काठमाडौं । चाँदी प्रशोधन तथा कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले डिजिटल माध्यमबाट चाँदी खरिद गर्न सकिने ‘एचबीसी एप’ सार्वजनिक गरेको छ ।
कम्पनीले ग्राहकलाई आफ्नो सुविधाअनुसार चरणबद्ध भुक्तानी गरेर वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।
सन् २००० मा स्थापना भएको कम्पनीले २६ वर्षको अनुभवलाई डिजिटल प्रविधिसँग जोड्दै चाँदी खरिद प्रक्रियालाई थप सहज र सर्वसुलभ बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याएको जनाएको छ ।
एपमार्फत ग्राहकले आफूसँग उपलब्ध रकमबाटै चाँदी खरिदको प्रक्रिया सुरु गर्न सक्नेछन् । छनोट गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी भएपछि ग्राहकले उक्त चाँदी आफ्नो स्वामित्वमा प्राप्त गर्नेछन् ।
एप प्रयोग गर्न ग्राहकले खाता खोलेर ग्राहक पहिचान प्रक्रिया (केवाईसी) पूरा भर्नु पर्नेछ । त्यसपछि दैनिक चाँदीको मूल्य तथा कम्पनीले पुनः खरिद गर्ने दर हेर्न सकिनेछ ।
ग्राहकले १०, २०, ५० र १०० ग्रामका चाँदीका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सक्नेछन् । एकैपटक अधिकतम तीनवटा खरिद लक्ष्य निर्धारण गर्न सकिने व्यवस्था गरिएको छ ।
ग्राहकले एक ग्राम चाँदी बराबरको रकम, कुल मूल्यको पाँच प्रतिशत वा सम्पूर्ण रकम एकैपटक भुक्तानी गर्न सक्नेछन् । ५०० ग्राम वा सोभन्दा बढी तौलका बारमा निर्माण शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
सम्पूर्ण रकम भुक्तानी नहुँदासम्म ग्राहकले छनोट गरेको चाँदी कम्पनीको सुरक्षित भण्डारण कक्षमा राखिनेछ । एप सार्वजनिक भएको अवसरमा भण्डारण शुल्कसमेत निःशुल्क गरिएको छ ।
भुक्तानी पूरा भएपछि ग्राहकले आइतबारका लागि समय निर्धारण गरी आफ्नो चाँदी प्राप्त गर्न सक्नेछन् । चाँदी प्राप्त गरेको तीन दिनपछि कम्पनीले तोकेको प्रचलित पुनः खरिद दरमा बिक्री गर्न सकिने सुविधासमेत उपलब्ध छ ।
१० लाखसम्मको दुर्घटना बीमा
एप सार्वजनिक गर्ने अवसरमा कम्पनीले ग्राहकका लागि व्यक्तिगत दुर्घटना बीमा र विशेष उपहार योजना पनि घोषणा गरेको छ ।
कम्पनीका अनुसार सालिको इन्स्योरेन्स र एचएसबीसीबीचको सहकार्यमा एपका सबै ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइनेछ । उक्त सुविधा सम्बन्धित बीमालेखका सर्त तथा प्रावधानअनुसार लागू हुनेछ ।
त्यस्तै, आगामी तिहारसम्म एपमार्फत चाँदी खरिद गर्ने ग्राहकलाई टेस्ला मोडल ३ विद्युतीय कार जित्ने अवसरसमेत प्रदान गरिने भएको छ ।
यस योजनाअन्तर्गत चाँदीको सम्पूर्ण रकम भुक्तानी गरी खरिद पूरा गर्ने ग्राहक स्वतः गोलाप्रथामा सहभागी हुनेछन् । प्रत्येक पूर्ण खरिदबापत एउटा अवसर प्राप्त हुनेछ । एकभन्दा बढी खरिद पूरा गर्ने ग्राहकले सोहीअनुसार थप अवसर पाउनेछन् ।
योजना सम्पन्न भएपछि योग्य सहभागीमध्ये गोलाप्रथाबाट एक विजेता छनोट गरी टेस्ला मोडल ३ कार प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्षका अनुसार एपले ग्राहकलाई एकमुष्ट रकम जम्मा नगरी चाँदी खरिद सुरु गर्ने अवसर दिनेछ । ग्राहकले अन्ततः डिजिटल अभिलेख मात्र नभई कम्पनीको भण्डारण कक्षमा सुरक्षित राखिएको वास्तविक चाँदी प्राप्त गर्ने उनको भनाइ छ ।
कम्पनीले एचबीसी एप कुनै सेयर कारोबार गर्ने माध्यम वा निश्चित प्रतिफल दिने लगानी योजना नभएको स्पष्ट पारेको छ । यो चरणबद्ध भुक्तानीमार्फत भौतिक चाँदी खरिद गर्ने डिजिटल माध्यम भएको कम्पनीको भनाइ छ ।
हाल एचबीसी एप एन्ड्रोइड र आईओएस दुवै प्रणालीका मोबाइलमा उपलब्ध छ । ग्राहकले गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट एप डाउनलोड गरी सेवा लिन सक्नेछन् ।