कांग्रेसमा लोकतन्त्रवादी र जेनजी पुस्तालाई जोड्छौँ: मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा विजयी मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेनजी पुस्तालाई कांग्रेससँग जोड्ने पहल गर्ने बताएका छन् । पार्टीको रूपान्तरणसँगै नयाँ पुस्ता र लोकतन्त्रमा विश्वास राख्ने नागरिकका एजेन्डामा सहकार्य गर्नु आफ्नो जिम्मेवारी भएको उनले बताए । महाधिवेशनबाट विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले पार्टीभित्र आफूहरूले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेको बताए । आफूहरूले अघि सारेका एजेन्डामा काम गर्न र प्रतिबद्धता पूरा गर्न प्रतिनिधिहरूले थप जिम्मेवार बनाएको उनको भनाइ थियो । पार्टीका नेता, कार्यकर्ता र जनताबाट प्राप्त भरोसालाई परिणाममा बदल्न अझ बढी मेहनत र ऊर्जाका साथ काम गर्नुपर्ने आचार्यले उल्लेख गरे । महाधिवेशनबाट प्राप्त जिम्मेवारीले पार्टीलाई रूपान्तरण गर्न आफूहरू थप सक्रिय हुनुपर्ने दायित्व बढाएको उनले बताए । आचार्यका अनुसार कांग्रेसको रूपान्तरण पार्टीभित्रको संरचना र कार्यशैलीमा परिवर्तन ल्याउने विषयमा मात्र सीमित हुनु हुँदैन । पार्टीबाहिर रहेका लोकतन्त्रवादी नागरिकलाई पनि कांग्रेससँग जोडेर लोकतान्त्रिक विचारमा विश्वास राख्ने व्यापक जनमतलाई एकताबद्ध गर्न आवश्यक छ । ‘लोकतन्त्रमा विश्वास राख्ने तर कुनै पनि पार्टीमा आबद्ध नभएका ठूलो जनमतलाई कांग्रेससँग जोड्नुपर्छ,’ भन्ने उनको धारणा छ । कांग्रेसले त्यस्ता नागरिकका विचार र अपेक्षालाई समेट्दै अघि बढ्नुपर्ने उनले बताए । मुलुकको परिवर्तनका लागि विभिन्न एजेन्डासहित अघि आएको जेनजी पुस्ताका अपेक्षा पूरा हुन नसकेको उल्लेख गर्दै उनले एजेन्डामा सहकार्य गर्नुपर्ने बताए ।

अर्बपतिको राजनीतिक उडान

काठमाडौं । एउटा चाउचाउको ब्रान्डले घरघरमा चिनाएको नाम । उद्योग, बैंकिङ र होटल व्यवसायमा फैलिएको व्यावसायिक साम्राज्य । फोर्ब्सको अर्बपति सूचीमा सूचीकृत नेपाली उद्यमी । अब त्यही नाम नेपाली कांग्रेसको उपसभापतिको जिम्मेवारीमा पुगेको छ । विनोदकुमार चौधरीको परिचय यतिमै सीमित छैन । उनी व्यवसायी, उद्योग क्षेत्रका संस्थागत नेतृत्वकर्ता, संविधानसभा सदस्य, सांसद र राजनीतिज्ञ हुन् । व्यापारबाट आर्थिक शक्ति आर्जन गरेका चौधरीले त्यसलाई राजनीतिक यात्रासँग पनि जोडेका छन् । कांग्रेसको उपसभापतिमा उनको निर्वाचित यात्राले यही बहुआयामिक परिचयलाई फेरि चर्चामा ल्याएको छ । १ हजार ७४५ मतसहित उपसभापति नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चौधरी समावेशी समूहबाट उपसभापति पदका उम्मेदवार बनेका थिए । अन्तिम मतपरिणामअनुसार उनले १ हजार ७४५ मत प्राप्त गर्दै उक्त पद जिते । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे । पाँच उम्मेदवारबीचको प्रतिस्पर्धामा चौधरीले परियारलाई ८७ मतले पछि पारे । उद्योग–व्यवसायमा स्थापित उनको परिचय अब कांग्रेसको संगठनात्मक नेतृत्वसँग जोडिएको छ । पारिवारिक व्यवसायदेखि अन्तर्राष्ट्रिय बजारसम्म वि.सं. २०१२ साल चैत ३१ गते काठमाडौंमा जन्मिएका चौधरी चौधरी ग्रुपका अध्यक्ष हुन् । उनले पारिवारिक व्यवसायलाई विस्तार गर्दै विभिन्न क्षेत्रमा फैलिएको व्यावसायिक समूहका रूपमा विकास गरेका छन् । वाइवाई चाउचाउ उनको व्यावसायिक पहिचानको प्रमुख आधार हो । नेपालमा लोकप्रिय बनेको यो ब्रान्डले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरेको छ । खाद्य उद्योगसँगै चौधरी ग्रुप बैंकिङ, होटल तथा आतिथ्य सेवा, रियल इस्टेट, सिमेन्ट, ऊर्जा र अन्य क्षेत्रमा पनि संलग्न छ । चौधरीको व्यावसायिक सफलताले उनलाई नेपालका चर्चित उद्योगपतिमध्ये स्थापित गरेको छ । सन् २०१३ मा अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले उनलाई अर्बपतिको सूचीमा समावेश गरेको थियो । उनी फोर्ब्सको अर्बपति सूचीमा सूचीकृत हुने पहिलो नेपाली बने । उनको व्यावसायिक यात्रा उत्पादन र व्यापारमा मात्र सीमित छैन । नेपालमा निजी क्षेत्रको विस्तार, लगानी र औद्योगिक विकाससम्बन्धी बहसमा पनि उनको संलग्नता रहँदै आएको छ । उद्योग क्षेत्रको नेतृत्व चौधरीले आफ्नो व्यावसायिक अनुभवलाई उद्योग क्षेत्रका संस्थागत गतिविधिमा पनि उपयोग गरे । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् भने नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्षका रूपमा पनि परिचित छन् । निजी क्षेत्रको लगानी विस्तार, उद्यमशीलता प्रवर्द्धन र औद्योगिक विकाससँग सम्बन्धित मुद्दामा उनको भूमिका रहँदै आएको छ । व्यावसायिक क्षेत्रमा स्थापित पहिचानले उनलाई राजनीतिक वृत्तमा पनि छुट्टै परिचय दिएको छ । एमालेबाट राजनीतिक यात्रा सुरु चौधरीको राजनीतिक यात्रा नेकपा एमालेबाट सुरु भएको थियो । वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी एमालेबाट समानुपातिकतर्फ सभासद् बने । त्यसबेला उनी उद्योग–व्यवसायसँगै संसदीय राजनीतिमा पनि प्रवेश गरेका थिए । वि.सं. २०७४ सालमा उनी नेपाली कांग्रेसमा प्रवेश गरे । सोही वर्षको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बने । यसरी उनको राजनीतिक यात्रा एमालेबाट सुरु भएर कांग्रेसको संसदीय तथा संगठनात्मक राजनीतिसम्म आइपुग्यो । वि.सं. २०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्य बने । त्यसपछि पार्टीका गतिविधिमा संलग्न रहँदै आएका चौधरीले वि.सं. २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनको प्रतिस्पर्धा गरे । नवलपरासीबाट संसद्सम्म वि.सं. २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौधरी नेपाली कांग्रेसका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ मा उम्मेदवार बने । उनले २९ हजार ४९५ मत प्राप्त गर्दै जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पराजित गरे । त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका थिए । चौधरी ७ हजार १८७ मतको अन्तरले निर्वाचित भएका थिए । समानुपातिक निर्वाचन प्रणालीबाट संसद् प्रवेश गरेका उनी त्यसपछि प्रत्यक्ष निर्वाचन जितेर प्रतिनिधिसभामा पुगे । यसले उनको राजनीतिक यात्रामा अर्को चरण थप्यो । तर, उनको संसदीय यात्रा सधैँ सहज रहेन । वि.सं. २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी-१ बाटै उम्मेदवार बनेका चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालसँग पराजित भए । खनालले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मत पाए । निर्वाचनमा पराजय भोगे पनि चौधरी पार्टी राजनीतिबाट बाहिरिएनन् । कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै उनले उपसभापति पदमा प्रतिस्पर्धा गरे र अन्ततः निर्वाचित भए । व्यवसायीबाट पार्टीको नेतृत्वमा चौधरीको राजनीतिक यात्रालाई हेर्दा उनले संसदीय प्रतिनिधित्व र पार्टी संगठन दुवैमा भूमिका निर्वाह गरेको देखिन्छ । एमालेबाट समानुपातिक सभासद् बनेका उनी कांग्रेसमा प्रवेश गरेपछि समानुपातिक सांसद, प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्य बने । अहिले उनी उपसभापति भएका छन् । उनको व्यावसायिक पृष्ठभूमि राजनीतिक क्षेत्रमा चर्चाको विषय बन्ने गरेको छ । निजी क्षेत्रको लगानी, रोजगारी सिर्जना, औद्योगिक उत्पादन र आर्थिक विकाससम्बन्धी अनुभवलाई राजनीतिक नीतिनिर्माणमा उपयोग गर्न सकिने सम्भावना छ । तर त्यसको प्रभावकारिता उनले पार्टीभित्र र सार्वजनिक नीतिमा निर्वाह गर्ने भूमिकाबाट मापन हुनेछ । व्यवसायमा हासिल गरेको सफलता आफैमा राजनीतिक सफलताको सुनिश्चितता होइन । त्यस्तै, निर्वाचनमा पराजित हुनु पनि पार्टीभित्रको संगठनात्मक भूमिका समाप्त हुनु होइन । चौधरीको पछिल्लो यात्राले यी दुई फरक क्षेत्रबीचको सम्बन्धलाई देखाउँछ । अबको परीक्षा कांग्रेसको उपसभापति बनेपछि चौधरीका अगाडि पार्टी संगठनमा भूमिका निर्वाह गर्ने, आर्थिक तथा औद्योगिक मुद्दालाई राजनीतिक बहसमा उठाउने र निजी क्षेत्र तथा राज्यबीचको सम्बन्धलाई नीतिगत तहमा कसरी अघि बढाउने भन्ने प्रश्न छन् । उनको अनुभवले आर्थिक विकास, लगानीमैत्री वातावरण, रोजगारी र उद्यमशीलतासम्बन्धी बहसमा योगदान दिन सक्ने सम्भावना छ । तर त्यसलाई व्यवहारमा उतार्न पार्टीको सामूहिक नेतृत्व, नीतिगत स्पष्टता र सार्वजनिक जवाफदेहितासँग जोडिन आवश्यक हुन्छ । वाइवाईको ब्रान्डबाट अन्तर्राष्ट्रिय व्यावसायिक पहिचान बनाएका चौधरी अब कांग्रेसको नेतृत्व तहमा पुगेका छन् । उद्योगपतिको पहिचानबाट राजनीतिमा प्रवेश गरेका उनको यात्राले नयाँ जिम्मेवारी पाएको छ । अब उनको भूमिका व्यवसायमा हासिल गरेको सफलताको चर्चा मात्र होइन, पार्टी संगठन र सार्वजनिक नीतिमा उनले पुर्‍याउने योगदानबाट पनि मूल्यांकन हुनेछ ।

उपसभापतिमा चन्द्रकान्त र मधु आचार्य विजयी, महामन्त्री बने प्रदीप, उदय र डिला

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनामा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन् ।  त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । उपसभापति खुलातर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दा आचार्यले २ हजार ३४२ मत पाए । उक्त पदका उम्मेदवार गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे । उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरी विजयी भएका छन् । उनले १ हजार ७४५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए । महामन्त्री खुलातर्फ प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मतसहित विजयी भए । अर्का विजयी उम्मेदवार उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे ।  डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, अमरसिंह पुन मगरले १ हजार १२५, नैनसिंह महरले १ हजार १३४, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे । महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । उनले ३ हजार ११८ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् । यससँगै सार्वजनिक मत परिणामअनुसार उपसभापति खुला, उपसभापति समावेशी, महामन्त्री खुला र महामन्त्री महिलातर्फका विजेताको टुंगो लागेको छ ।