एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं  । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैंमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गरे ।  उनले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिए । 'देशको प्रतिनिधित्व गरेर जान लाग्नुभएको छ । सीमित स्रोत र साधनका बाबजुद मेहनत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,' मन्त्री पोखरेलले भने, ' प्रतियोगितामा सहभागी हुनु जित्नकै लागि हो । तर जिते पनि नजिते पनि खेलाडीको सम्मान राज्यका तर्फबाट घट्ने छैन । अहिले जसरी बिदाइ गरिएको छ, भोलि जितेर आए पनि हारेर आए पनि त्यति नै सम्मानका साथ स्वागत गर्नेछौं ।'  उनले नेपाली खेलाडीमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा हासिल गर्न सरकारबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताए । खेलाडीको क्षमता विकास, प्रशिक्षण, खेल पूर्वाधार तथा खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।  जापानमा आगामी असोज ३ देखि १८ गतेसम्म आयोजना हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २१ खेलका १३५ खेलाडी रहेका छन् । तीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी छन् । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथि, सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारीसमेत सहभागी हुनेछन् । नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ मात्र नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्नेछ ।  नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औं संस्करणमा जितेको थियो। त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकबिहीन भएर फर्किएको छैन । सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय एक्सपोजरको व्यवस्था गर्दै आएको जनाएको छ ।  विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् । नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ । तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर उच्चस्तरीय तयारी गराइएको जनाइएको छ । यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा समान छ/छ खेलाडी सहभागी हुनेछन् । खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक-फरक मितिमा जापान पुग्नेछन् ।

अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा चुनौती, कसरी हुँदैछ व्यवस्थापन ?

काठमाडौं । रसुवामा आएको बाढीका कारण १ सय २ जना बालबालिका अभिभावक विहीन भएका छन् । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका बालबालिकाले अभिभावकसँगै बालसखा, विद्यालय र बसोबास गर्ने स्थलसमेत गुमाएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बाढी प्रभावित बालबालिकालाई रसुवा, नुवाकोट र धादिङका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । अभिभावक गुमाएका १ सय २ बालबालिकामध्ये ४९ जना बालिका र ५३ जना बालक छन् । राष्ट्रिय बालबालिका परिषदका सदस्य सचिव दुर्गा चालिसेका अनुसार शुक्रबारसम्म विभिन्न होल्डिङ सेन्टरमा १ हजार २ सय ३३ बालबालिका रहेका छन् । तीमध्ये ६ सय ३२ बालिका र ६ सय १ बालक छन् । अपाङ्गता भएका बालबालिका २१ जना छन् । होल्डिङ सेन्टरमा बाबुआमासँगै बसिरहेका ६ सय ९२ बालबालिका छन् । त्यसमध्ये ३ सय ६१ बालिका र ३ सय ३१ बालक छन् । यसैगरी, बाबुआमाबाट छुट्टिएर वा बिछोडिएर बसेका ४ सय ३९ बालबालिका छन् । तीमध्ये २ सय २२ बालिका र २ सय १७ बालक रहेका छन् । चालिसेले शुक्रबारसम्म विभिन्न होल्डिङ सेन्टरमा राखिएका बालबालिकाको यो वास्तविक तथ्याङ्क भएपनि स्थानीय तहको पहल, पारिवारिक पुनर्मिलन वा स्थानान्तरणका कारण संख्यामा केही परिवर्तन हुन सक्ने बताए । बाढी प्रभावित बालबालिकाको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गरिरहेको उनले जानकारी दिए । आवश्यक मनोपरामर्श, खानपानलगायतका आवश्यक सामग्रीको व्यवस्थापन पनि स्थानीय तहबाटै भइरहेको उनको भनाइ छ । तर बाढी प्रभावित बालबालिकालाई बालगृहमा नराखिने उनले स्पष्ट पारे । अभिभावक गुमाएका बालबालिकालाई संरक्षण दिन गोदावरीमा छुट्टै स्थान तयार भइरहेको उनले जानकारी दिए । ‘अभिभावक गुमाएका बालबालिकालाई गोदावरीमा राख्ने गरेर भवन तयारी भइरहेको छ,’ चालिसेले भने, ‘बालबालिकाको पहिचान तथा स्क्रिनिङ गरेर प्रभावित बालबालिकालाई राखिन्छ । अभिभावक नभएका बालबालिकालाई संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ उनका अनुसार होल्डिङ सेन्टरबाट बालबालिकालाई स्थानान्तरण गर्दा उनीहरूको हेरचाहमा निरन्तरता नहुने समस्या देखिएको छ ।  बालबालिकाको पारिवारिक सम्बन्ध र उनीहरूलाई परिवारसँग कसरी जोडिराख्ने भन्ने विषयमा समेत पर्याप्त ध्यान पुग्न नसकेको उनले बताए । अस्थायी आश्रयस्थलमा बसोबास गर्ने सबै व्यक्तिलाई एउटै हलमा राखिँदा आमाबाबु नभएका, कम उमेरका बालबालिका तथा किशोरकिशोरीका विशेष आवश्यकता सम्बोधन गर्न कठिनाइ भइरहेको छ । ‘बालबालिकालाई नियमित रूपमा खाना, सरसफाइ, भावनात्मक साथ तथा दैनिक हेरचाह उपलब्ध गराउन कठिनाइ रहेको छ,’ उनले भने, ‘विशेषगरी साना बालबालिका, अपाङ्गता भएका बालबालिका तथा निरन्तर हेरचाह आवश्यक पर्ने बालबालिकाको दैनिक आवश्यकता अन्य बालबालिकाभन्दा भिन्न हुन्छ ।’ भीडभाडयुक्त आवास, सीमित व्यक्तिगत स्थान, अभिभावकको मानसिक तनाव तथा विपद्का कारण उत्पन्न पारिवारिक दबाबले बालबालिकाको निगरानी र हेरचाह प्रभावित भइरहेको चालिसेले बताए ।  रसुवा र नुवाकोटका अस्थायी आश्रयस्थलमा रहेका बालबालिका बेवास्ता तथा अपर्याप्त हेरचाहको जोखिममा रहेको उनको भनाइ छ । ‘अभिभावक गुमाएका, अभिभावकसँग अलग्गिएका वा विछोडिएका बालबालिकाहरू रुने, चिच्याउने गरिरहँदा पनि सम्झाउने, बुझाउने, फुल्याउने व्यक्तिको अभाव रहेको छ,’ उनले भने । पारिवारिक तनाव र कमजोर निगरानीका कारण बालबालिका हिंसा तथा दुव्र्यवहारमा पर्न सक्ने जोखिमसमेत रहेको उनले बताए । अपाङ्गता भएका बालबालिका थप जोखिममा बाढीपछि अपाङ्गता भएका बालबालिकाले आश्रय, खाद्यान्न, सेवा, यातायात तथा मानवीय सहायता प्राप्त गर्न थप कठिनाइ भोगिरहेको चालिसेले बताए । ‘अपाङ्गता भएका बालबालिकासँग ह्वीलचेयर तथा अन्य अत्यावश्यक सहायक सामग्रीको अभाव रहेको छ,’ उनले भने, ‘अस्थायी आश्रयस्थलमा आवतजावत गर्ने बाटो, शौचालय तथा अन्य संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नरहेको पाइएको छ ।’ राहत वितरण तथा सूचना प्रवाहमा समेत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको आवश्यकताअनुसार पहुँच सुनिश्चित हुन नसकेको उनले बताए । ‘अपाङ्गता भएका बालबालिकाका लागि सामान्य बालबालिकाभन्दा अतिरिक्त हेरचाह, आवतजावत सहयोग तथा सहायक सामग्री आवश्यक पर्ने अवस्था रहेको छ,’ उनले भने । आश्रयस्थलमा गर्भवती र नवजात शिशु पनि जोखिममा बाढी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको अवस्था पनि विशेष जोखिमपूर्ण देखिएको छ । विदुर नगरपालिकाको विवरणअनुसार भदौ १९ गतेसम्म २ हजार ८१ जना होल्डिङ सेन्टरमा बसोबास गरिरहेका छन् । तीमध्ये १४ जना गर्भवती, ५३ जना स्तनपान गराइरहेका महिला, दुई वर्षमुनिका ४६ जना बालबालिका र ३ देखि ५ वर्ष उमेर समूहका १ सय ३ जना बालबालिका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) का अनुसार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब ४ हजार ४ सय ३० जना गर्भवती महिला रहेको अनुमान गरिएको छ । एक महिनामा करिब ४ सय ९२ प्रसूति हुने र ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने अनुमान छ । चालिसेका अनुसार बाढीपछि त्रिशूली अस्पतालको प्रसूति विभागमा ९ जना महिलाको प्रसूति भएको छ भने थप ४ जना प्रसूति बिरामीलाई उपचारका लागि अन्यत्र रेफर गरिएको छ । विपद्को समयमा गर्भवती, सुत्केरी महिला र नवजात शिशुलाई सामान्य राहत वितरणको एउटै समूहमा राख्न नहुने चालिसेको भनाइ छ । ‘सुरक्षित तथा गोप्य स्थान, पर्याप्त पोषण, मातृ तथा नवजात स्वास्थ्य सेवा, आवश्यक औषधि, प्रसूति सेवामा शीघ्र पहुँच र मनोसामाजिक सहयोगलाई लक्षित गरी व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।

न्यान्सी-सुशीलको ‘अक्षरा’को डिजिटल अधिकार बिक्री, भदौ २६ देखि देशभर प्रदर्शन

काठमाडौं । नारी जीवनका संघर्ष, आत्मसम्मान, प्रेम र पारिवारिक सम्बन्धका विविध आयामलाई कथावस्तु बनाइएको नेपाली चलचित्र अक्षरा’  को सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटल इन्टरटेन्मेन्टले खरिद गरेको छ ।  निर्देशक विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्र आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । डिजिटल अधिकारसम्बन्धी सम्झौतामा निर्माण पक्षका प्रतिनिधिसँगै मुभिज डिजिटल इन्टरटेन्मेन्टका प्रदीप धामी, पुष्कर शर्मा घिमिरे र आशिष तामाङ सहभागी थिए ।   निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकारसमेत बिक्री भइसकेको छ । अब चलचित्रका गीत, ट्रेलरलगायत डिजिटल सामग्री सम्बन्धित प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ ।  स्वर्गीय परीक्षित ढुङ्गानाको सम्झनामा निर्माण गरिएको ‘अक्षरा’को प्रदर्शन पोस्टरसमेत सार्वजनिक भइसकेको छ । पोस्टरमा ‘कतिञ्जेल नारीले मात्र आफ्नो घर, थर सार्नुपर्नेरु अरूलाई खुसी पार्ने बहानामा सधैं आफैं हार्नुपर्ने’ भन्ने भावलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा न्यान्सी खड्का र सुशील सिटौला मुख्य भूमिकामा छन् । न्यान्सीले यसअघि ‘१२ गाउँ’मार्फत दर्शकमाझ आफ्नो अभिनयको प्रभाव छाडेकी थिइन् । ‘अक्षरा’मा भने उनी फरक र चुनौतीपूर्ण भूमिकामा देखिँदैछिन् ।  चलचित्रमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाहा, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदीप थुलुङ, विश्वनाथ तामाङ, रवीन्द्र अधिकारी, प्रज्वल दुलाल र निशा कुइकेललगायत कलाकारको अभिनय छ । बालकलाकारका रूपमा रोनक खड्का र प्रिसा ढुङ्गाना रहेका छन् ।  चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन् ।  उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापा काजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्। सोनी थापा ढुङ्गानाको प्रस्तुति रहेको चलचित्रको निर्देशन पौडेलले गरेका हुन् ।  ‘अक्षरा’का गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको छ । अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वरमा गीत समावेश छन् । चलचित्रको तीज विशेष गीत ‘नाचौँ न बरिलै’ यसअघि नै सार्वजनिक भइसकेको छ ।  दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन र गौतम खड्काको सम्पादन रहेको चलचित्रको पोस्टर डिजाइन राकेश दाहालले गरेका छन् ।  चलचित्रको देशव्यापी वितरण नेसनल सिने ग्रुप नेपालमार्फत दीपक दङ्गालले गर्नेछन्। निर्माण पक्षले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार-प्रसारलाई तीव्र बनाउने जनाएको छ ।  ट्रेलर तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गर्दै दर्शकमाझ चलचित्रको विषयवस्तु र पात्रबारे जानकारी पुर्‍याउने तयारी निर्माण पक्षको छ ।