काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो ४ हजार १०० मतगणनाको परिणामअनुसार खुलातर्फ उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
खुलातर्फ उपसभापतिमा भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका मधु आचार्यले १ हजार २७८ मत प्राप्त गरेका छन् । भण्डारी र आचार्यबीच ७६७ मतको अन्तर छ ।
त्यस्तै, गोविन्द भट्टराईले १ हजार ९१ र सुरेन्द्रराज पाण्डेले १ हजार ६५ मत प्राप्त गरेका छन् । धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा.डा. चन्द्रमोहन यादवले ३३५ मत पाएका छन् ।
समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरीले अग्रता लिएका छन् । चौधरीले १ हजार २६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले ९७९ मत पाएका छन् । उनीहरूबीच ४७ मतको अन्तर छ ।
यसैगरी, सीता गुरुङले ६७६, फरमुल्लाह मन्सुरले ५६५ र रञ्जित कर्णले ३११ मत प्राप्त गरेका छन् ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ३९१ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार ३३३ मत पाएका छन् । पौडेल र राणाबीच १ हजार ५८ मतको अन्तर छ ।
महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७ र गुरुराज घिमिरेले ८२३ मत प्राप्त गरेका छन् । यस्तै, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत पाएका छन् ।
महिलातर्फको एक महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) अग्रस्थानमा छिन् । उनले १ हजार ८१६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले १ हजार ६३१ मत पाएकी छन् । उनीहरूबीच १८५ मतको अन्तर छ । अर्की उम्मेदवार रीता खनालले ४२० मत प्राप्त गरेकी छन् ।