काठमाडौं । महाराजगञ्जस्थित केनाइन कार्यालयमा ‘जम्बो’को दैनिकी आफ्नै लयमा बित्थ्यो। बस्ने, खाने र कार्यालय परिसरमै यताउता डुल्ने- उसको संसार यतिमै सीमित थियो । ठूला- ठूला अपराधका घटनास्थलमा पुगेर प्रमाणको गन्ध पछ्याउने र खोजीमा प्रहरीलाई सघाउने जम्बोको परिचय भने फरक थियो ।
अपराध अनुसन्धानमा खटिने तालिम प्राप्त कुकुर अहिले अपराधस्थल होइन, भोटेकोशीको किनारामा हिँडिरहेको छ । रसुवामा आएको विनाशकारी बाढीले जम्बोको कार्यशैली मात्रै होइन, उसको दैनिकी नै बदलिदिएको छ ।
जम्बोको बित्ने दिनहरू अहिले बाढीले तहसनहस पारेका भग्नावशेष र शवको खोजीमा बित्न थालेका छन् । हिजोसम्म अपराधको गन्ध पछ्याउने जम्बो आज बाढीले बगाएका बेपत्ताको खोजीमा निस्किएको छ ।
पहिले जस्तो अहिले जम्बोलाई आराम छैन । उसको एक्कासी समय मात्र नभइ वातावरणसमेत बदलिएको छ । समय मात्र नभइ उसको दिनचर्या परिवर्तन भएको छ ।
अहिले रसुवाको भोटेकोशी किनारा र बाढीमा दबिएको घरमा शव खोज्दै समय बितिरहेको छ । बाढीले बगाएर ल्याएको शव खोज्नु जम्बोको नित्यकर्म बनेको छ । प्रहरीको अघि-पछि लाग्नु र खोलाले बगाएको शव खोज्नु पहिलो काम बनेको छ ।
भदौ १० गते रसुवामा आएको बाढी धेरै मानिसले ज्यान गुमाएका छन् । कयौँ मानिसहरू बेपत्ता पनि छन् । रसुवा, नुवाकोट र धादिङ लगायतका स्थानमा ठूलै धनजनको क्षति गरेको छ ।
अहिले तिनै बेपत्ता मानिसकका शवहरूको खोजीमा प्रहरीका साथ जम्बो सक्रिय छन् । दुई सातादेखि जम्बोले रसुवामा बिताइरहेको छ । उसँगै नेपाल प्रहरीको केनाइन कार्यालयबाट पाँच वटा कुकुरहरू बाढी प्रभावित क्षेत्रमा परिचालित छन् ।
तिनै कुकुरहरूमध्ये रसुवामा सेफर्ड जम्बोको व्यस्तता बढेको छ । बिहानै जम्बोले खाना खाएपछि र केही समय आराम गरेपछि शवको खोजीमा निस्कने गरेको नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण बस्नेत बताउँछन् ।
उनका अनुसार दाना, सागपात, आँटा र प्रोटिनयुक्त खाना खाएपछि केही समय जम्बो आराम गर्छ । प्रहरीसँगै नदीको किनारा-किनारा वा घर भासिएको ठाउँमा पुग्छ । काठका मुढाहरू भएको ठाउँमा समेत पुग्ने गरेको छ ।
जम्बोले शव खोजेपछि करिब ३० मिनेट आराम गर्ने गरेको उनले बताए । दिनभर जसो प्रहरीको अघिपछि लागेर शवको खोजीमा हिड्ने गरेको छ ।
जम्बो युरोपीयन प्रजातिको भए पनि नेपाली बाउ-आमाबाट जन्म लिएको बस्नेतले विकासन्युजसँग बताए । ' जम्बो सात वर्षमा लागेको छ । अन्य कुकुरभन्दा यो फरक स्वभाव रहेको छ,’ उनले भने ।
जम्बो शवको सिनोयुक्त वासना आएको तिर जाने गरेको उनले बताए । 'सिनो भएको ठाउँमा पुगेपछि भुक्ने गर्छ, कराउँछ र माटो ख्रोसने गर्छ,’ उनले सुनाए, ' कुकुरले शव भएको ठाउँमा सुँघ्न थाल्छ र माटो खोस्रन थालेपछि प्रहरीले बेल्चा वा कोदालोले त्यसमा खन्न थाल्छन् ।'
खोलाले पुरिएको घरमा कुकुर पुग्ने गरेको छ । खोला किनारा वा दाउरा थुप्रिएको ठाउँमा कुकुरले सुँघ्ने गर्छ ।
उनका अनुसार जम्बोले रसुवाको विभिन्न ठाउँबाट तीन वटा शव पत्ता लगाइसकेको छ । प्रहरीले खोजी गर्न नसकेको शवहरू जम्बोले खोज्ने गरेको डिएसपी बस्नेतले बताए ।
यसअघि जम्बो हिमपहिरोमा परेर बेपत्ता भएका पर्यटकको खोजीमा सक्रिय भइसकेको छ । नेपालको विभिन्न ठाउँमा गएको बाढीमा परेर बेपत्ता भएका मानिसको खोजीमा जम्बो पुगिसकेको छ ।
बाढी र पहिरो गएको ठाउँमा प्रहरीका कुकुरहरू पुग्ने गरेको उनले बताए । भूकम्प जस्ता विपत्तिमा प्रहरीका कुकुरहरू सक्रिय हुने गरेको उनको भनाइ छ ।
नेपाल प्रहरीका कुकुरहरू हत्या भएका ठाउँमा प्रयोग गरेको उनले जानकारी दिए । अपराधको घटना बढी भएका ठाउँमा प्रहरीका कुकुरहरू पुग्ने गरेको बस्नेतले बताए ।
लागुऔषध कारोबारीको खोजीमा र विमानस्थलजस्तो संवेदनशील ठाउँमा कुकुरको प्रयोग गरिने गरेको उनको भनाइ छ । घटनास्थलमा प्रहरीको कुकुरले खोजी तथा अनुसन्धान गर्न सुरुवाती घटना भएको स्थान जस्ताको तस्तै हुनु पर्ने छ ।
'घटना घटेको ठाउँलाई यथा स्थानमा राखेमा प्रहरीका कुकुरले सहजै अनुसन्धान तथा खोजी गर्न सक्ने छन्,’ उनले अगाडि थपे,’ घटना घटेको ठाउँलाई पहिलेको जस्तै दुरुस्त राख्नुपर्छ । घटना घटेको समयमा भएका वस्तुलाई तितरवितर गर्न हुँदैन ।'
भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि प्रहरीका कुकुरहरू तीन जिल्लामा सक्रिय छन् । रसुवामा २, नुवाकोटमा २ र चितवनमा १ वटा कुकुर परिचालित छन् ।
बाढीमा परेर हालसम्म १ हजार ३ सय बढीको शव फेला परिसकेको प्रहरीले जनाएको छ । रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २९ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ३ सय ८४ जनाको शव फेला परेको हो ।
शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय ७९ गरी कुल ३ हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
त्यसैगरी, पहिचान नभएको १ हजार ३ सय ३४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।