काठमाडौं । भदौ १० बाटै राहत उद्धारमा जुटेको नुवाकोट एमाले १३ सदस्यीय समिति गठन गर्दै राहत उद्धारमा जुटेको छ ।
एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको संयोजकत्वमा जिल्ला राहत तथा उद्धार समन्वय समिति गठन गरिएको एमाले नुवाकोटले जनाएको छ ।
जिल्ला अध्यक्ष मैनालीका अनुसार समितिले प्रभावित क्षेत्रमा पार्टीका जनशक्ति परिचालन गर्नुका साथै केन्द्र र प्रदेश कमिटीसँग समन्वय गर्नेछ ।
जिल्ला पार्टी कार्यालय विदुरमा बसेको जिल्ला सचिवालय बैठकले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसहित सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकले राज्यबाट उपलब्ध हुने राहत तथा पुनःस्थापनाको समन्वय र व्यवस्थापनका लागि केशवराज पाण्डे, विन्दु ढुंगाना, नारायण खतिवडा, बद्री मैनाली र बुद्धिबहादुर प्रधान सम्मिलित अर्को समिति पनि गठन गरेको मैनालीले जानकारी दिए ।
एमालेले मातहतका सबै कमिटी तथा जनसंगठनलाई २४ घण्टा उद्धार तथा सहयोगका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सबै पालिकालाई भदौ १८ गतेभित्र बैठक बसेर विपद्को तथ्यांक संकलन गरी जिल्ला पार्टी कार्यालयमा बुझाउन पनि निर्देशन दिइएको छ ।
बैठकले राहत सामग्री तथा आर्थिक सहयोग वितरणमा पारदर्शिता कायम गर्न अभिलेख राख्न र गठित समिति तथा उपसमितिको कामको नियमित समीक्षा गर्ने निर्णय गरेको छ ।
एमाले नुवाकोटले बाढी–पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको तत्काल खोजी तथा उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।