेहरूमाथि भएको दमनप्रति आपत्ति जनाउँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग राख्दै राज्य उदासीन भए आफ्नो पार्टीले खर्च बेहोर्ने चेतावनीसमेत दिएका छन्। स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी पनि उनले दिए ।
एमालेभित्र वैचारिक विचलन भएको दावी गर्दै सुरेन्द्र पाण्डे भन्छन्, ‘जनयुद्ध होइन, जबज नै हाम्रो बाटो’
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द पाण्डेले पार्टीभित्र देखिएको वैचारिक अन्यौलप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई स्पष्ट वैचारिक लाइनमा फर्काउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक धारणा हुन नसक्ने उनको भनाइ छ । पाण्डेले एमालेको मूल मार्ग भनेको जनताको बहुदलीय जनवाद नै भएको जिकिर गरे । त्यसैगरी, उनले पार्टीभित्र विभिन्न पृष्ठभूमिबाट आएका नेताहरूले आफ्ना व्यक्तिगत अनुभव र दृष्टिकोण राख्न सक्ने भए पनि सार्वजनिक अभिव्यक्तिहरू पार्टीको आधिकारिक लाइनसँग मेल खानुपर्नेमा जोड दिए । पछिल्लो समय पार्टीका कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बोलेका विषयलाई लक्षित गर्दै पाण्डेले व्यक्तिगत विचारलाई पार्टी लाइनका रूपमा प्रस्तुत गर्दा कार्यकर्तामा भ्रम र जनतामा अविश्वास पैदा हुने खतरा बढ्नेतर्फ सचेत गराए । आजको आवश्यकता विगतको द्वन्द्वकालीन गौरवगाथा दोहोर्याउने नभई बरु शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत देशको आर्थिक रूपान्तरणमा केन्द्रित हुनु रहेको पाण्डेको भनाइ छ । एमालेको वैचारिक धरातल जबज नै भएको उल्लेख गर्दै उनले पार्टीलाई मौलिक र सुदृढ राख्न त्यसबाट विचलित हुन नहुने सन्देश पनि दिए ।