रविन्द्र मिश्रले राजनीति त्यागे, राप्रपा छाडे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारी र दलीय राजनीतिबाट तत्कालका लागि अलग हुने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत मिश्रले आफू अब ‘गैरदलीय’ (स्वतन्त्र) रूपमा वैचारिक अभियानमा सक्रिय रहने जानकारी दि‍ए । काठमाडौं– १ मा पराजित भएसँगै उनले राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा कुनै निराशा वा हतारको उपज नभई गहिरो आत्ममन्थनको परिणाम भएको बताएका छन् । मुलुकमा राजसंस्थाको पक्षमा जनलहर हुँदाहुँदै पनि राप्रपाले त्यसलाई सही ढंगले पूँजीकृत गर्न नसकेको उनको ठहर छ । यसमा नेतृत्वको हैसियतले आफू पनि जिम्मेवार रहेको उनले स्वीकार गरेका छन् । ‘विचारभन्दा माथि देश’ र ‘देशका लागि नरेश’ को मार्गलाई अघि बढाउन संरचनागत पुनरावलोकन आवश्यक रहेको र विद्यमान दलीय संरचनाबाट त्यो सम्भव नदेखेको पनि मिश्रले संकेत गरे । उनले भर्खरै सम्पन्न निर्वाचनमा सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै नेपाली राजनीतिको दिशाप्रति चिन्तासमेत व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘‘प्रचण्डपथ’ मा पट्टी लगाएको घोडा सरह एकोहोरो दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भन्ने कामना गर्दछु ।’ मिश्रले दलीय राजनीति छाडे पनि आफ्ना मुद्दाहरूबाट पछि नहट्ने पनि प्रस्ट पारेका छन् ।
एमालेले केपी ओलीको हार स्वीकार्यो, महासचिव पोखरेलको बालेनलाई बधाई
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नराम्रो पराजय स्वीकार गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा धारणा राख्दै उनले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ मत दिएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिएको बताएका हुन् । उनले भनेका छन्, ‘आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको छ । जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ अभिमत दिएका छन् । जनविश्वास अनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना ।’ अहिले झापा–५ मा मतगणना जारी छ । जहाँ एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा छन् । बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि छन् । एमालेले अहिले नै हार स्वीकार गर्दै बोलनलाई बधाई दिएको हो । महासचिव पोखरेलले भनेका छन्, ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो । शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो । तर ‘परिवर्तन’ को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन ।’ उनले ‘जिन्दगी हो-हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ’ गीत सम्झिएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताएका छन् ।
झापा- ५ मा बालेनले ४२ हजार कटाउँदा ओलीले ११ हजार ४२७ मत पाए
काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी मन्थरा चिमरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।