सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

काठमाडौं । सदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सरकारले बल्ल प्रदेशसभामा बजेट प्रस्तुत गरेको हो । लामो राजनीतिक खिचातानी र सत्ता गठबन्धनभित्रको असहमतिका कारण रोकिएको बजेट आइतबार प्रदेशसभामा पेस गरिएको हो । अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिँदै बजेटमा आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो ।   प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।  बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ । यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ । यसअघि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो । तर, नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा उत्पन्न समस्याका कारण उक्त बजेट पारित हुन सकेन । त्यसपछि साउन २९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । तर, नयाँ सरकार बनेपछि पनि बजेटको आकार, प्राथमिकता र बाँडफाँटमा गठबन्धनका दल तथा मन्त्रिपरिषद्का सदस्यबीच सहमति जुट्न सकेन । राजनीतिक सहमति नजुट्दा प्रदेश सरकार बजेटविहीन अवस्थामा रहनुपरेको थियो ।  आर्थिक वर्ष सुरु भइसकेपछि पनि बजेट पारित नहुँदा विकास निर्माण, सरकारी खर्च र प्रदेशका नियमित कार्यक्रम सञ्चालनमा अन्योल उत्पन्न भएको थियो ।

उपसभापतिमा भण्डारीको अग्रता कायमै, कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतगणनामा उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र विनोदकुमार चौधरीको अग्रता कायमै छ ।  महामन्त्रीतर्फ प्रदीप पौडेल र डा. डिला संग्रौला (पन्त) अगाडि देखिएका छन् । हालसम्म ३ हजार ४३५ मतगणना हुँदा खुलातर्फको उपसभापतिमा भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । उनलाई ई. मधु आचार्यले १ हजार ९० मतसहित पछ्याइरहेका छन् । उनीहरूबीच ५९६ मतको अन्तर छ । त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् । समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी ८९६ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले ८२९ मत प्राप्त गरेका छन् । चौधरी र परियारबीच ६७ मतको अन्तर छ । यसैगरी, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् । महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ५५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार १५९ मत पाएका छन् । उनीहरूबीच ८९६ मतको अन्तर छ । महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् । महिला महामन्त्रीतर्फ भने डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा देखिएको छ । संग्रौलाले १ हजार ५१७ मत प्राप्त गर्दा उपाध्यायले १ हजार ३९८ मत पाएकी छन् । उनीहरूबीच ११९ मतको अन्तर छ । अर्की उम्मेदवार रीता खनालले ३६५ मत प्राप्त गरेकी छन् ।

महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनको मतगणनामा महामन्त्रीतर्फ प्रदीप पौडेल र उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् । कुल ७ हजार ४३ मत खसेको निर्वाचनमा २ हजार २३१ मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले ७१२ मत पाएका छन् । सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन् । खुला उपसभापतिमा दुई जना निर्वाचित हुनेछन् । समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् । जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन् । यस समूहबाट एक जना निर्वाचित हुनेछन् । महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले १ हजार ३८१ मतसहित अग्रता कायम गरेका छन् । उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन् । खुला महामन्त्रीमा दुई जना निर्वाचित हुनेछन् । महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन् । महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ र रिता खनालले २५१ मत पाएकी छन् । महिला महामन्त्रीमा एक जना निर्वाचित हुनेछन् । मतगणना जारी रहेकाले यी परिणाम प्रारम्भिक हुन् । अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । यस्ताे छ पाएकाे मत : कांग्रेस महाधिवेशनमम कूल खसेको मत : ७०४३  गणना : २२३१  उपसभापति (खुल्ला-२ जना) १. गोविन्द भट्टराई - ६०९ २. डा. चन्द्रकान्त भण्डारी - १०५७  ३. प्रा. डा. चन्द्रमोहन यादव - १९३ ४. दीपक गिरी - ३०१ ५. धनराज गुरुङ्ग - ४०६ ६. ई. मधु आचार्य - ७१२ ७. सुरेन्द्रराज पाण्डे - ६८० उपसभापति (समावेशी-१ जना) १. जीवन परियार - ५७८ २. फरमुल्लाह मन्सुर -२८५ ३. विनोद कुमार चौधरी - ६१५ ४. रञ्जित कर्ण -१८३ ५. सीता गुरुङ्ग - ३३४ महामन्त्री (खुल्ला- २ जना ) १. अमरसिंह पुन - ६९५ २. उदय शम्शेर राणा - ७८६ ३. गुरुराज घिमिरे - ३२८ ४. नैनसिंह महर - २७० ५. प्रदीप पौडेल - १३८१ ६. शंकर तिवारी - ४६ ७. डा. सन्तोष उपाध्याय - २८ ८. डा. सुनिल कुमार शर्मा - ५२६ महामन्त्री (महिला-१ जना) १. डा. डिला संग्रौला (पन्त)- ९६५ २. महालक्ष्मी उपाध्याय (डिना) - ९५२ ३. रिता खनाल - २५१