काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर आज कुशेऔँशी पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आज घरमा भित्र्याइएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ ।
पितृसम्मान दिवस
कुशेऔँशीका अवसरमा आज छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ ।
आजका दिन विशेषगरी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । उत्तरगया भनेर चिनिने यस क्षेत्रमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका नामले समेत चिनिन्छ ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँशीका अवसरमा मेला लाग्ने गर्छ । दिवङ्गत बाबुको नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न भक्तजन वेत्रावती पुग्ने गर्छन् । यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला लाग्ने-नलाग्ने निश्चित भइसकेको छैन ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिएमा सुख प्राप्त हुने विश्वास छ । बाबु परलोक भइसकेकाले गोकर्ण वा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख रहेको बताइन्छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वास भएकाले यस पर्वलाई पुण्य पर्वका रूपमा लिइन्छ ।