चक्रवात अर्नबको प्रभावले नेपालमा बादल फैलियो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा जमिनमा चक्रवात अर्नबको प्रभाव देखिँदा नेपालमा पनि बादल फैलिन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा उच्च बादल देखिन थालेको छ । 

चक्रवातको बाहिरी क्षेत्रबाट आउने उच्च बादल नेपालमा फैलिन थालेसंगै बुधबार कतैकतै हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । बिहीबार साँझदेखि भने वर्षाको सम्भावना बढ्नेछ । केही स्थानमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ । 

नेपालसम्म आइपुग्दा यो समुद्री चक्रवातकै तीव्रतामा रहने सम्भावना छैन । तर चक्रवातले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीच अन्तरक्रिया हुँदा नेपालमा भारी वर्षा हुन सक्ने मौसम विद्हरु बताउँछन् । 

विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सतर्क रहनुपर्ने र विभागले हिमाली क्षेत्रमा जारी गरेको रेड अलर्ट कायमै राखेको छ ।

मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो  । भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातको स्थल प्रवेश प्रक्रिया बापट्ला र विशाखापट्टनमको बीचमा यानमको दक्षिणतर्फ भइरहेको छ ।

बुधबार बिहानदेखि सुरु भएको स्थल प्रवेश प्रक्रियाका क्रममा भारतका विभिन्न ठाउँमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

चक्रवातको केन्द्रमा हावाको गति प्रतिघन्टा १२५ देखि १३५ किलोमिटर छ । हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको भनेर एएनआईले लेखेको छ । चक्रवातको प्रभावले आन्ध्र प्रदेशको काकिनाडामा रूखहरू ढलेका छन् भने विद्युतका तारहरू चुँडिएका छन्।  विशाखापट्टनममा सडक अवरुद्ध भएका छन् । तटीय क्षेत्रमा समुद्रको पानी बस्तीमा पस्न सक्ने चेतावनीसमेत जारी गरिएको छ । 

Share News