प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति र विनाश भएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक पर्ने सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।  भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सँग टेलिफोन वार्ता गर्दै बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा, स्वास्थ्य र कुशलताका लागि प्रार्थना गरेका छन् ।  टेलिफोन संवादका क्रममा उनले संकटको यस कठिन घडीमा भारत सरकार नेपाललाई हरसम्भव सहयोग गर्न पूर्ण रूपमा तयार रहेको विश्वास दिलाएका छन् ।  नेपालमा परेको यो विपद्को समयमा भारत नेपालको साथमा रहेको उल्लेख गर्दै नेपाल एक्लो छैन, यो दुःखको घडीमा भारत नेपालसँगै उभिएको छ भन्दै भारतीय पक्षले ऐक्यबद्धता व्यक्त गरेको छ ।

उद्धार, उपचार र पुनर्वासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले सम्पूर्ण क्षति र प्रभावितको पूर्ण जिम्मेवारी लिने बताएका छन् ।  बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले यो प्राकृतिक विपद्को अप्रत्याशित बज्रपातले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।  बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री बालेनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।  ‘तपाईंहरूको यो असैह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौं,’ उनले भनेका छन् ।  साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ताहरूको खोजी गर्नु र प्रभावित नागरिकलाई सुरक्षा दिनु नै अहिले सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन् ।  प्रधानमन्त्री शाहले विपद् लगत्तै हजारौंको संख्यामा राज्यका सम्पूर्ण शक्ति र संयन्त्रहरू उद्धार कार्यमा परिचालन भइसकेको जानकारी दिएका छन ।  प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न; राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ ।’ उनले बाढी प्रभावितहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील समयमा सबैलाई एक ढिक्का भएर उभिन आह्वान समेत गरेका छन् । 

भोटेकोशी बाढी: क्षति संकलन जारी, उद्धार कोषमा सहयोग गर्न सरकारको आह्वान

काठमाडौं । बुधबार बिहान ८ः४० बजे रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ ।  बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रहरू गम्भीर रूपमा प्रभावित बनेका छन् ।  घटनालगत्तै सरकारले प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत सामग्री वितरणको कार्यलाई तीव्रता दिएको छ भने बाढीबाट पुगेको मानवीय र भौतिक क्षतिको अन्तिम विवरण संकलन गर्ने काम निरन्तर जारी राखिएको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने र दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने चुनौती छ ।  यसै सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका तोकिएका बैंक खाताहरूमा यथाशक्य आर्थिक सहयोग गरी हातेमालो गर्न स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण संघ-संस्था एवं नागरिकहरूमा अपिल गरेको छ ।