काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार साँझ बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा साँझ ६ बजेका लागि बोलाइएको बैठक महाधिवेशनको तयारी, संगठन पुनर्संरचना तथा अनुशासनसम्बन्धी विषयमा केन्द्रित रहने भएको छ ।
पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले सबैभन्दा महत्वपूर्ण रूपमा पार्टीको पहिलो महाधिवेशनअन्तर्गत विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।
केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेसँगै रास्वपा अब औपचारिक रूपमा महाधिवेशन केन्द्रित गतिविधिमा प्रवेश गर्न लागेको हो ।
रास्वपाले आफ्नो पहिलो महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको छ । २०७९ साल असार ७ गते स्थापना भएको पार्टीले महाधिवेशन गर्ने मिति पटक–पटक तय गरे पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।
पछिल्लो समय पार्टीभित्र संगठन विस्तार, नेतृत्व व्यवस्थापन र आन्तरिक संरचना सुदृढीकरणको आवश्यकता बढ्दै गएपछि महाधिवेशनलाई निर्णायक मोडका रूपमा हेरिएको छ ।
आजको सचिवालय बैठकमा पार्टीका विभिन्न तहगत समितिहरूको भेला, वडा–पालिका–जिल्लादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको विशेष कार्यतालिकाबारे पनि छलफल हुने बताइएको छ ।
रास्वपाले संगठनलाई थप व्यवस्थित बनाउन नयाँ संरचनात्मक मोडालिटीमा जाने तयारी गरेको नेताहरूले बताएका छन् ।
त्यस्तै बैठकले पार्टीका आयोग तथा विभागका पदाधिकारी मनोनयनसम्बन्धी निर्णय पनि गर्न सक्ने सम्भावना रहेको छ । संगठनभित्र लामो समयदेखि रिक्त रहेका केही विभाग तथा जिम्मेवारीलाई पूर्णता दिने तयारी गरिएको बुझिएको छ ।
यसैबीच रास्वपाले केही जिल्ला समिति विघटन गर्ने विषयमा पनि छलफल गर्ने भएको छ । पार्टी नेतृत्वले अपेक्षाअनुसार काम गर्न नसकेका, निष्क्रिय रहेका वा आन्तरिक विवादमा फसेका जिल्लाका संरचनालाई पुनर्गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
बैठकमा अनुशासनसम्बन्धी विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । पछिल्लो समय पार्टीका केही सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल गतिविधिलाई लिएर नेतृत्वभित्र असन्तुष्टि बढेको छ । सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने, पार्टीको आधिकारिक धारणा विपरीत अभिव्यक्ति दिने तथा आन्तरिक विषय सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै नेतृत्वले त्यसप्रति कडाइ गर्ने संकेत दिएको छ ।
रास्वपाका नेताहरूका अनुसार बैठकले अनुशासन उल्लंघनका घटनाबारे समीक्षा गर्दै आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउने सम्भावनासमेत रहेको छ । पार्टीभित्र आन्तरिक एकता र सन्देश व्यवस्थापनलाई सुदृढ बनाउन नेतृत्व थप सचेत देखिएको छ ।
यस्तै सचिवालय बैठकले अब बस्ने केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ भने समसामयिक राजनीतिक विषय, संगठन विस्तार र पार्टी रणनीतिसम्बन्धी विविध प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताएका छन् ।