कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्वजनिक गरे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिलो गरी मतदान प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ । महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना प्रतिनिधिहरूले आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन् । प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन वटा प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् । जसअनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । त्यसैगरी कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले भने प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र भोट हाल्न दिइने निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेस सबैको योगदानले बनेको हो, सबैलाई समेटेर अघि बढ्छुः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार गगन थापाले पार्टी सबैको संघर्ष र योगदानबाट बनेको बताउँदै १५औं महाधिवेशनको बन्दसत्रमा पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरू मञ्चमा अनुपस्थित रहेकोमा दुःख व्यक्त गरेका छन् । बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति देउवाले पार्टी निर्माण र प्रजातान्त्रिक संघर्षमा लामो समय ठूलो योगदान पुर्याएको स्मरण गर्दै महाधिवेशनमा शीर्ष नेताहरूको उपस्थिति नहुनुले आफूहरूलाई खुसी नतुल्याएको र मञ्चमा अग्रज नेताहरू पनि हुनुपथ्र्यो भन्ने लागेको बताए । गत पुसमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत नै भएको दाबी गर्दै थापाले महाधिवेशनपछि सबै पक्षलाई जोडेर पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूले लिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, अर्को प्रसङ्गमा नेता थापाले अदालतबाट निर्णयको अपेक्षा गरेर बस्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरे । सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादलाई संवैधानिक इजलासमा लैजाने निवेदन दरपीठ गरिदिएको सन्दर्भ उल्लेख गर्दै उनले अदालतबाट भएको यो आठौं निर्णय रहेको बताए । उनले पार्टी मिलाउने र एकताबद्ध बनाएर लैजाने काम आफूले गर्ने भन्दै अन्य नेता-कार्यकर्तालाई आ-आफ्नो जिम्मेवारीअनुसार काममा जुट्न आग्रह गरे ।
मैले सभापतिको उम्मेदवारी फिर्ता लिएको छैन: श्यामकृष्ण खड्गी
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । बुधबार उनले आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन् । ‘मैले उम्मेदवारी फिर्ता लिन्नँ। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धामा भाग लिन्छु,’उनले भने । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । मंगलबार सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए । सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भाेलि निर्वाचन हुँदैछ ।