काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भट्टराईले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोप छ ।
अख्तियारका अनुसार उनले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट प्राप्त प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र विभागमा पेस गरेका थिए । उनले उक्त प्रमाणपत्र २०५५ वैशाख ८ गते पेस गरेको आयोगले जनाएको छ ।
सोही प्रमाणपत्रका आधारमा उनी चार पटक बढुवा भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनी २०५६ जेठ १० गते सहायक निरीक्षक बनेका थिए ।
त्यसपछि २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृतमा बढुवा भएका थिए ।
प्रमाणपत्र जारी गर्ने निकायबाट प्राप्त प्रमाणीकरणमा उनको नाम र कुल प्राप्ताङ्क अभिलेखसँग नमिलेको पाइएको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्र पेस गरेर बढुवा भएको र त्यसबाट पद, ओहदा तथा सेवा सुविधासमेत लिएको आयोगको आरोप छ ।
अख्तियारले भट्टराईलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफाअनुसार सजाय गर्न माग गरेको छ ।
सोही मागदाबीसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।