चाडपर्व नजिकिँदै गर्दा कर, भन्सार र बजार अनुगमनको समस्याबारे व्यापार संघमा छलफल

काठमाडौं । महान् चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजारको व्यावसायिक वातावरण, बजार व्यवस्थापन तथा समसामयिक समस्या र समाधानका उपायबारे मोरङ उद्योग व्यापार संघमा सरोकारवाला व्यवसायीहरूबिच छलफल सम्पन्न भएको छ । 

संघका अध्यक्ष अनिल कुमार साहको अध्यक्षता तथा आमन्त्रित सदस्य पंकज दुगडको सञ्चालनमा आयोजित कार्यक्रममा स्थानीय व्यवसायीहरूले दैनिक व्यापार-व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत र व्यवहारिक कठिनाइहरू प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा व्यवसायीहरूले अत्यावश्यक वस्तुको आयातमा उच्च भन्सार मूल्यङ्कन, महसुल, अन्तःशुल्क र भ्याटका कारण मूल्यवृद्धि भई व्यापार प्रभावित भएको गुनासो गरे । 

साथै एमआरपी लेबलिङको झन्झट, दोहोरो व्यावसायिक कर, घरबहाल कर, फोहोर व्यवस्थापन शुल्क, र डिजिटल कारोबारमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । 

चाडपर्वको मुख्य किनमेलको समय (पिक-आवर) मा हुने अनुगमनलाई व्यवस्थित बनाउन र सीमावर्ती बिहार राज्यका करिब १७ करोड जनसंख्यालाई लक्षित गरी उपभोक्ता अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिए । 

व्यवसायीका समस्यालाई सम्बोधन गर्दै अध्यक्ष साहले सम्पूर्ण मागहरूलाई स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष पुर्याएर समाधानका लागि सशक्त पहल गर्ने प्रतिबद्धता जनाउँदै चाडपर्वमा बजारलाई मर्यादित र उपभोक्तामैत्री बनाउन आग्रह गरे । 

Share News