काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।
नेता ज्ञवालीका अनुसार लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेका छन् ।
ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको उनको तर्क छ ।
संसदभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको औंल्याए ।
झन्डै दुई–तिहाइको जनादेशका कारण सरकारले भोलि संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
संसदमा संविधान निर्माण गर्ने पक्षधर शक्तिहरूको उपस्थिति कमजोर रहेकाले पनि अधिनायकवादको खतरा बढेको उनको भनाइ छ ।