काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा विजयी मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेनजी पुस्तालाई कांग्रेससँग जोड्ने पहल गर्ने बताएका छन् । पार्टीको रूपान्तरणसँगै नयाँ पुस्ता र लोकतन्त्रमा विश्वास राख्ने नागरिकका एजेन्डामा सहकार्य गर्नु आफ्नो जिम्मेवारी भएको उनले बताए ।
महाधिवेशनबाट विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै आचार्यले पार्टीभित्र आफूहरूले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेको बताए । आफूहरूले अघि सारेका एजेन्डामा काम गर्न र प्रतिबद्धता पूरा गर्न प्रतिनिधिहरूले थप जिम्मेवार बनाएको उनको भनाइ थियो ।
पार्टीका नेता, कार्यकर्ता र जनताबाट प्राप्त भरोसालाई परिणाममा बदल्न अझ बढी मेहनत र ऊर्जाका साथ काम गर्नुपर्ने आचार्यले उल्लेख गरे । महाधिवेशनबाट प्राप्त जिम्मेवारीले पार्टीलाई रूपान्तरण गर्न आफूहरू थप सक्रिय हुनुपर्ने दायित्व बढाएको उनले बताए ।
आचार्यका अनुसार कांग्रेसको रूपान्तरण पार्टीभित्रको संरचना र कार्यशैलीमा परिवर्तन ल्याउने विषयमा मात्र सीमित हुनु हुँदैन । पार्टीबाहिर रहेका लोकतन्त्रवादी नागरिकलाई पनि कांग्रेससँग जोडेर लोकतान्त्रिक विचारमा विश्वास राख्ने व्यापक जनमतलाई एकताबद्ध गर्न आवश्यक छ ।
‘लोकतन्त्रमा विश्वास राख्ने तर कुनै पनि पार्टीमा आबद्ध नभएका ठूलो जनमतलाई कांग्रेससँग जोड्नुपर्छ,’ भन्ने उनको धारणा छ । कांग्रेसले त्यस्ता नागरिकका विचार र अपेक्षालाई समेट्दै अघि बढ्नुपर्ने उनले बताए ।
मुलुकको परिवर्तनका लागि विभिन्न एजेन्डासहित अघि आएको जेनजी पुस्ताका अपेक्षा पूरा हुन नसकेको उल्लेख गर्दै उनले एजेन्डामा सहकार्य गर्नुपर्ने बताए ।