काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार गगन थापाले पार्टी सबैको संघर्ष र योगदानबाट बनेको बताउँदै १५औं महाधिवेशनको बन्दसत्रमा पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरू मञ्चमा अनुपस्थित रहेकोमा दुःख व्यक्त गरेका छन् ।
बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति देउवाले पार्टी निर्माण र प्रजातान्त्रिक संघर्षमा लामो समय ठूलो योगदान पुर्याएको स्मरण गर्दै महाधिवेशनमा शीर्ष नेताहरूको उपस्थिति नहुनुले आफूहरूलाई खुसी नतुल्याएको र मञ्चमा अग्रज नेताहरू पनि हुनुपथ्र्यो भन्ने लागेको बताए ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत नै भएको दाबी गर्दै थापाले महाधिवेशनपछि सबै पक्षलाई जोडेर पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूले लिने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, अर्को प्रसङ्गमा नेता थापाले अदालतबाट निर्णयको अपेक्षा गरेर बस्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरे । सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादलाई संवैधानिक इजलासमा लैजाने निवेदन दरपीठ गरिदिएको सन्दर्भ उल्लेख गर्दै उनले अदालतबाट भएको यो आठौं निर्णय रहेको बताए ।
उनले पार्टी मिलाउने र एकताबद्ध बनाएर लैजाने काम आफूले गर्ने भन्दै अन्य नेता-कार्यकर्तालाई आ-आफ्नो जिम्मेवारीअनुसार काममा जुट्न आग्रह गरे ।