व्यक्तिगत हितभन्दा जनताको खुसी ठूलो हो : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।  नेपाल नगरपालिका संघको ३३औं स्थापना दिवसको अवसरमा  बिहीबार आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए ।  सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए  ।  स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए ।   

प्रधानमन्त्री बालेनलाई श्रममन्त्रीको कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा श्रममन्त्री दीपककुमार साहलाई आज पदमुक्त गरेका थिए । योसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेका छन् ।

नवआयुक्त सैनिक अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन- अनुशासन र कर्तव्यमा कहिल्यै सम्झौता नगर्नू

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।  प्रधानमन्त्रीले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड र अनुशासनको दायराभित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए ।  फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास उनले व्यक्त गरे । सो समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गर्दै पुरस्कृत गरे । प्रधानमन्त्री शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा एक सय ८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।