काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् ।
आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले केही सांसदहरूले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पारे ।
उनले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए ।
सभापति लामिछानेले भने, ‘हामीलाई चुनावमा जाँदा नै बहुमत आउँछ भन्ने थाहा थियो । यति सजिलो संघर्ष दुनियाँमा कहिल्यै कसैले गरेको छैन । हामी त्यति सजिलो संघर्षबाट आएका हौं ।’
फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ति सम्भव भएको उनको भनाइ छ ।
उनले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरूले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरूलाई आग्रहसमेत गरे ।