'भूतघर'मा परिणत चाँदबाग, पार्क बनाउने स्थानीयको प्रस्ताव

काठमाडौं । ९ महिना अघिसम्म काठमाडौंको बाँसबारीमा रहेको चाँदबाग स्कुलको परिसरमा भिन्नै रौनकता देखिन्थ्यो ।  विद्यार्थीहरूको भीडभाड, शिक्षक तथा कर्मचारीको चहलपहल, कक्षाभित्र लय मिलाई पढ्ने विद्यार्थीहरूका सुरिलो स्वर गुञ्जिने यो परिसर अहिले सुनसान छ ।  विद्यालय परिसरमा अहिले जलेका स्कुल बस, टुटफुट गरिएका भवन र ताला लगाइएका कक्षा कोठामात्र देखिन्छन् । जुन बाहिरबाट हेर्दा लाग्छ– यो वर्षौंदेखि मान्छे बस्न छोडेको ‘भूतघर’ हो । चाँदबाग गत बैशाखमै काठमाडौंको जोरपार्टी सरिसकेको छ । सरकारी स्वामित्वको जग्गा छोड्न काठमाडौं महानगरले दबाब दिएपछि स्कूल सरेको हो । उजाड विद्यालय भवनको प्रवेशद्वारमा ताला लगाइएको छ । विद्यालय परिसर उजाड देखिए पनि एकजना सेक्युरिटीगार्ड भने राखिएको छ ।   सुरक्षागार्डले विद्यालय परिसरमा स्थानीय, मिडिया सबैलाई प्रवेशमा रोक लगाइएको छन् । चाँदबागले छोडेको जग्गा विद्यालय भवन अहिले कुन कामका लागि प्रयोजन भइरहेको छ भन्ने विषयमा  विकासन्युजका प्रतिनिधि बाँसबारी पुग्दा विद्यालय प्रवेशमा रोक लगाइयो । परिसरभित्र प्रवेशका लागि चौधरी ग्रुपको अनुमति चाहिने भन्दै सुरक्षा गार्डले भित्र जान रोके।  ‘म यहाँको रेखदेख गर्ने पाले हुँ । मलाई कुनै कुरा थाहा हुँदैन,’ उनी भन्छन्, ‘माथिको आदेश विना म यो ढोका खोल्न सक्दैन ।’ भवनको रेखदेखबाहेक अन्य कुनैपनि विषय आफूलाई जानकारी नभएको उनले सुनाए ।  चौधरी ग्रुपका एक उच्च कर्मचारीले भने चाँदबाग स्कूल सरेसँगै गत बैशाख महिनादेखि नै जग्गा पनि छोडेको बताए । विद्यालयभित्र प्रवेशको अनुमति नपाए विकासन्युजका प्रतिनिधि नजिकै रहेको गङ्गालाल अस्पताल पुगे । अस्पताल प्रशासनको अनुमतिअनुसार अस्पतालको छतबाट फोटो र भिडियो कैद गरे ।  काठमाडौं महानगर ३ नम्बर  वडा सदस्य कृष्णराज चालिसेका अनुसार महानगरले पटकपटक जग्गा छोड्नभन्दा पनि चौधरी ग्रुपले खाली गराएको छैन ।  चाँदवाग स्कूलले छोडेको संरचनामा भदौ २४ गतेजेन्जीहरूले आगो लगाए, तोडफोड गरे । जेनजी आन्दोलनमा जलेका ६ वटा स्कुलबस अझै पनि विद्यालयमै छन् ।  ‘परिसरमा रहेका जलेका संरचनाहरू हटाउन मानेका छैनन् । कहिले बीमाको सर्भे भएको छैन भन्छन् त कहिले के बहाना बनाउँछन् । अब चाँडै हामी त्यो जग्गामा सार्वजनिक पार्क बनाउने तयारी गरिरहेका छौं,’ उनले थपे । जग्गा सरकारको नाममा कुनै बेला बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले हडपेर स्कूल चलाएको विषय अदालतसम्म पुग्यो । अदालतको फैसलापछि उक्त जग्गा सरकारीकरण भएको छ । मालपोत कार्यालय, डिल्लीबजारले २०८० साल चैत ९ गते  कित्ता नम्बर ५८ को ४ सय ८७ वर्गामिर क्षेत्रफलको जग्गा सरकारको नाममा ल्याएको थियो ।  सरकारको नाममा आएको जग्गा २०८१ साल साउन ८ गते काठमाडौं महानगरको वडा नम्बर ३ लाई जग्गाको श्रेष्ता उतारेर दिएको थियो । गत बैशाखामा चाँदबाग जोरपाटी सरेको थियो । पार्क बनाउने तयारीमा वडा कार्यालय चाँदबागले विद्यालय सारेसँगै जग्गा प्रयोजनका लागि विभिन्न पक्षको दौडधूप बढेको छ । अस्पतालदेखि प्रहरीले जग्गा प्रयोजनका लागि प्रयास गरेपनि वडा कार्यालयले भने अब स्थानीहरूकै सल्लाहमा जग्गाको प्रयोग गरिने बताएको छ ।  बाँसबारीका स्थानीय एवं वडा नम्बर ३ का वडा सदस्य कृष्णराज चालिसेले त्यो जग्गा कुनै संघसंस्थालाई प्रयोजनका लागि नदिने बताए ।  ‘धेरै संघसंस्थाबाट जग्गा लिनका लागि दवाव आइरहेको छ, हामीले भने यो जग्गा के गर्ने भन्ने विषयमा त्यहाँ स्थानीयको राय लियौं । सबैले खुला चौर राख्नुपर्छ भन्ने सुझाव दिए,’ उनी भन्छन्,  ‘२०७२ सालमा भूकम्प आउँदा खुला ठाउँ नहुँदा सास्ती पाएको भन्दै हामीलाई खुला ठाउँ चाहिन्छ भन्नुभएको छ, सायद त्यो जग्गा अब खुला चौर हुन्छ ।’  नम्बर ३ का वडा सदस्य कृष्णराज चालिसे जुत्ता कारखानाले स्थानीयहरूकै जग्गा हडेपेर संरचना बनाएको बताउँदै चालिसेले अब स्थानीयकै सहजताका लागि उहाँहरूकै माग अनुसार पार्कसहितको खुला मैदान बनाउने तयारी वडाले गरिरहेको छ ।  ‘हाम्रो जग्गा हामीले नै उपयोग गर्न पाउनुपर्छ हामीलाई हावा खाने, घाम ताप्न मिल्ने खुला ठाउँको अभाव छैन । यो जग्गा कसैलाई दिनुभन्दा पनि हाम्रै लागि प्रयोग हुनुपर्छ भन्ने एकमुष्ठ स्वर उठेको छ, अब हामी त्यसै गर्छौ,’उनले भने ।

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ ।       शुक्रबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।   मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना,  धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा सुशील शाह र शीतल भुसाल रहेका छन् ।   

हिङमाङ एकता समाजद्वारा महायज्ञ भव्य रूपमा सम्पन्न

काठमाडौं । हिङमाङ एकता समाज खोटाङको आयोजनामा सनातन वैदिक धर्म, आध्यात्मिक चेतना र सामाजिक एकताको गहिरो सन्देश बोकेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । गत मंसिर २१ गतेदेखि मंसिर २७ गतेसम्म महायत्र आयोजना सम्पन्न गरिएको आयोजक कुमार हेङमाङले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित कन्चने डाँडा हिङमाङ गाँउमा सम्पन्न महायज्ञले उक्त क्षेत्रलाई धर्म, संस्कार र सामूहिक एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताए । ‘धर्म, संस्कार र एकता–हाम्रो पहिचान’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त महायज्ञले हिङमाङ परिवार मात्र नभई समग्र समाजमा आध्यात्मिक ऊर्जा सञ्चार गरेको सहभागीहरुले बताए । महायज्ञमा श्रीमद् भागवत महापुराणको सातौं दिवससम्म शतचण्डी महारुद्राभिषेक, नित्य जप, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन, चारपल्ट विशाल महाआरती तथा लाखौँ दीप प्रज्वलन जस्ता विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए । दिनहुँ वैदिक मन्त्रोच्चारण, भजन-कीर्तन र कथा-प्रवचनले वातावरण भक्तिमय बन्दै जाँदा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति थियो ।  ओमकार धार्मिक सेवा समिति कपन, काठमाडौंको सहकार्यमा गणेश पन्तले २७८ थान श्रीमद् भागवत गीता निःशुल्क रूपमा वितरण गरे । ‘ज्ञान बाँडौँ, पुण्य कमाऔँ’ अभियान अन्तर्गत गरिएको उक्त कार्यले धार्मिक ग्रन्थमार्फत जीवन दर्शन, नैतिकता र कर्मयोगको सन्देश पुर्याउने विश्वास लिएको पन्तले बताए । हिङमाङ एकता समाजका अध्यक्ष कुमार हिङमाङ, उपाध्यक्ष डोरनाथ हिङमाङ, सह-सचिव कुलबहादुर हिङमाङ तथा व्यवस्थापक सन्जय हिङमाङले महायज्ञ सफल महत्वपूर्ण भूमिका निर्वाह गरे । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सद्भाव, अनुशासन र आपसी सहकार्यको भावना अझ बलियो बनाउने उनीहरुको विश्वास छ । समग्रमा, हिङमाङ एकता समाज खोटाङद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ केवल धार्मिक अनुष्ठानमा सीमित नरही सामाजिक एकता, सांस्कृतिक पहिचान र आध्यात्मिक जागरणको अनुपम उदाहरण बनेको छ । यसले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा पुण्यकार्यलाई निरन्तरता दिन सबैलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ ।