विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए । त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । यस्तै, उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो । यसअघि उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन् ।
२७ पदाधिकारी पदमा ४१ जनाको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भइरहेको छ । आज बिहान १२ बजेबाट सुरु भएको मनोनयन दर्ता साँझ ६ बजेसम्मका लागि तोकिएको छ । जसमा हालसम्म ४१ जनाले पदाधिकारीमा मात्रै मनोनयन दर्ता गराएका छन् । पदाधिकारीको शीर्ष पद सभापतिमा रामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सभापति पछिको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा भने हालसम्म १४ जनाको उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, महामन्त्रीतर्फ ३ महिलासहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ । सहमहामन्त्रीको विभिन्न कलस्टरमा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसको १५औं महाधिवेशनको संशोधित विधानअनुरूप पदाधिकारी संख्या बढाएर २७ पुर्याइएको छ । यसअघि १७ जनाको पदाधिकारी संख्या थियो । हालसम्म क–कसले दिए पदाधिकारीमा उम्मेदवारी ? सभापति १.श्यामकृष्ण खड्गी वरिष्ठ उपसभापति २.विश्वप्रकाश शर्मा उपसभापति (खुला) ३.डा. चन्द्रमोहन यादव ४.सुरेन्द्रराज पाण्डे ५.डा. मीनेन्द्र रिजाल ६.गोविन्द भट्टराई ७.देवराज चालिसे ८.मधुप्रसाद आचार्य ९.धनराज गुरुङ १०.दीपक गिरी ११.डा. चन्द्र भण्डारी समावेशी उपसभापति १२.विनोद चौधरी १३.फरमुल्लाह मन्सुर १४.जीवन परियार महिला उपसभापति १५.पुष्पा भुसाल –सीता गुरुङ महामन्त्री (महिला) १६.डिला संग्रौला १७.रिता खनाल १८.महालक्ष्मी उपाध्याय डिना महामन्त्री (खुला) १९.शंकर तिवारी २०.सुनिल शर्मा २१.नैनसिंह महर २२.प्रदीप पौडेल २३.गुरुराज घिमिरे २४.अमरसिंह पुन २५. डा.सन्तोष उपाध्याय २६. उदयशमशेर जबरा सहमहामन्त्री (महिला) २७.प्रतिमा गौतम सहमहामन्त्री (खुला) २८.देवेन्द्रराज कँडे २९.रामहरि खतिवडा ३०.डिल्लीराम सुवेदी सहमहामन्त्री (पिछडिएको क्षेत्र) ३१.जीवनबहादुर शाही ३२.मीन भाम सहमहामन्त्री (खसआर्य) ३३.मनोजमणि आचार्य ३४.अजयबाबु शिवाकोटी ३५.जगदिश्वरनरसिंह केसी सहमहामन्त्री (आदिवासी जनजाती) ३६.बहादुरसिंह लामा सहमहामन्त्री (थारु) ३७.तेजुलाल चौधरी सहमहामन्त्री (अल्पसंख्यक) ३८.आङगेलु शेर्पा सहमहामन्त्री (मुस्लिम) ३९.अब्दुल सत्तर सहमहामन्त्री (मधेशी) ४०.अभिषेकप्रताप शाह ४१.नानु बाँस्तोला
हिजो विधान संशोधनको विरोधमा गगन, आज आफ्नै लगन
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा तत्कालीन महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले महाधिवेशनको मुखमा विधान संशोधन गरेर पदाधिकारी थप्ने तत्कालीन नेतृत्वको प्रयासको विरोध गरेका थिए । पाँच वर्षपछि भने परिस्थिति उल्टिएको छ । अहिले उनै थापा कांग्रेसका सभापति छन् । १५औं महाधिवेशनको बन्दसत्रले उनकै नेतृत्वमा संशोधित विधान पारित गरेको छ । उक्त संशोधनले केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्या उल्लेख्य रूपमा बढाएको छ । १४ औं महाधिवेशनअघि तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको समितिले पदाधिकारी संख्या बढाउने गरी विधान संशोधनको तयारी गरेको थियो । त्यतिबेला महामन्त्री पदका उम्मेदवार रहेका थापाले यसको विरोध गरेका थिए । ‘पार्टी महाधिवेशनको एक दिनअघि विधान संशोधन गरी पदाधिकारी थप्न थाल्यौं भने त्यसले बेथिति निम्त्याउँछ,’ उनले भनेका थिए । थापाले महाधिवेशनको मुखमा विधान संशोधन गरेर पदाधिकारी थप्ने प्रक्रियामाथि आपत्ति जनाएका थिए । त्यसबाट उनले तत्कालीन नेतृत्वको राजनीतिक उद्देश्य वा गुट व्यवस्थापनमाथि पनि प्रश्न उठाएका थिए । थापाले देउवाले गुट व्यवस्थापनकै लागि पद थप्न खोजेका भन्ने आरोपसमेत लगाएर त्यसको विरोध गरेका थिए । तर तिनै थापाको नेतृत्वमा कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्रले संशोधित विधान पारित गरेको छ । पारित संरचनाअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । वरिष्ठ उपसभापति पद नयाँ सिर्जना गरिएको छ । अब कांग्रेसमा १ जना वरिष्ठ उपसभापति रहनेछन् । त्यस्तै, उपसभापति ४ जना हुनेछन् भने महामन्त्री ३ जना हुनेछन् । कांग्रेसमा सहमहामन्त्री १५ जना हुने नयाँ व्यवस्था गरिएको छ । त्यस्तै, कोषाध्यक्ष १ जना र प्रवक्ता १ जना रहने अघिल्लो व्यवस्थालाई भने निरन्तरता दिइएको छ । त्यस्तै, सभापतिबाट मनोनीत हुने ६६ केन्द्रीय सदस्यको व्यवस्थासमेत गरिएको छ । यसरी हेर्दा १४औं महाधिवेशनले पारित गरेको १६७ सदस्यीय संरचना बढेर २९७ सदस्यीय भएको छ र पदाधिकारीको संख्या १४ बाट २६ पुगेको छ । अहिले संख्या किन बढाइयो ? महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिको तर्कअनुसार कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या बढेको छ । १४औं महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि रहेकोमा अहिले ७ हजार ५०० भन्दा बढी प्रतिनिधि छन् । पौडेलले केन्द्रीय संरचनाको आकार सदस्यताको अनुपातमा ठूलो नभएको बताएका छन् । उनले युवा सहभागिता बढाइएको र जनसम्पर्क समिति, बुद्धिजीवी, श्रमिक तथा द्वन्द्वपीडितलगायत समूहलाई प्रतिनिधित्व दिइएको बताएका छन् । उनले नेतृत्वमा जाने आकांक्षी बढेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता पनि रहेको बताए । त्यसैले संख्या बढाउनुको कारण केवल गुट व्यवस्थापन हो भन्नु तथ्य नभएर त्यो आलोचकको व्याख्या वा राजनीतिक दाबी भएको पौडेलको भनाइ छ । तर आकांक्षी व्यवस्थापन पनि एउटा कारण हो भन्ने कुरा चाहिँ कांग्रेसकै महामन्त्री पौडेलको सार्वजनिक भनाइबाट पुष्टि हुने कांग्रेसका अर्को समूहका नेताहरू बताउँछन् । नेता डा. प्रकाशशरण महतले गगन आफ्नै बोलीमा अडिन नसकेको टिप्पणी गरे । ‘अहिले गगन थापा सभापति छन् । उनकै नेतृत्वमा कांग्रेसको विधान संशोधन भएर पदाधिकारी १४ बाट २६ र केन्द्रीय कार्यसमिति १६७ बाट २९७ सदस्यीय बनेको छ,’ डा. महतले भने । हिजो देउवा नेतृत्वले पदाधिकारी बढाउँदा बेथिति देख्ने थापा अहिले आफै नेतृत्वमा पुगेपछि त्यसभन्दा ठूलो संरचना बनाइरहेका छन् । त्यसैले उनको पुरानो राजनीतिक मापदण्ड र अहिलेको व्यवहारबीच असंगति देखिने डा. महतको दाबी छ । यो दाबीलाई समर्थन गर्ने सबैभन्दा बलियो आधार स्वयं थापाको पुरानो अभिव्यक्ति भएको डा. महतले औंल्याए । तर अर्को पक्ष भने आजको कांग्रेस १४औं महाधिवेशनको कांग्रेस नभएको दावी गर्छ । केन्द्रीय सदस्य छन्द पहराई भन्छन्, ‘प्रतिनिधि संख्या बढेको छ, नयाँ पुस्ताको सहभागिता बढेको छ र समावेशी प्रतिनिधित्व विस्तार गर्नुपर्ने अवस्था आएको छ ।’ त्यसैले अहिलेको संरचनागत परिवर्तनलाई २०७८ को परिस्थितिसँग हुबहु तुलना गर्न नमिल्ने उनको तर्क छ । अडान बदलियो कि परिस्थिति ? राजनीतिक विश्लेषक परसुराम घिमिरेका अनुसार यस बहसको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही हो । उनी भन्छन्, ‘गगन थापाले आफ्नो पुरानो भनाइ फिर्ता लिएका छन् भन्ने कुनै स्पष्ट सार्वजनिक अभिलेख भेटिँदैन । उनले अहिलेको विधान संशोधनलाई २०७८ मा आफूले विरोध गरेको प्रक्रियाभन्दा किन फरक भनेर स्पष्टीकरण पनि स्पष्ट दिएको देखिँदैन ।’ गगनको २०७८ को अभिव्यक्ति र अहिलेको निर्णयबीच स्पष्ट तुलना हुने अवस्था बनेको घिमिरेको दाबी छ । यही विषयले नै गगन थापामाथि राजनीतिक प्रश्न खडा गर्ने कांग्रेसका अर्का नेता कृष्णप्रसाद खरेल दाबी गर्छन् । कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका सभापति समेत रहेका खरेल प्रश्न गर्छन्, ‘हिजो महाधिवेशनको मुखमा विधान संशोधन गर्नु बेथिति थियो भने आजको संशोधन त्यसबाट कसरी फरक छ ?’ ‘यदि फरक छ भने त्यसको आधार के हो ? पार्टीको आकार बदलिएको हो ?,’ उनी प्रश्न थप्छन् । विश्लेषक घिमिरेका अनुसार अहिलेको विवाद २९७ सदस्यीय केन्द्रीय समिति आवश्यक छ कि छैन भन्नेभन्दा पनि केही गहिरो छ । यो प्रश्न कांग्रेसको विधानभन्दा पनि राजनीतिक मापदण्डको स्थिरतासँग जोडिएको बताउँछन् उनी ।