वीरगन्जका मेयर सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी

काठमाडौं । जिल्ला अदालत, पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । 

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार आज सिंहसँग ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

अदालतका अनुसार लिखित कीर्तेसम्बन्धी कसुरको मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको हो ।

आज पक्राउ परेका उनलाई आजै अदालतमा पेश गरिएको थियो । धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्।

जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई आज बिहान पक्राउ गरेको हो । झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा उनी पक्राउ परेका हुन् ।

पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको हो ।

गत १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

सिंहमाथि अर्काकी छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर नक्कली हस्ताक्षरका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी बनाएको आरोप छ । यही विषयमा दर्ता भएको उजुरीका आधारमा अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गर्दै लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको लिखत सम्बन्धी कसुर मुद्दामा नगरप्रमुख सिंहसहित तीन जनालाई सात दिनभित्र खोजतलास गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो ।

Share News