प्रतिनिधिसभा बैठक दुई घण्टा ढिला सुरु

काठमाडौं, । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी अपराह्न ३ बजे सुरु भएको छ ।

मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूको अवरोधका कारण समयमै सञ्चालन हुन सकेन । विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न माग गर्दै सदनमा विरोध जनाएका थिए ।

विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय महतत्वको विषयसँग सम्बन्धित भएकाले त्यसबारे स्पष्ट जानकारी र प्रमाण प्रस्तुत गरिनुपर्ने धारणा राखेका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको औपचारिक धारणा पनि माग गरेका छन्।

यता विपक्षीको उक्त मागप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमत नभएको बताइएको छ। सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा बैठक निर्धारित समयमै सञ्चालन हुन नसकेको हो ।

दलहरूबीचको छलफलपछि प्रतिनिधिसभा बैठक अपराह्न ३ बजेबाट सुरु भएको संसद् सचिवालयले जनाएको छ । सदनमा जारी विवाद समाधानका लागि राजनीतिक तहमा थप संवाद भइरहेको बताइएको छ ।

Share News