जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी, व्यापार विस्तारको नयाँ अवसर

काठमाडौं । रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ ।

रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण सुरु गरिने भएको छ । रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

जनकपुरधाम र अयोध्याबीचको पौराणिक सम्बन्धलाई रेल कनेक्टिभिटीले थप मजबुत बनाउने विश्वास व्यवसायीहरूले गरेका छन् । विशेषगरी अयोध्यामा रामको दर्शन गर्न पुग्ने भारतीय पर्यटकलाई सीताको जन्मस्थल जनकपुरधामसम्म ल्याउन रेल सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए ।

उनले रेल सेवा सञ्चालनले जनकपुरको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । वर्षौंदेखि प्रतीक्षा गरिएको रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबीचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको उनको भनाइ छ । महासेठका अनुसार रेल सेवा सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढ्ने, बजार तथा व्यवसाय चलायमान हुने र स्थानीय अर्थतन्त्रले गति लिनेछ ।

तर, यात्रुवाहक रेल सञ्चालनसँगै मालवाहक रेल सञ्चालनको विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । महासेठका अनुसार आफू जनकपुरधाम उद्योग वाणिज्य सङ्घको अध्यक्ष हुँदा नै रेलमा मालवाहक बोगी जोड्नुपर्ने र मालसामान ढुवानीका लागि छुट्टै रेल सञ्चालन गर्नुपर्ने माग रेल्वेसँग राखिएको थियो । त्यसबेला मालसामान भण्डारणका लागि होल्डिङ सेन्टर निर्माण गर्ने स्थानबारे समेत छलफल भएको थियो । तर, त्यसको प्रगति अहिले कहाँ पुगेको छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको उनले बताए ।

मालवाहक रेल सञ्चालन हुन सके आयात लागत उल्लेख्य रूपमा घटाउन सकिने महासेठको भनाइ छ । अहिले दक्षिणबाट चामल आयात गर्दा प्रतिकिलो १४ देखि १५ रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको भन्दै उनले रेलमार्फत ढुवानी गर्न सके उक्त खर्च प्रतिकिलो तीन रुपैयाँसम्म झार्न सकिने बताए । त्यसैले यात्रुवाहक सेवासँगै मालवाहक रेल र आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।

महासेठले भने, ‘जनकपुर र अयोध्याबीच रामायणकालीन पौराणिक सम्बन्ध छ । अहिले रेल सञ्चालनको तयारी र भोलि हुन लागेको ट्रायल रनले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौँ । यसले जनकपुरमा पर्यटकको आगमन बढाउनुका साथै यहाँको आर्थिक गतिविधिमा समेत वृद्धि गर्नेछ । वर्षौंदेखि हामीले प्रतीक्षा गर्दै आएको यो रेल सेवा अहिले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा दुई देशबीचको कनेक्टिभिटी विस्तार हुने अवस्थामा पुगेको छ । यसले जनकपुरको समग्र आर्थिक गतिविधि बढाउने, बजार तथा व्यवसायलाई चलायमान बनाउने र स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाउने विश्वास छ ।' 

यता, रेल्वे कम्पनीले पनि सेवा जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाएको जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ भने प्राविधिक जाँचसमेत अगाडि बढाइएको छ ।

उनका अनुसार अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको छैन । सञ्चालन प्रक्रियालाई अन्तिम रूप दिने विषयमा छलफल भइरहेको छ । रेल्वे, भन्सार, सुरक्षा लगायतका विषयमा सम्बन्धित निकायबीच समन्वय र आवश्यक निर्णय गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।

पराजुलीले प्राविधिक परीक्षणका लागि भोलिदेखि ट्रायल रन सुरु गर्ने तयारी रहेको जानकारी दिए । यद्यपि, रेल सेवा सञ्चालन हुने निश्चित मिति भने तय भइसकेको छैन । आवश्यक प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो सेवा सुरु गर्ने कम्पनीको तयारी रहेको उनले बताए ।

अयोध्यामा पछिल्लो समय ठूलो सङ्ख्यामा पर्यटक पुगिरहेको उल्लेख गर्दै पराजुलीले त्यहाँबाट सिधै रेलमार्फत जनकपुर आउने व्यवस्था भए भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न सकिने बताए । रामको दर्शन गर्न अयोध्या पुग्ने पर्यटकले सीताको जन्मस्थल जनकपुरधामको समेत दर्शन गर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामी जतिसक्दो चाँडो सञ्चालनको तयारीमा छौँ । त्यसका लागि विभिन्न क्षेत्र र निकायसँग समन्वय गरिरहेका छौँ । प्राविधिक रूपमा पनि आवश्यक जाँचहरू अगाडि बढाइरहेका छौँ । अहिले अन्तिम लाइसेन्स प्राप्त भइसकेको अवस्था छैन । तर, जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । अहिले सञ्चालन प्रक्रिया (अपरेसन प्रोसिजर) कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ । यसलाई चाँडै अन्तिम रूप दिने तयारीमा छौँ । प्राविधिक ट्रायल रन पनि भोलिदेखि सञ्चालन गर्दै छौँ । रेल्वेसँगै भन्सार, सुरक्षा लगायतका विषयमा विभिन्न निकायबीच समन्वय र आवश्यक निर्णय गर्नुपर्ने भएकाले त्यसको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।' 

जनकपुर–अयोध्या रेल कनेक्टिभिटीलाई धार्मिक पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा मात्र नभई दुई देशबीचको व्यापारिक सम्बन्ध र आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ । 

Share News