चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले भने- यो दुःखमा नेपाल एक्लै छैन
काठमाडौं । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ । साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैं साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् । प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाए । “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले थपे, “यो दुःखमा नेपाल एक्लै छैन । चीन नेपाल र नेपाली जनताको साथमा छ ।” साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताए । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ । रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उहाँले अर्थमन्त्रीलाई अवगत गराए । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए ।
विपद् प्रभावित चार जिल्लालाई बागमती सरकारले ३ करोड रुपैयाँ दिने
काठमाडौं । बागमती प्रदेश सरकारले विपद् प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनका स्थानीय तहलाई राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् । मुख्यमन्त्री थापाका अनुसार रसुवाका चार पालिकालाई स्थानीय विपद् व्यवस्थापन समितिमार्फत १ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए । विपद्का कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टिका लागि प्रदेश सरकारले प्रतिमृतक २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको मुख्यमन्त्री थापाले बताए । उक्त रकम सम्बन्धित पालिकामार्फत मृतकका परिवारलाई उपलब्ध गराइने उनको भनाइ छ । मुख्यमन्त्री थापाले विपद्का कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अस्थायी आवासको समस्या देखिएका स्थानमा प्रदेश सरकारले खर्च बेहोर्ने गरी काम सुरु गरिसकेको पनि जानकारी दिए । प्रदेश सरकारले राहत तथा पुनःस्थापनाका काम स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढाइरहेको मुख्यमन्त्री थापाको भनाइ छ । प्रभावित क्षेत्रमा प्रदेश सरकारको उपस्थिति देखिने गरी तत्कालीन राहतका कामलाई प्राथमिकता दिइएको उनले बताए ।
विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले डाक्यो भर्चुअल केन्द्रीय समिति बैठक
काठमाडौं । विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी सूचना जारी गरिएको छ । पार्टीले दिएको जानकारीअनुसार बैठक आज आज अपरान्ह ४ः३० बजे बस्नेछ । बैठकका मुख्य कार्यसूचीमा पछिल्लो समय देखिएका बाढी, पहिरोलगायत विपद्का घटनाको सन्दर्भमा विपद् व्यवस्थापनका बहुआयामिक पक्षबारे छलफल गर्ने विषय राखिएको छ । बैठकमा विपद्का बेला उद्धार, राहत, पुनःस्थापना तथा आगामी दिनमा विपद् जोखिम न्यूनीकरणका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल हुने बताइएको छ ।