काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विचाराधीन मुद्दाको आज (बुधवार)को पेशी स्थगित भएको छ ।
सुनुवाइका लागि मुद्दा इजलासको एक नम्बरमा राखिए पनि पक्षको आग्रहमा सुनुवाइबाट हटाइएको हो ।
अदालतकी तहसिलदार विनिता महर्जनका अनुसार सुनारविरुद्धको मुद्दा आज सुनुवाइका लागि पहिलो नम्बरमा थियो । तर पक्षको आग्रहपछि उक्त मुद्दामा आज सुनुवाइ हुन नसकेको हो ।
अधिवक्ता मनीषा गौतमको जाहेरीका आधारमा सुनारविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
सामाजिक सञ्जालमार्फत आफूलाई गालीगलौज तथा अपमानजनक अभिव्यक्ति दिइएको भन्दै गौतमले उजुरी दिएकी थिइन् ।
यस मुद्दामा सुनार २०८२ कात्तिक १३ गते अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यसअघि पनि पटक–पटक पेशीमा चढेको मुद्दाको सुनुवाइ र फैसला प्रक्रियाबारे सार्वजनिक चासो रहँदै आएको सरोकारवालाहरूले बताएका छन् ।
पटक-पटक पेशी सर्दा मुद्दामा आमचासो अझ धेरै बढेको अधिवक्ता शितल पाण्डेले बताइन् ।
अर्को पेशीबारे निर्णय नभइसकेको तहसिलदार महर्जनले जानकारी दिइन् ।