मध्यराति पाँच जना उम्मेदवारमाथि सहमति
काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहलाई छाडेर आएका नेताहरूबीच बिहीबार मध्यराति सहमति भएको छ । संस्थापन समूह र उनीहरूबीच मध्येराति छलफलपछि विभिन्न पदमा सहमति भएको बुझिएको हो । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार देउवा समूह छोडेर आएका नेताहरूलाई उपसभापति र महामन्त्री पदमा सहयोग गर्ने बारे सहमति भएको हो । ती नेताका अनुसार देउवा टिम छोडेर आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्थापनतर्फबाट मधु आचार्यलाई उपसभापति जिताउने सहमति भएको हो । उनीहरूले उपसभापतिको खुलातर्फ उम्मेदवारी दिएका हुन् । उनीहरूसँगै कांग्रेस उपसभापतिमा गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा चन्द्र मोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । यी मध्ये दुई समूहबीच पाण्डे र आचार्यको नाममा सहमति भएको ती नेताको दाबी छ । यस्तै, दुई समूहबीच महिला महामन्त्रीमा महालक्ष्मी (डिना) उपाध्याय र संस्थापन पक्षबाट खुलातर्फ उदय शमशेर राणा र प्रदीप पौडेलमाथि सहमति भएको ती नेताको दाबी छ । गत असोज २ गते यता भएको पटक–पटकको छलफलपछि गयराति अनौपचारिक सहमति भएको हो ती नेताको दाबी छ । महामन्त्रीका लागि खुलातर्फबाट अमरसिंह पुन मगर, उदय शम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी, डा. सन्तोष उपाध्याय र डा. सुनिल कुमार शर्माले उम्मेदवारी दिएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला, महालक्ष्मी पन्त र रीता खनालले उम्मेदवारी दिएका छन् । गएराति सभापति थापासँगै, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, उदयशमशेर राणा, सुरेन्द्रराज पाण्डे, महेन्द्र यादव लगायत नेताहरू बसेर सहमति गरेको स्रोतको दाबी छ । असोज २ गते पूर्वसभापति शेरबहादुर देउवा समूहबाट तत्कालीन कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कासहित ३३ जनालाई विभिन्न सहमतिमा सभापति गगन थापाले संस्थापनतर्फ तानेका थिए । कांग्रेसले विधान संशोधन गर्दै दुई उपसभापति र तीन महामन्त्रीको व्यवस्था गरेको छ । सभापति थापाले केहीलाई मनोनयन गर्ने आश्वासन पनि दिएको बुझिएको छ । अहिले खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ । सभापति थापाकै सहभागितामा उम्मेदवारी दिएका केही नेताहरूबीच मात्रै सहमति गर्दा अन्य उम्मेदवारमाथि अन्याय भएको उनीहरुले गुनासो गरेका छन् ।
मतदातासँग मत माग्दै गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदातासँग मत मागेका छन् । लाइनमा बसेका मतदातासँग उनले मत मागेका हुन् । पार्टीको १५ औँ महाधिशेन गत वर्षको मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै गरेको भए पनि नेतृत्वले आलटाल गरेपछि पार्टीलाई विधिको शासनमा डोहोर्याउनका लागि विशेष महाधिवेशन गराएरै संविधान सम्मत बनाएर थापा नेतृत्वमा आएका थिए । उनकै नेतृत्वमा पार्टी गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । उनले यसपालि पनि समयमै महाधिवेशन गराएर पार्टीलाई विधान सम्मत नै अगाडि बढाएका छन् । उनले मत मागिरहँदा मतदाता भने निकै उत्साही देखिए । उनीसँग काठमाडौं ६ का श्यामकृष्ण खड्गीले सभापतिमा प्रतिस्पर्धा गरेका छन् । खड्गी पहिलो पटक केन्द्रीय कार्यसमितिमा चुनाव लडिरहेका हुन् । लामो समयदेखि कांग्रेस राजनीतिमा रहेका गगन थापा भने पहिलो पटक केन्द्रीय सदस्य हुँदा सर्वाधिक मतसहित शीर्ष स्थानमा रहेर चुनाव जितेका थिए । उनी यसअघि महामन्त्रीसमेत भएका थिए । जेन–जी आन्दोलनपछि पार्टी नीति पनि समाज सुहाउँदो परिवर्तन गर्दै लैजानु पर्छ भनी अग्रसर भएका थापा विशेष महाधिवेशन सफल पारी पार्टीलाई यहाँसम्म डोहोर्याएर लिएर आएका छन् । उनले मतदातालाई कसैको भड्काउमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह गरेका छन् । उनले बिहानमात्रै सामाजिक सञ्जालमा लेख्दै कुनै समूह नबनेको भन्दै बिना दबाब मतदान गर्न आग्रह गरेका हुन् ।
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ८१ वर्षीय शोभाचन्द्र बरालले खसाले मत
काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८१ वर्षीय शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । अघिल्लो दिन मतदान गर्न नपाएका प्रतिनिधि आज मतदान गर्न पाउने भएपछि उत्साही देखिएका छन् । टाढा घर भएका प्रतिनिधि मतदान सकेर दसैँ मनाउन घर पुग्ने योजनामा छन् । मतदान सुरु भएसँगै कांग्रेस महाधिवेशन प्रतिनिधिमा पुनः उत्साह थपिएको छ । खराब मौसम र प्राविधिक समस्याका कारण मतदानमा ढिलाइ भएको थियो । ढिलो गरी मतदान सुरु गर्दा राति मतदातालाई कठिनाइ हुने भएकाले हिजो अपराह्नदेखि गर्ने भनिएको मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए । मतदाताको स्वास्थ्यलाई ध्यानमा राखेर मतदानको समय सारिएको उनले जानकारी दिए । उनले दिउँसो ३ बजेसम्म मतदान गर्न कसिने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि थालिएको बताए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएको थियो । आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताए । कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ? निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ - बागमती प्रदेश खुलामञ्च, मतदान केन्द्र ‘ख’ - कोशी प्रदेश तथा तराई-मधेस समूह हिमाल हल - गण्डकी प्रदेश तराई–मधेस हल - मधेस प्रदेश पहाड हल - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि परिचयपत्र र मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोन लगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् । मतदानपछि मतगणना निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । आजै मतगणना थालिने तयारी गरिएको समितिले जनाएको छ । मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ । १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् । महाधिवेशनको निर्वाचनमा सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ । प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्वसमेत तय गर्नेछ ।