काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज हुँदैछ ।
केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार आयोजना गर्न लागेको हो ।
सभापति गगनकुमार थापाले भने दसैँको फूलपातीका दिन अर्थात् असोज ३१ गते नै शपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन् ।
निर्वाचन समितिकाका अनुसार आज कात्तिक १२ गते दिउँसो २ बजे पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुनेछ । समारोह पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिनेछ ।
निर्वाचन समितिले गत सोमबार सूचना प्रकाशित गरी १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको थियो ।
असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । पार्टी विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । बाँकी ६६ सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान रहेको छ ।
रिक्त सदस्य पदमा मनोनयन गर्ने विषयमा छलफल गर्न आजै केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारीसमेत गरिएको छ ।