रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन् । शनिबार पार्टीको कोसी प्रदेश समितिले आयोजना गरेको एक कार्यक्रममा उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ताकब्जा गरेको आरोप लगाएका हुन् । २०६२/६३ सालको परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकामा अहिले रास्वपा त्यस्तो शक्ति बनेर अघि आएको उनले टिप्पणी गरे । उनले कम्युनिस्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताए । वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको उनले आरोप लगाए । सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आमजनता तथा तल्लो वर्गको हित नगरेको उनले जिकिर गरे । सरकारका आर्थिक नीति माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उनले बताए । उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको उल्लेख गरे । कम्युनिस्ट पार्टी नेतृत्वले विगतमा गरेका कमजोरीका कारण निर्वाचनमा सर्मनाक हार व्यहोर्नुपरेको उनले बताए । त्यसमा बाह्य शक्तिको प्रभाव भए पनि त्यसलाई गौण कारणका रूपमा हेरिनुपर्ने उनको भनाइ थियो । उनले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताए । विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको उनले आरोप लगाए । उनले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताए । वर्तमान सरकारका नीतिका कारण सुकुम्वासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उनको भनाइ थियो ।

दर्जनौँ पार्टी मिलाएर ठूलो समिति बनाउँदा पनि चुनाव जितिएन : पम्फा भुसाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ समिति प्रति असन्तुष्टि जनाएकी छन् । पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउन नसक्ने बताएकी हुन् । उनले दर्जनौँ पार्टी मिलाएर ठूलो समिति भएको नेपाली कम्युनिस्ट पार्टी बनाउँदा पनि निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताइन् । मंसिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ । पार्टीका समितिहरू अत्यधिक ठूला बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेको उनले बताइन् । केन्द्रीय समितिसहित तल्ला तहका समितिमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उनको दाबी छ । उनले कम्युनिस्ट पार्टीका संगठनहरू चुस्त–दुरुस्त हुनुपर्ने बताइन् । साथै, पछिल्लो समय पार्टी नेताहरूमा पदको मोह बढ्दै गएको आरोप पनि लगाइन् । पदप्राप्ति र पदमोहका कारण कम्युनिस्ट आन्दोलन विघटनउन्मुख अवस्थामा पुगेको उनको भनाइ छ । महाधिवेशनका लागि आवश्यक सांगठनिक एकता पार्टी सदस्यसम्म पुर्‍याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका काममा पनि ढिलाइ भएको उनले बताइन् । भुसालले भनिन्, 'राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनताले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको दस्ताबेज संविधानको रक्षा गर्दै रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर अगाडि बढाउनुपर्छ। सिंगो वाम आन्दोलनलाई केन्द्रित गर्ने कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्छ। छरिएर रहेका देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नुपर्छ ।' उनले एकताका नाममा बनेको भद्दा संगठनमा जनवादको अभ्यास नै कमजोर भएको टिप्पणी गरिन् । सांगठनिक एकतालाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र पार्टी सदस्यता नवीकरणको काम समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् । भुसालले पछिल्लो समय राष्ट्र नै सबैभन्दा बढी संकटमा परेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । साथै, वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।

रास्वपाको नयाँ प्रवक्ता जगदीश खरेल, को–कसले पाए जिम्मेवारी ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट उनलाई प्रवक्तामा नियु्क्त गरेको हो । त्यस्तै पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभागमा लिमा अधिकारीलाई मनोनीत भएका छन् । सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनीत भएका छन् ।