नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ ।

नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज दोस्रो दिन ब्रह्मचारिणी देवीको आह्वान गरी पूजा आराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेपछि प्रसादस्वरूप जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।

संसारका समग्र प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर साधनामा लागिरहने देवीका रूपमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक मान्यता छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

Share News